दाङ, १८ असार । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतमले लोकतन्त्रलाई सबल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । उनले लोकतन्त्रलाई सबल र स्वस्थ बनाउन व्यबस्थापिका, कार्यपालिका, न्यायपालिकासँगै सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका हुने विचार राखेकी हुन् ।
दाङ देउखुरी जिल्ला अदालतले बिहीवार घोराहीमा आयोजना गरेको जिल्लामा समाचार लेख्दा प्रयोगमा आउने कानुनी शब्द तथा कार्यबिधी सम्बन्धी आधारभूत ज्ञान एवं अनुशिक्षण कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश गौतमले यी अंगहरुलाई सबल बनाउन सकेमात्र मुलुकको लोकतन्त्र त्यति नै मजबुद बन्ने बताइन् । ‘लोकतन्त्रलाई बलियो र सवल बनाउन ब्यबस्थापिका, कार्यपालिका, न्यायपालिका, खबरपालिका महत्वपूर्ण अंग हुन्’, मुख्य न्यायाधीश गौतमले भनिन्– ‘लोकतन्त्रलाई सबल बनाउँदै समाजमा सकारात्मक सन्देश दिनका लागि मिडियाको महत्वपूर्ण भूमिका हुन्छ ।’
मुख्य न्यायाधीश गौतमले समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरुलाई सञ्चार क्षेत्रले प्राथमिकतामा दिनुपर्ने समेत बताइन् । उनले समाजले सञ्चार क्षेत्रलाई गरेको विश्वासलाई मर्न दिन नहुने बताएकी हुन् । केही व्यक्तिका कारण पछिल्लो समय सम्रग पत्रकारिताको बदनाम हुने गरेको भन्दै उनले पेशालाई स्वच्छ र स्वस्थ राख्नका लागि हरेक पत्रकारले पेसागत मर्यादा र इमान्दारिता देखाउनुपर्ने समेत बताएकी थिइन् । उनले अदालतीय रिर्पोटिङका क्रममा उनले विषयबस्तुसँगै शब्दहरु समेत हरेक पत्रकारहरुले ख्याल गर्नुपर्ने बताएकी थिइन् । सामान्य त्रुटिका कारण जनतामा गलत सूचना जाने भएकाले हरेक समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकारहरुले ध्यान दिनुपर्ने बताएकी हुन् ।
कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले ‘प्रयोगमा आउने कानुनी शव्द तथा कार्यबिधिसम्बन्धी आधारभूत ज्ञान’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । मुख्य न्यायाधीश थापाले जिल्लामा सञ्चार माध्यमहरुले समाचार लेख्दा प्रयोग हुने अदालतीय शब्दहरु, कानुनी प्रक्रिया, कार्य सम्पादनलगायतका बारेमा जानकारी गराएका थिए । उनले अदालतीय विषयमा समाचार लेख्दा स्पष्ट हुनसमेत जानकारी दिएका थिए ।
‘कतिपय अवस्थामा नबुझेर समाचार लेख्दा गलत अर्थ समेत जाने गरेको छ’, जिल्ला अदालतका न्यायाधिश थापाले भने– ‘त्यस्तो कार्यले जनतामा भ्रम सिर्जना गर्ने भएकाले राम्रोसँग बुझेर समाचार लेख्नुपर्छ ।’ उनले बुझेर लेखिएको समाचारले जनतामा सही सूचना जाने भएकाले पनि सबैले ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नागरिक समाज दाङका संयोजक केबी मसालले अदालत, नागरिक समाज र सञ्चार क्षेत्रका व्यक्तिहरुका बीच भएको अन्तत्र्रिmयाले अदालतीय रिर्पाेटिङमा सहजता ल्याउने बताए ।
अदालतीय रिर्पोटिङसम्बन्धी भाषागत अप्ठेरोका कारण समस्या हुने गरेको भन्दै उनले यस्ता कार्यक्रमहरुले पत्रकारहरुसँगै नागरिकहरुलाई समेत सजिलो बनाउने समेत बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले पत्रकारिता क्षेत्रमा काम लाग्ने शव्दहरुको जानकारीले समाचार लेखनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । अदालतमा प्रयोग हुने शव्दहरुको बारेमा जानकारी नहुँदा जिल्लामा अदालत सम्वन्धी रिर्पोटिङहरु कम हुने गरेको बताए ।
‘जिल्ला तहमा पत्रकारिता गरिरहेका धेरै व्यक्तिहरुलाई अदालतमा प्रयोग हुने भाषा तथा शव्दहरुको ज्ञान छैन, जसले गर्दा अदालतिय रिपोटिङ धेरै हुने गरेको पाइदैन’, अध्यक्ष केसीले भने–‘अदालत र सञ्चार क्षेत्रका विषय हुने अन्तत्र्रिmयात्मक कार्यक्रमले सञ्चारकर्मीलाई रिपोर्टिङमा सहयोग पु¥याउने छ ।’ दाङ देउखुरी अदालतका श्रेष्तेदार धनसिङ गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकण दाङ देउखुरी जिल्ला अदालतका शाखा अधिकृत राजेन्द्रकुमार शर्माले गरेका थिए । कार्यक्रममा घोराही, तुलसीपुर र लमहीक्षेत्रका पत्रकारहरुको सहभागिता थियो ।