भाषण, रोपण, भोजन अनि मनोरञ्जन

गोरक्ष समाचारदाता

खर्चवा(तुुलसीपुर), १६ असार । तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा १८औं राष्ट्रिय धान दिवसका अवसरमा आयोजित रोपाइँ महोत्सव साँच्चै महोत्सवजस्तै बन्यो । भाषण गर्नेहरुका लागि बाँझो खेतमै मञ्च थियो, धान रोप्नका लागि गराहरु तयार थिए, नाच्नका लागि साउण्ड सिस्टममा गीत अनि गति पर्नेहरुका लागि असार पन्ध्रमा दही चिउराको सत्कारा पनि । गरा सम्याउनका लागि हलगोरुसँगै आधुनिक कृषि प्रणालीको डेमोका रुपमा गरा सम्याउनका लागि मिनि ट्रेलरको समेत प्रदर्शन गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखाको आयोजना तथा नमुना हरियाली कृषि समूहको सहआयोजनामा सम्पन्न भएको रोपाइँ महोत्सवमा नगरप्रमुख घनश्याम पाण्डेले चारै आइटम भ्याए । आधुनिक कृषि प्रणालीलाई उपमहानगरपालिकाले पछ्याइसकेको अभिव्यक्ति दिँदै तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिहरु आएपछि बाँझा खेतहरुमा धमाधम खेती बढ्दै गएको अभिव्यक्ति दिए ।

‘प्लटिङका लागि लायक रहेको यति राम्रो जग्गामा लटरम्म धान फल्ने छ, हामी आइसकेपछि भूउपयोग नीतिलाई प्राथमिकता दिँदै बाँझो जग्गाको आकार धेरै घटाइसक्यौँ’, नगर प्रमुख पाण्डेले भने । अब तुलसीपुरमा दश प्रतिशत खेतीयोग्य जमिन मात्रै बाँझा छन् । अर्को बर्ष बाँझो खेत देख्न पाइने छैन भन्दै उनले कृषिलाई अब निर्यातमुखी बनाउने दावी गरे ।

‘कृषि क्षेत्रको सरप्लस बढेर साढे ८ प्रतिशत पुगेकोमा मैले तपाई कृषकहरुलाई बधाइ दिन चाहन्छु, अब कृषिलाई आधुनिकीकरणसँगै व्यवसायीकरण गर्न उपमहानगरपालिका लागिपरेको छ’, पाण्डेले भने– ‘किसानहरुका लागि अनुदानलगायतका आकर्षक योजनाहरु ल्याउने तयारीमा छौं ।’ नगरप्रमुख पाण्डेले अर्को आर्थिक बर्षसम्म सबै वडामा कृषि र पशुप्राविधिक कार्यालय सञ्चालनमा आउने बताउँदै तुलसीपुरमा किसानहरुको सुविधाका लागि मेट्रो एग्रोभेट हस्पिटल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको बताए ।

साथै किसानहरुको सहजताका लागि एग्रोभेट एम्बुलेन्स, स्मार्ट किसान क्रेडिट कार्डको व्यवस्था, बीउ उत्पादनमा विशेष प्रोत्साहन तथा रसायनिक मललाई विस्थापित गरी प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने पनि बताए ।

भाषण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमख माया शर्माले धान उत्पादनमा तुलसीपुरले फड्को मारेको बताउँदै अब भात खान दशै–तिहार कुर्नुपर्ने अवस्था नरहको बताइन् । स्थानीय डिल्ली भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कृषि विकास शाखाका प्रमुख धनराज शर्माले तुलसीपुर उपमहानगरपालिकाको कृषि तथ्यांक प्रस्तुत गरेका थिए ।

तथ्यांकमा उनले हाल तुलसीपुर उपमहानगरपालिकामा १७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० हजार हेक्टरमा धानखेती हुँदै आएको उल्लेख गरे । कार्यक्रमको सहजीकरण वडा सदस्य दुजमान भण्डारीले गरेका थिए । औपचारिक कार्यक्रमसँगै नगरप्रमुख पाण्डे, उपप्रमुख शर्मालगायत विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरुसमेत धान रोपाइँमा सहभागी रहेका थिए । नगर प्रमुख पाण्डेले आधुनिक कृषि प्रणालीको स्वागत गर्दै मिनी ट्रेलरले जोतेर डेमो देखाएका थिए ।