पढेको क्याम्पसमा सहायक–प्रध्यापक बन्दा …

जीवन संघर्ष हो, संघर्ष भित्रबाट खुसीका पलहरु प्राप्त हुन्छन् । ‘गरे के हुन्न र ? हरेक व्यक्तिभित्र एउटा न एउटा क्षमता हुन्छ’ राप्ती बबई क्याम्पसमा अंग्रेजी विषयका सहायक प्राध्यापक तुलसीपुर निवासी हिमाल कँडेलले भने । उनको रुचि र चाहना भनेको राष्ट्र सेवक बन्ने थियो । हाइट, शारीरिक बनोटले पनि उनलाई साथ दिएन तर घरमा बुबाआमाको चाहना भने अमिन पढाउने थियो । उनको जीवनको गोरेटो भने मोडिँदै शिक्षण पेशासँग जोड्यो ।

कँडेलले २०६५ सालमा अरु झोला बोकेर विद्यालय जाँदै गर्दा उनी भने पासपोर्ट झोलामा बोकेर वैदेशिक रोजगारीका लागि काठमाडौं हानिएका थिए । उनलाई त्यही विदेशको बसाइँले अहिले यहाँसम्म आएको सम्झिए । २०४४ सालमा शान्तिनगरको केराघारीमा जन्मिएका कँडेल करिब ३ वर्ष दुबैमा बसेर पसिना बगाएको सम्झन्छन् । उनका लागि विदेश पनि क्षमता विकास गर्ने र कार्यप्रतिको निष्ठाले सफलता प्राप्ति गर्ने थलो बन्यो । उनी विदेशमा बसेर कमाएको पैसाले दाइ र आफूले उच्च शिक्षा हासिल गर्न सफल भएको बताए । सामान्य परिवारमा जन्मिएका हिमाललाई विदेश जानुपर्ने बाध्यता थियो ।

२०६० सालमा वीरेन्द्र मावि भ्यूडहर सुनपुरबाट एसएलसी पास गरी राप्ती बबई क्याम्पसमा दश जोड दुई पास गरेपछि करिब ढाई वर्ष दुबैको कर्मसियल बैंक अफ दुबैमा क्रिडेट एण्ड रिक्स म्यानेजमेन्ट विभागमा जिएमको असिस्टेन्ट भएर काम गरेको बताए । त्यसपछि नेपालमा फर्किएर काठमाडौंमा बसेर उच्च शिक्षा हासिल गरे । उनले त्यसपछि २०७५ सालमा राप्ती बबई क्याम्पसमा सहायक प्राध्यापकमा पढाउन थालेको र आफैले दश जोड दुई पास गरेको क्याम्पसमा सहायक प्राध्यापक बन्दा पहिलो खुशी प्राप्त भएको सुनाए ।

उनले त्यसमा राप्ती बबई क्याम्पसमा प्राध्यापक सरहरु र आप्mना साथीहरुको पनि सहयोग पाएको भन्दै खुशी व्यक्त गरे । उनले त्यससँगै अब शिक्षाबाटै आफ्नो पहिचान बनाएको भन्दै अन्य स्थानमा पनि अध्यापन गर्दै आएको बताए । हिमालले आप्mनै ठाउँमा शिक्षाको ज्योति बाँड्न पाउँदा निकै खुसी भएको सुनाए । राप्ती बबई क्याम्पसमा नेपाल विद्यार्थी संघको उपसभापति समेत भएका कँडेलले विद्यार्थी राजनीतिमा लागेर विद्यार्थी हक हितका लागि सेवा गर्न पाउँदा पनि खुसी लागेको सुनाए । त्योसँगै शिक्षक सेवा आयोगमा स्थायीमा नाम निकाल्न सफल भएको भन्दै अर्को खुशी प्राप्त भएको बताए ।

२०७६ साल मंसिरमा बबई गाउँपालिकाको जनश्रम आधारभूत विद्यालयमा पोस्टिङ भएको र त्यतिबेलै भदौमा नाम निकल्न सफल भएको भन्दै खुसी व्यक्त गरे । ‘मेरो जीवनमा मैले धेरै दुःख गरेर पढेको थिएँ, म घरबाट हिंड्दै राप्ती बबई क्याम्पससम्म पढ्न आउँथे तर पछि मेरो मिहिनेतले सार्थकता पायो, त्यो भन्दा अर्को खुशी के हुन्छ र मेरो लागि ?’ उनले भने । कर्ममा विश्वास गर्ने कँडेलले त्योसँगै हजारौँ विद्यार्थीहरुलाई शिक्षाको ज्योति बाँड्न पाउँदा खुसी लाग्ने गरेको बताए ।

ज्ञान ज्योति, प्लस टुमा नोभेक्स, लिटिल हेभन विद्यालयमा समेत पढाएको भन्दै हाल आफूले पढाएका विद्यार्थीहरु विभिन्न क्षेत्रमा पुगेर प्रगति गरेकोमा खुशी व्यक्त गरे । डिभाइन टेम्पल बोर्डिङ स्कूलको भाइस प्रिन्सिपलको समेत जिम्मेवारी पाएर विद्यार्थीहरुको शैक्षिक उन्नतिका लागि काम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘मैले पढाएका विद्यार्थीहरु निजामतिदेखि विभिन्न स्थानमा हुनुहुन्छ, उहाँहरुले बेला–बेलामा सम्झँदा निकै खुसी लाग्छ’–कँडेलले भने । उनले आफू यहाँसम्म आउनुमा घरपरिवार, साथीभाइको पनि ठूलो हात रहेको भन्दै खुसी व्यक्त गरे ।

‘सबैको माया, साथ र सहयोगले गर्दा म अहिले यो स्थानमा आएको छु, मेरो लागि यही नै खुसी हो’–उनले भने । त्यस्तै उनले अर्को खुशी आफू नेपाल विद्यार्थी संघको विश्वविद्यालय क्याम्पस कीर्तिपुरको उपाध्यक्ष भएर विद्यार्थी हक हितका लागि काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । उनले त्यतिबेला सेमेस्टर प्राणालीमा व्यथिति देखिएको र १९ दिने आन्दोलनपछि आप्mना मागहरु त्यहाँका तत्कालीन भिसी र रजिष्ट्रारले सुनुवाई गर्दा अर्को खुसी मिलेको सुनाए ।

त्यस्तै अमृतनगर टोलको पूर्व सचिव भएर टोल विकास संस्थाको विकास र त्यहाँको विकासमा सहयोग गर्न पाउँदा पनि अर्को खुसी मिलेको सुनाए । त्यस्तै पत्रकारिता क्षेत्रमा पनि कलम चलाएका कँडेलले नेपाल प्रेस युनियन तत्कालीन क्षेत्र नं. ५ को अध्यक्ष भएर पत्रकारिता क्षेत्रमा पनि काम गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले पश्चिम दाङमा सञ्चारको विकाससम्बन्धी काम गरेको सुनाए । मिजासिला, कर्ममा तल्लीन हिमालले अर्को खुशी घरमा छोरी जन्मँदा लागेको सुनाए । उनले पहिलो सन्तानको रुपमा लक्ष्मी भित्रिएको दिन आफू निकै खुसी भएको सुनाए । अंग्रेजी र एलएलबीमा डिग्री गरेका हिमालले अर्को खुसी छोरीले नर्सरीमा पास गर्दा लागेको सुनाए ।

‘जीवनको सुरुवातदेखिनै पास फेल हुँदोरहेछ, छोरी नर्सरीमा पास हुँदा मलाई किन हो त्यस दिन निकै खुसी लाग्यो’–उनले भने । उनले आप्mनी श्रमतीको पनि आफुलाई यो ठाउँसम्म ल्याउनमा ठूलो साथ र सहयोग रहेको भन्दै पारिवारिक रुपमा पनि सहयोग पाउँदा खुसी भएको सुनाए । हिमाल कँडेल राप्ती बबई क्याम्पसका सहायक प्राध्यापक, जनश्रम आधारभूत विद्यालयको अंग्रेजी विषयको शिक्षक तथा विभिन्न संघसंस्थामा आबद्ध छन् ।

प्रस्तुती : बालाराम खड्का