घोराही उपमहानगरपालिका : विकास बजेट ४२.३२ प्रतिशत खर्च

अमरराज आचार्य

दाङ, १३ असार । चालु आर्थिक वर्ष ०७७÷०७८ सकिने अब दुई साताको समय छ । यो वर्ष पनि जिल्लाका अधिकांश पालिकाहरुले विकास खर्च आधा पनि खर्च गर्नसकेका छैनन् । कोभिड र अन्य कारणले सन्तोषजनक बजेट खर्च गर्न नसकेको पालिकाहरुले जनाएका छन् ।

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ को ११ महिनामा विकास बजेटको ४२ दशमलव ३२ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । चालुतर्फ कूल बजेटको ६९ दशमलव ०३ प्रतिशत खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ । कूल बजेटको औसत खर्च ५६ दशमलव ६७ प्रतिशत भएको घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् ।

कोभिड–१९को कारण सरकारले गरेको लकडाउनको कारण विकास बजेट खर्च कम भएको घोराही उप–महानगरपालिकाले जनाएको छ । संघ, प्रदेश र घोराही उपमहानगरपालिकाको आन्तरिक बजेट समेत कूल बजेटबाट चालुतर्फ विनियोजित बजेट मध्ये ६९ दशमलव ०३ प्रतिशत र पुँजीगततर्फ ४२ दशमलव ३२ प्रतिशत खर्च भएको उनले बताइन् ।

संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत् चालुतर्फ विनियोजित बजेट ६० करोड ५५ लाख ७५ हजारमध्ये ६९ दशमलव ६४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित बजेट १० करोड ७२ लाख ६८ हजार ४ सय ५७ रुपैयाँमध्ये २७ दशमलव ६१ प्रतिशत खर्च भएको छ । संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च ६३ दशमलव ३१ प्रतिशत छ ।

प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत् गत चालुतर्फ विनियोजित बजेट १ करोड ६३ लाख ५० हजारमध्ये ३३ दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ विनियोजित बजेट १३ करोड ९५ लाखमध्ये २२ दशमलव ४४ प्रतिशत खर्च भएको उपप्रमुख न्यौपानेले बताइन् । ११ महिनाको अवधिमा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च २३ दशमलव ६ प्रतिशत रहेको छ । उपमहानगरपालिका आन्तरिक बजेटबाट चालुतर्फ विनियोजित बजेट ५८ करोड ३२ लाख ९ हजार ९ सय २२ मध्ये ६९ दशमलव ३७ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ विनियोजित बजेट ७८ करोड ४ लाख ४७ हजार ६ सय ३९ मध्ये ४७ दशमलव ८४ प्रतिशत खर्च भएको छ ।

आन्तरिक बजेटतर्फको औसत खर्च ५६ दशमलव ९९ प्रतिशत रहेको उपमहानगरपालिकाले जनाएको छ । क्षेत्रगत रुपमा आर्थिक विकास अन्तर्गत कृषि विकासतर्फ ६५ दशमलव ८४ प्रतिशत, पशु सेवातर्फ ४३ दशमलव ३ प्रतिशत, पर्यटन तथा संस्कृति प्रबद्र्धनतर्फ १३ दशमलव ४५ प्रतिशत, उपभोक्ता हित संरक्षणतर्फ ५६ दशमलव ३१ प्रतिशत, सहकारी तथा रोजगार प्रबद्र्धनतर्फ ९ दशमलव ६५ प्रतिशत र राजश्व व्यवस्थापनतर्फ शून्य प्रतिशत खर्च भएको छ ।

सामाजिक विकासअन्तर्गत शिक्षा, युवा तथा खेलकुदतर्फ ४७ दशमलव ८८ प्रतिशत, जनस्वास्थ्य प्रबद्र्धनतर्फ ५२ दशमलव २१ प्रतिशत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ ७३ दशमलव ९५ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकास अन्तर्गत सहरी विकास तथा पूर्वाधारतर्फ ३८ दशमलव ३७ प्रतिशत खर्च भएको छ । सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत सरसफाई व्यवस्थापनतर्फ १७ दशमलव ७४ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५३ दशमलव २६ प्रतिशत खर्च भएको छ ।

सार्वजनिक सेवा, सुशासन तथा संस्थागत विकासअन्तर्गत सामान्य प्रशासनतर्फ ३९ दशमलव ४५ प्रतिशत, कानुनी मामिलातर्फ २७ दशमलव ५७ प्रतिशत, सूचना तथा सञ्चार प्रविधितर्फ ४१ दशमलव १३ प्रतिशत, सामाजिक सुरक्षा तथा पञ्जीकरणतर्फ ४७ दशमलव १७ प्रतिशत खर्च भएको छ । कोभिड–१९ संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउनको अवधि लम्बिएको कारण चालु आर्थिक वर्षको अन्त्यसम्म सबै विषयगत क्षेत्रमा विनियोजित बजेट खर्च हुने सम्भावना न्यून देखिएको उनको भनाई छ ।

घोराही उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट २ अर्ब २४ करोड ३ लाख ५१ हजार छ । राजश्व संकलनतर्फ चालु आर्थिक वर्ष २०७७÷०७८ को एघार महिनामा २० करोड ४ लाख ९९ हजार ५ सय ५६ संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २१ करोड ६० लाख १६ हजार ६ सय ८३ संकलन भएको उपप्रमुख न्यौपानेले बताइन् । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व संकलन ६ दशमलव २ प्रतिशत ऋणात्मक छ ।