टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की

गोरक्ष समाचारदाता
तुलसीपुर, १३ असार । टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की शनिवार आइपुगेको छ । भारत हुँदै नेपालगञ्ज नाकाबाट ल्याइएको ट्याङ्की शनिवार बिहान तुलसीपुर आइपुगेको हो ।

टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की र त्यससँग सम्बन्धित अन्य उपकरणहरू आइपुगेको जानकारी दिए । शर्माका अनुसार मुम्बईबाट ल्याइएको यो ट्याङ्की करिब एक–डेढ महिना नेपालगञ्ज भन्सार नाकामै रोकिएको थियो । इन्धन डिपोका लागि तेल भण्डारण गर्न ठूलो ट्याङ्की र सम्बन्धित उपकरण आएकाले अब हवाइजहाजमा इन्धन भर्न बाउजरलगायतका उपकरण आउन आवश्यक रहेको उनले बताए ।

असार १७ गतेदेखि नेपाल सरकारले आन्तरिक उडान खुला गर्ने घोषणा गरिसकेको छ । टरिगाउँ एयरपोर्टमा हाल नेपाल एरलाईन्सले दैनिक दुई उडान भर्दै आएको छ । हालसम्म दाङ एयरपोर्टमा प्लेनका लागि इन्धन रिफिलिङको सुविधा थिएन । यसले निजी विमान सञ्चालक कम्पनीहरु थप आकर्षित हुने अपेक्षा गरिएको छ ।

टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार हुनसकेमा ठूला विमानहरू आउनसक्ने र त्यसले भाडा सस्तो हुने देखिएको छ । एयरपोर्टमा इन्धन डिपोका लागि विमानस्थलको ५ कठ्ठा जग्गा भाडामा लिइएको छ । ३० हजार किलोलिटरको इन्धन डिपो निर्माणपश्चात हवाई उडानमा सहज हुने विमानस्थल तुलसीपुरका प्रमुख शर्माले बताए ।