calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

रैथाने जातका धान भन्दापनि हाइब्रेडमै आक्रशन

तुलसीपुर, १३ असार । कुनै बेला दाङ जिल्ला तिल्की धान मनसुली, सिम्ठारोलगायतको धानको चामल र धानखेतीका लागि प्रख्यात थियो । तर, आजभोलि भने ती सबै रैथाने जातका धानहरु रोप्नै छाडिएको छ । जिल्लाका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् ।

अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुलीलगायतका धान रोप्ने गर्दथे । आजभोलि भने ती सबै जातका रैथाने धान लोप हुँदै गएका छन् । पछिल्लो समयमा हाइब्रेड धानको बिउ प्रयोगमा आएपछि रैथाने धान लोप हुनथालेको किसान बताउँछन् ।

स्थानीय निकायहरुले भने रैथाने जातको धान लोप हुनलागेको भन्दै त्यसलाई बढवा दिन वर्षेनी नीति कार्यक्रमका साथै बजेट पनि ल्याउने गरेका छन् । नीति कार्यक्रम तथा बजेट ल्याए पनि रैथाने जातको धान रोप्न तथा लगाउनतर्फ किसानहरुले चासो नदिने गरेको कृषि विज्ञहरु बताउँछन् । वर्षेनी पालिकाहरुले उन्नत बिउविजन उत्पादनका लागि बिउविजन उत्पादन केन्द्रको स्थापना गर्न आवश्यक बजेटको समेत व्यवस्था हुनेगरेको छ ।

धेरै उत्पादन कम मिहिनेतमा अन्य हाइब्रेड धानको उत्पादन बढी हुने भएकाले रैथानेतिर किसानहरुको आकर्षण घटेको स्थानीय रेशमबहादुर खड्काले बताए । ‘देउखुरीमा सिम्ठारो तिल्की धान हामी सबैले लगाउँथ्यौँ आजभोलि सबैले हाइब्रेड लगाउँछन्, रैथाने जातको धान लोप हुने अवस्थामा छ’–खड्काले भने । उनले धेरै मिहिनेत र उत्पादन कम हुने भएकाले सबैको आकर्षण हाइब्रेड र उन्नत जातको धानमा जाने गरेको बताए ।

त्यस्तै तुलसीपुरको सुकौरा, तुलसीपुर उपमहानगरपालिकाको पातुखोला गनारीमा तिल्की धान लगाउने किसानहरुले पनि अहिले अन्य धानहरु लगाउनेगरेका छन् । यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३ सय १२, लगातका जातका धान लगाउँदै आएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुख्खा–१, सुख्खा–२, सुख्खा–३ जातका धान लगाउने गरेका छन् । रैथाने धान माछापालन राधा–७, मन्सुली, तिल्कीजस्ता धानले कम उत्पादन दिने भएकाले हाइब्रेड जातका धान रोप्ने गरेको किसान बताउँछन् ।

‘रैथाने जातको धानमा उत्पादन कम हुन्छ, रोग किराको प्रकोप पनि त्यत्तिकै छ, मिहिनेत पनि छ’, –कृषक सुन्दरकुमार चौधरीले भने । उनले हाइब्रेड जातको धान धेरै उत्पादन हुने र त्यसको प्रचारप्रसार बढी हुने भएकाले पनि सबै गाउँलेले पुरानो रैथानेभन्दा पनि हाइब्रेड लगाउने गरेको बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले गत वर्षझैँ यस वर्ष पनि रैथाने बिउविजन, स्थानीय पशुपंक्षीको संरक्षण गर्दै बिउ उत्पादन गर्ने कृषि समूह तथा सहकारीलाई अनुदान प्रदान गर्न १६ लाख बजेट व्यवस्था गरिएको छ । घोराही उपमहानगरपालिकाले पनि कृषकहरुलाई मूलबिउ, उन्नत बिउ एवं कृषि यान्त्रिकीकरणमा अनुदान, पशु व्यवसायमा नश्ल सुधार एवं अनुदानलगायतका कृषक अभिप्रेरित कार्यक्रमले कृषि पेशालाई आकर्षित एवं सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुग्ने गरी बजेट र नीति कार्यक्रम ल्याएको छ ।

त्यस्तै अन्य पालिकाहरुले पनि रैथाने जातको धान तथा अन्य बिउविजनहरु उत्पादनलाई बढावा दिने कार्यक्रम ल्याउने गरेका छन् । स्थानीय निकायहरुले ती कार्यक्रम ल्याए पनि त्यसको उपलब्धि भने हुनसकेको छैन । नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन र उपलब्धि मापन पनि नहुँदा रैथानेको संरक्षण हुनसकेको छैन ।

गत वर्ष उन्नत जातका धानको बिउ अनुदानमा वितरण गरेका पालिकाहरुले यस वर्ष भने कोभिड–१९ को संक्रमणका कारण लकडाउन भएकाले उन्नत जातको धान अनुदानमा वितरण भने हुनसकेको छैन । जिल्लामा धानखेती हुने कूल जमिन ६५ हजार ९ सय ८० हेक्टर रहेको छ । दाङमा बाह्रैमहिना सिँचाइ हुने क्षेत्र १९ हजार ६ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रैथाने जातको धानलाई हेरचाह र बढी सिँचाइ आवश्यक पर्ने भएकाले पनि त्यसतर्फ किसानहरुको खासै आकर्षित हुन नसकेको बताएको छ । ‘धेरैजसोको रोजाई हाइब्रेडमा छ, केहीले उन्नत जातको धान पनि लगाउनुहुन्छ रैथाने जातको धान लगाउने किसानहरुको संख्या न्यून मात्रमा छ’–कृषि प्राविधिक माधव केसीले भने । उनले परिमार्जन रैथाने र उन्नत जातमा प्राविधिक ज्ञान नहुँदा समस्या भएको बताए ।

उनले किसानहरुले गाउँ–गाउँमा प्रचार–प्रसार नएका कारण पनि रैथानेतिर आकर्षण छैन । हाइब्रेडको धेरै प्रचार–प्रसार प्रत्यक्ष किसानसँग जोडिर्ने भएकाले पनि आकर्षण बढेको बताए । स्थानीय तहहरुले नीति कार्यक्रम ल्याए पनि यसको प्रचार–प्रसार र किसानहरुलाई यसबारे बुझाउन नसक्दा रैथाने जातको धानप्रति आकर्षण घटेको बताएको छ ।