प्रतिरोध क्षमता बढाउन योगा : प्रदेश प्रभारी श्रेष्ठ

कानुनमा स्नातक उत्तीर्ण गरी नेच्युरोप्थापी चिकित्सकका रुपमा चिनिएका तुलसीपुर उपमहानगरपालिका–५ निवासी डा. अरुणकुमार श्रेष्ठ पछिल्लो समयमा योग गुरुका रुपमा परिचित छन् । पतञ्जली योग संगठनमा प्रदेश सल्लाहकारका रुपमा चिनिएका डा. श्रेष्ठ मुलुकमा कोरोना भाइरसको संक्रमणसँगै पतञ्जली योग समितिको शोसल मिडिया लुम्बिनी प्रदेश प्रभारीका रुपमा सक्रिय छन् । खास गरी संक्रमणका कारण जारी लकडाउनमा मानिसहरु एकै ठाउँमा जम्मा भएर योग प्रशिक्षणको सम्भावना क्षिण भएसँगै अहिले जुममार्फत् योग प्रशिक्षण चलिरहेको छ । डा. श्रेष्ठको पारिवारिक पृष्ठभूमि व्यापार, व्यवसाय भए पनि उनी तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक सदस्य, नेपाल रेडक्रस सोसाइटी र नेपाल परिवार नियोजन संघका आजीवन सदस्य, जनआन्दोलन २०४६ को कल्याण कोष दाङ जिल्ला संयोजकलगायतका विभिन्न संघसंस्थाहरुमा आबद्ध रहेका छन् । एक्युप्रेसर चिकित्सा विधामा विशेष दख्खल राख्ने डा. श्रेष्ठ अहिले योगामा अभ्यस्त छन् । हरेक बिहानै योगकर्मीहरुकाबीच योग प्रशिक्षण दिइरहेका भेटिन्छन्, उनी । कोरोना भाइरसको संक्रमणसँगै पतञ्जली योगपीठले कारोना भाइरस विरुद्ध रोग प्रतिरोधान्तक औषधी कोरोनिल समेत निर्माण गरिसकेको चर्चा भइरहेको अवस्थामा योगा र मानव स्वास्थ्यबीचको सम्बन्धमा केन्द्रित रहेर डा. अरुणकुमार श्रेष्ठसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 तपाईँ एउटा व्यस्त व्यापारी मान्छे, कसरी जोडिनुभयो योगामा ?

 म १८ वर्षकै उमेरमा योगामा जोडिएको हुँ । एकजना साथीको माधयमबाट म एकाएक योग गुरुसँगको सानिध्यतामा जोडिएँ । त्यसपछि मैले उहाँसँगै योगाको एउटा कोर्श पूरा गरेँ । कोर्श पूरा गर्दैगर्दा वि.सं. २०६३ सालमा नेपालमा पनि पतञ्जली योगको प्रभाव देखिनथाल्यो । ठाउँ–ठाउँमा योगाभ्यासहरु हुन थाले । दाङ जिल्लामा पनि शाखा खुल्यो । विशेष गरी म वि.सं. २०७३ सालदेखि दाङ जिल्लामा नियमित रुपमा पतञ्जली योग समितिमा आबद्ध भएँ । अनि अहिलेसम्म निरन्तर लागिरहेको छु ।

विभिन्न स्थानमा पुगेर एकाबिहानै योग सिकाउँदा भिन्दै खालको आत्मीय आनन्दानुभूति हुन्छ । त्यसै क्रममा म पतञ्जली योग समितिको प्रदेश सल्लाहकार हुँदै अहिले शोसल मिडिया प्रभारीका रुपमा काम गरिरहेको छु । योगालाई पनि प्रविधिसँग जोड्दै सबैलाई सहज रुपमा योगाभ्यास गराउनका लागि अहिले जुममार्फत् योगा कक्षाहरु सञ्चालन भइरहेका छन् । मैले त्यसैको संयोजन गरिरहेको छु । योगामा जोडिनुको अर्थ देखेको छु, मैले अचेल । योगालाई जीवनशैलीका रूपमा स्थापित गरिसकेको छु भन्दा पनि फरक पर्दैन । मलाई लाग्छ, योगा एउटा मानव जीवनको अभिन्न दैनिकी पनि हो ।

 योगाभ्यासमा पनि फरक–फरक स्थानमा फरक–फरक व्यक्तिले भिन्न–भिन्न शैलीलाई प्रयोग गर्दै आएको देखिन्छ । तपाईँको विचारमा खास योग भनेको के हो जस्तो लाग्छ ?

 योगालाई कसले कसरी उपयोग गरिरहेका छन् भन्ने फरक–फरक बुझाई हुनसक्छन् । फरक–फरक शैली हुनसक्छन् । मैले बुझेअनुसार योगा भनेको एउटा जीवनशैली हो । यसले जीवनका हरेक पक्षलाई परिस्कृत गराउँदै जीवनलाई अगाडि बढाउँछ । सामान्य अर्थमा योग भनेको जोड्नु हो तर यसको वृहत अर्थ छ । शरीरलाइ मनसँग जोड्नु, मनलाई आत्मासँग जोड्नु र आत्मालाई परमात्मासँग जोड्नु नै योग हो भन्ने मलाई लाग्छ । यो एउटा जीवनशैली भएकाले सबै पक्ष यसमा आइहाल्छन् ।

योगा एउटा समुदायको संस्कार होइन, एउटा धर्म विशेषको पद्धति पनि होइन, कुनै संस्कृति विशेषसँग जोडिएको पनि होइन, यो त समस्त मानव जीवनसँग सम्बन्धित रहने शरीर र मनलाई स्वस्थ राख्दै जीवनलाई सहज तरिकाले अघि बढाउनु नै हो । यसमा विभिन्न प्रक्रिया हुन्छन् । योगा बहुआयामिक पक्ष भएकाले पनि एक पक्षबाट मात्र हेरिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । योगामा म भन्दा पनि हामी भन्ने भावना हुन्छ । हो, यो चिकित्सा पद्धतिसँग पनि जोडिएको छ भन्दा अत्युक्ति नहोला ।

 योगा स्वास्थ्य विज्ञानसँग पनि जोडिएको छ भन्नुभयो, यसका प्रमाणिक आधारहरु केही पाउनुभएको छ ?

 हो, तपाईँ आफैले पनि महसुस गर्नुभएको हुनुपर्दछ । आधुनिक स्वास्थ्य विज्ञानले पनि पछिल्लो समयमा योगालाई सहयोगी चिकित्सा पद्धतिका रुपमा स्वीकार गरिसकेको छ । विशेष गरी योगाका विभिन्न विधा अन्तर्गत् अलोलमविलोम, कपालभाती र भास्त्रीकालाई आधुनिक चिकित्साले पनि विशेष महत्व दिएको छ । शरीरमा अक्सिजनको मात्रामा सन्तुलन कायम गर्नेदेखि करोडौँ स्नायूहरु र नसा–नाडीहरुलाई सक्रिय बनाउनका लागि पनि योगाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने म विश्वास दिलाउन चाहन्छु । जसले जे व्याख्या गरे पनि मानव शरीरलाई नभई नहुने भनेको पहिलो चीज त अक्सिजन नै हो ।

त्यसमा पनि स्वच्छ अक्सिजन आपूर्तिको परिकल्पनाका लागि योगाभ्यास हो । भास्त्रिका त्यसैका लागि हो । अलोलमविलोम पनि त्यस्तै–त्यस्तै हो । अक्सिजन पर्याप्त भएमा मात्र मानव शरीरका सबै इन्द्रीय र स्नायूहरुसम्म शक्तिको प्रवाह हुनसक्छ । अनि मानव शरीरलाई चलायमान र स्वस्थ राख्न मद्दत पु¥याउन सक्छ । हेर्नुस न, अहिले कोरोनाका बिरामीहरुका लागि कति अक्सिजन चढाउनुपरिरहेको छ ।

मानव शरीरमा पर्याप्त अक्सिजन नपुगेर त हो नि अनि तपाईँले अनुभूति पनि गर्नुभएको होला, धेरैजसो दीर्घरोगका समस्याहरु, जस्तै हाडजोर्नीका समस्या, नसा च्यापिएको, पेटको समस्या, ग्याष्ट्रिकका समस्यालगायत कतिपय अवस्थामा मानव शरीरमा सुगर र प्रेसरको सन्तुलनका लागि पनि नियमित योगाभ्यास फलदायी भइरहेको प्रमाणित समेत भइसकेको कुरा हो । यहाँसम्म कि क्यान्सरका बिरामी समेत नियमित योगाको माध्यमबाट आफ्नो आयु लम्ब्याइरहेको अवस्था पनि छ । यसका लागि रोग अनुसारका योगा पनि हुन्छन् ।

 रोग अनुसारका योगाका कुरा उठाइहाल्नुभयो, कस्ता रोगका लागि कस्ता योगाभ्यासहरु गर्नुपर्ने हो ? बताइदिनुस न ।

 योगा सबैका लागि सधैँका लागि हो भन्ने आम मान्यता छ । तर पनि कोही कुनै रोगले ग्रस्त छ भने सबै योगाभ्यासहरु गर्नु हुँदैन । योगामा प्रणायामसँगै विभिन्न शारीरिक अभ्यासहरु पनि जोडिएका हुन्छन् । जस्तै उदाहरणका लागि कपालभाती कसले गर्ने र कसले नगर्ने भनेर प्रशिक्षकहरुले स्पष्ट रुपमा प्रशिक्षार्थीहरुलाई बताउन आवश्यक छ । महिनावारी भएको समयमा, भर्खरै शल्यक्रिया गरेको अवस्थामा, शरीरमा आन्तरिक वा वाह्य रुपमा रक्तश्राव भएको अवस्था र खाना खाएको ४ घण्टा अघिसम्म कपालभाती गर्नु उपयुक्त हुँदैन ।

त्यसैले शारीरिक समस्या भएका व्यक्तिहरुले दक्ष प्रशिक्षकको परामर्शमा मात्र योगाभ्यासलाई निरन्तरता दिन पनि मैले यसै पत्रिकामार्फत सबैलाइ आग्रह गर्दछु । योग ‘कर्मशु कौशलं’ भनेर गीतामा भनिएको छ । यसको अर्थ हो, योगाले मान्छेको जीवनका कर्महरुलाई कुशलता प्रदान गर्दछ । महर्षि पतञ्जलीका अनुसार योगका ८ अङ्गहरु छन् । यम, नियम, आशन, प्रणायाम, प्रत्याहा, धारणा, ध्यान र समाधि । त्यसैले यो बृहत पक्षलाई आत्मसात गरी दक्ष प्रशिक्षकको सल्लाहमा मात्र सबैखाले योगाभ्यासहरु गर्नु उपयुक्त हुन्छ ।

 दाङ जिल्लामा योगाको ऐतिहासिक पृष्ठभूमिका विषयमा केही बताइदिनुस् न ?

 दाङ जिल्लामा योगा कहिलेदेखि सुरु भएको भन्ने त एकीन जानकारी देखिँदैन । तर पनि यहाँ परापूर्वकालदेखि नै योगाभ्यास सुरु भएको पाइन्छ । परापूर्वकालमा योगका गुरु गोरखनाथकै चेलाबाट रतन्नाथ मठ चौघेरामा सीमित रूपमा योगका कार्यक्रमहरु सञ्चालन भएको पाइन्छ । त्यसपछि मैले थाहा पाएअनुसार नेपाल संस्कृत विश्वविद्यालयका तत्कालीन प्राध्यापक तथा डा हरिप्रसाद पोख्रेलले दाङ जिल्लामा एउटा योगाको कार्यक्रम ल्याए ।

त्यसपछि स्वामि सचितानन्द विसुद्ध देवजीको चरित्र निर्माण संघको नामबाट पनि दाङ जिल्लामा योगका कार्यक्रमहरु भए । त्यसपछि डा योगी विकासानन्दको कार्यक्रम दाङमा मेरै विशेष पहलमा दुई पटकसम्म आयोजना भए । वि.सं. २०६३ सालदेखि पतञ्जली योगपीठको शाखाका रूपमा दाङ जिल्लामा संगठित रुपमा घोराही र तुलसीपुरमा योगका गतिविधिहरु सञ्चालन हुनथाले । त्यसपछि यसले व्यापकता पाउँदै आयो ।

अहिलेको तथ्याङ्कमा नेपाल मुलुकभरमा बढी योगाभ्यास हुने जिल्लामा दाङ जिल्ला अग्रणि स्थानमा रहेको छ । लकडाउनभन्दा अघिको तथ्याङ्क केलाउने हो भने पनि यहाँ कम्तिमा २ सयको हाराहारीमा योग केन्द्र छन् । यसमा करिब तीन हजारको हाराहारीमा नियमित योग प्रशिक्षार्थीहरु रहेको अनुमान गर्न सकिन्छ ।

 योगालाई रोग प्रतिरोधात्मक क्षमताको बृद्धिको आधारसँग पनि जोडिने गरेको छ, त्यो कसरी सम्भव देख्नुहुन्छ ?

 हो, योगा भनेको दैनिक जीवनशैली हो । सहज रूपमा जिउने कला पनि हो । योगाले मानव शरीरभित्र भएका विभिन्न विकारहरुलाई विभिन्न इन्द्रीयहरुका माध्यमबाट बाहिर फाल्छ । जब शरीरबाट विकारहरु बारिर निस्कन्छन् भने मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनु पनि स्वाभाविक एवं प्रमाणित तथ्य पनि हो । हामीले अहिलेको संक्रमणलाई पनि विश्लेषण गर्दा कोरोनाको महाव्याधिको मार पनि योगकर्मीहरुले असाध्यै खेप्नुपरेको छैन ।

केही योगकर्मीहरुमा संक्रमण देखिए पनि सहज रूपमा निको भएको हामीले पाएका छौँ । मैले यसै पत्रिकामार्फत् आम पाठकहरुलाई भन्न चाहन्छु कि योगा एउटा जोड्ने माध्यम हो । योगाले कसैलाई पनि बेफाइदा गर्दैन । योगाभ्यास सिक्नका लागि कुनै इन्स्टिच्युटमा भर्ना भएर शुल्क तिर्नुपर्ने अवस्था पनि होइन । स्वास्थ्यका लागि योग, समृद्धिका लागि योगको अवधारणामा सबै जोडिऔँ । स्वस्थ शरीर र असल चरित्रको निर्माण गरौँ ।