calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

प्रमुख जिल्ला अधिकारीलाई खुला–पत्र

प्रमुख जिल्ला अधिकारीज्यु,

जिल्ला प्रशासन कार्यालय, दाङ ।

उपरोक्त सम्बन्धमा तपाईंलाई दाङ जिल्लामा स्वागत छ अनि सफल कार्यकालको कामना पनि गर्दछु । तपाईं हाल बाँके जिल्लाबाट सरुवा भएर दाङ आउँदै हुनुहुन्छ भन्ने सुनेको छु । कम्तिमा एक वर्षको कार्यकाल बिताएर जानुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु । जिल्लाको समग्र विकास निर्माणका क्षेत्रमा देखिएका अवरोधहरुलाई समाधानतर्फ पनि तपाईंका पाइलाहरु अग्रसर हुनेछन् भन्ने अपेक्षा गर्दछु ।

मेरो पहिलो आग्रह तपाईं सदरमुकाम घोराहीमा पदीय जिम्मेवारीसँगै सबैभन्दा पहिले पत्रेखोला पुग्नुहोला भन्ने मेरो आग्रह छ । पत्रेखोलालाई पूरै पढ्नुहुनेछ भन्ने पनि मेरो विनम्र अनुरोध हो, जिल्लाबासीका नाताले । पत्रेखोला पढिसकेपछि तपाईंले यहाँ पुल निर्माणको इतिहासका बारेमा स्पष्ट जानकारी पाउनुहुनेछ । पुल कहिले निर्माण सुरु भएको, किन बनेन, क–कसले चासो दिनुपथ्र्यो, किन दिइएन अनि अहिले यो बेहालको अवस्था कसरी सिर्जना भयो ?

प्रमुख जिल्ला अधिकारीज्यु ! हामी नागरिकले सबै कुरा चाहेर पनि बुझ्नसकेका हुँदैनौँ, बुझ्ने सहज वातावरण पनि छैन तर हामीलाई सामान्य जानकारी के छ भने पुल बनाउँदा डाइभर्सन आवश्यक पर्दछ । त्यसको जिम्मेवारी निर्माण कम्पनीको हो । उपयुक्त डाइभर्सन बनाएर मात्र पुल निर्माणको काम सुरु गर्नुपर्ने हो । तर, यहाँ त डाइभर्सनको परिकल्पना यातायात सेवाका लागि लक्षित देखिएन, पानी मात्र पास गर्नका लागि देखिएको छ । अर्को कुरा विभिन्न सञ्चार माध्यममा निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिले डाइभर्सन र कच्वे मर्मत गर्ने काम त पुल बनाउने कम्पनीको होइन भने । ठिकै छ, सडक विभागले बनाइदिएको भए पनि हुन्थ्यो ।

पत्रेखोलाको कच्वे भत्केको यही वर्षामात्र होइन, प्रमुख जिल्ला अधिकारीज्यु ! दुई वर्ष अघि नै कच्वेमा ठूलो खाडल परिरहँदा सयौँ सवारी साधनहरुका इञ्जिन समेत खराब भए, ग्यारेजमा पु¥याउनुप¥यो । यो वर्ष पत्रेखोलाको यात्रा तय गर्ने सयौँ सवारी साधनले ग्यारेज धाउनुको विकल्पै रहेन । हेर्दा पत्रेपुल सामान्य छ तर पछिल्लो समयमा भाइरल बनेको छ, पत्रेखोला पुल, विभिन्न अनलाइन र युटुयुवमा समेत पत्रेखोलाका भिडिओ क्लिपहरु … ।

तीन करोडको सिङ्गल स्ल्यावको पक्की पुल बन्न ६ वर्ष नाघ्यो भनेर तपाईंलाई विश्वास नलाग्न सक्छ । त्यसैले पुल पढ्नुहोला भन्न खोजेको हुँ । दोष एकले अर्कालाई थोपर्ने तर काम नगर्ने प्रकृत्ति हाबी भइरहँदा ठेकेदार मात्रै दोषी हुन्छ र ? काम लगाउने सडक विभागले यसको नैतिक एवं कानुनी जिम्मेवारी लिनुपर्दैन ?

नेताहरुको पत्रेखोलामा कुनै नजर छैन । किनकि पुल तयार भएको भए पो उद्घाटनको हानथाप हुन्थ्यो । नेताहरु त सञ्चालनमा आइसकेको पुल शिलान्यास गर्दै हिंडेको पनि मैले देखेको छु । पत्रेखोला पुल चाँडै बनाउनुपर्छ भनेर दबाब दिनुको साटो अहिले घोराही–तुलसीपुर यात्रा तय गर्ने नेताहरुका साना गाडीहरुले अमिलिया–लमही–घोराही–तुलसीपुर गर्नुपरेको छ । इन्धन खपत जतिसुकै बढे पनि आफूले खर्च गर्नुपर्ने होइन ।

त्यसैले वेखबर छन् राजनेताहरु, पत्रेखोला पुल निर्माणको ताकेता गर्न । समयमा पुल नबनाउने ठेकेदारलाई कारवाही गर्नुपर्छ भन्दै हिंड्ने नेताहरुलाई कारवाही गर्न कसले रोकेको छ ? ठेकेदार मात्रै दोषी थियो भने कारबाहीका लागि कानुन छैन र ? हो, दोष सबैको छ तर सबैले आफ्नो तर्फको कमजोरी स्वीकारिरहेका छैनन् । त्यसैले त पत्रेखोलाले पुल होइन, सहज यातायातका लागि डाइभर्सन पनि पाएको छैन ।

प्रमुख जिल्ला अधिकारीज्यु ! सायद अवस्था यस्तै रहिरह्यो भने तपाईंले पनि घोराही—तुलसीपुरको २३ किमिको यात्रा सहज रुपमा गर्न पाउनुहुने छैन । घोराहीबाट तुलसीपुर पुग्न तपाईंले पनि कुनै दिन लमही–अमिलिया हुँदै तुलसीपुरको गन्तव्य पछ्याउनुपर्ने छ । पुल निर्माण सम्पन्न नभए पनि उपयुक्त कामचलाउ डाइभर्सन त निर्माण हुन सम्भव छ । त्यसका लागि तपाईंको पहिलो प्रयास होस् भन्ने म जस्तै धेरै जिल्लाबासीको चाहना छ । पत्रेखोला पुल पढ्नुहोला । अनि यदि सम्भव रहेछ भने एक सातामै उपयुक्त डाइभर्सन निर्माणका लागि तपाईंको अर्थपूर्ण निर्देशनको अपेक्षा पनि गर्दछु ।

अँ ! पत्रेखोला पुल पढिरहँदा ज्वारखोला पुलले पनि तपाईंलाई स्वागत गर्ने छ । ग्वारखोलामा पत्रेभन्दा ढिलो निर्माण सुरु भएको विशाल पुलले गिज्याउने छन्, पत्रेखोला पुललाई । गुर्जे र सक्रामका पुलहरुले पनि सङ्केत गर्नेछन् कि हामी कम्तिमा पत्रेभन्दा चाँडै चल्न थाल्यौँ, फिनिसिङ जस्तो भए पनि ।

अनि अर्को कुरा, तपाईंका विषयमा धेरै चर्चा पनि सुनेको छु, प्रकृतिप्रेमी प्रशासक, अनियन्त्रित र अवैधानिक प्राकृतिक दोहन त स्वीकार्य छैन रे, तपाईंलाई । पत्रेखोला पढ्न आइरहँदा तपाईंले राजमार्ग नजिकै खोला किनारामा सञ्चालनमा आएका क्रसर उद्योगहरु पनि सहजै दृश्यावलोकन गर्नुहुनेछ । हापुर खोला, संक्रामखोला, ग्वारखोला किनारामा राजमार्गबाटै देख्नुहनेछ, नदीजन्य पदार्थका थुप्रोका भीमकाय पहाडहरु । त्यसपछि के गर्ने भनेर तपाईंले आफ्नो वैधानिक दृष्टिकोण पनि बनाउनुहुने छ भन्ने मेरा अपेक्षा हो ।

हो, पछिल्लो समयमा दाङ जिल्लामा ढुङ्गा–गिट्टी र बालुवालाई ह्वाइट गोल्डका रुपमा पनि लिइन्छ रे । त्यसैले क्रसर उद्योग सञ्चालनमा प्रत्यक्ष परोक्ष लगानी गर्नेहरुमा जनप्रतिनिधिहरु पनि छन् रे । स्थानीय पालिकाले नै खोलाको ठेक्का लगाउँछन्, उनैले अनुगमन र निगमन गर्छन् । खोलानाला सबै स्थानीयको अधिकार रे । स्काभेटर लगाएर जति गहिरो खाडल बनाएर उत्खनन् गरे पनि स्वतन्त्र अनुगमन हुँदैन भने त्यसको प्रभाव के होला ? यो विषयमा पनि प्रमुख जिल्ला अधिकारीको विशेष ध्यान जाने छ भन्ने मेरो चाहना हो ।

खेमराज रिजाल
तुलसीपुर–१७ फोर्टिनाइन