धानखेतीको चटारो : असारको पहिलो सातामै आधा रोपाइँ सकियो

बालाराम खड्का
तुलसीपुर, १० असार । ‘नारायणपुरको डबरामा साउनको पहिलो सातासम्म रोपाइँ चल्थ्यो । त्यस्तै घोराहीको गोग्ली, तुलसीपुरको टरिगाउँमा पनि साउनसम्म रोपाइँ हुनेगरेको थियो । तर, यस वर्ष भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भएको छ ।

नारायणपुर, गोग्ली, तुलसीपुरलगायतका स्थानमा पानीको अभावले रोपाइँ हुन नसकने खेतमा अहिले रोपाइँ चलेको छ । यस वर्ष समयमै मनसुन सुरु भएसँगै ढिलो खेती लाग्ने जमिनमा समेत किसानहरुले खेती सुरु गरेका छन् । ‘साउनको महिनासम्म रोपाइँ हुने खेतमा असारको पहिलो सातामा रोपाइँ सुरु भएको छ, यस वर्ष किसानहरुलाई अन्य विपद् आए पनि धानखेतीमा भने राहत मिलेको छ’ स्थानीय कृष्ण गिरीले भने ।

कोरोना भाइरस संक्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुन सुरु भएसँगै धानखेतीमा समेत सहज भएको छ । ‘असारको अन्तिम सातामा रोपाइँ हुने खेत हामीले यस वर्ष असारको पहिलो सातामै रोप्न पाएका छौँ, हामीलाई निकै खुसी लागेको छ’–कृषक झग्गु चौधरीले भने । उनी अहिले बिहानदेखि साँझसम्म खेतमै व्यस्त हुनेगरेका छन् । आकासबाट आउने पानीले कुलो नचले पनि रोपाइँ सुरु गरेको नारायणपुरकी कृषक कमला वलीले बताइन् ।

‘अहिले दैनिक जसो वर्षा भएको छ, यसैले खेती समयमै सुरु गर्न पाएका छौँ’ –उनले भनिन् । मनसुन सुरु भएपछि भइरहेका प्राकृतिक विपतका घटनाले थप समस्या खेप्नुपरे पनि समयमै रोपाइँ सुरु भएकोमा किसानहरु खुसी भएका छन् । मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति भने हुनेगरेको छ । प्राकृतिक विपद् र कोरोना संक्रमणको जोखिमकाबीच पनि दाङमा भने विभिन्न स्थानमा वर्षे धानबाली रोपाइँ गर्ने चटारो छ । रोपाइँ गर्न पुग्ने गरी वर्षा भएपछि किसालाई रोपाइँ गर्ने चटारो भएको हो ।

जिल्लाको देउखुरी क्षेत्रका धेरै किसानहरुले भने धान रोपाइँ सकिसकेका छन् । ‘यस वर्ष असारको पहिलो सातामै रोपाइँ भ्याएर बसेका छौँ, कहीँकतै जमिनमा रोपाइँ सुरु भए पनि हामीले समयमै सकेका छौँ’–किसना छेदुलाल चौधरीले भने । यस वर्ष कुलोको पानी र आकासतिर हेरेर बस्ने समस्या भने अन्त्य भएको बताए । आकासे पानीको भरमा लाग्ने खेती पनि सकिएको छ, दैनिक जसो आकासबाट पानी आउँछ त्यही पानीको मौका छोपेर रोपाइँ भ्याएका हौँ’ –उनले भने ।

स्थानीय किसान रामबहादुर चौधरीले कोरोनाको जोखिम यथावत रहे पनि किसानहरु खेतीमा व्यस्त रहेको बताए । मुख्य खाद्यान्नको स्रोत वर्षे धानखेती रहेकाले रोग संक्रमण र विपतको जोखिमकाबीच पनि धान रोपाइँ गर्नैपर्ने बाध्यता रहेको उनले बताए । दाङ जिल्लाको कूल जनसंख्यामध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित छ । त्यसमध्ये दाङमा मुख्यखेती धान नै हो ।

कृषि ज्ञान केन्द्र दाङले पनि अहिले जिल्लाका विभिन्न स्थानमा रोपाइँ भइरहेको जनाएको छ । समयमै मनसुन सुरु भएकाले किसानहरु धमाधम धान खेतीमा लागेको बताएको छ । ज्ञान केन्द्रकाअनुसार देउखुरी क्षेत्रको ४ वटा पालिकामा ७० प्रतिशत धान रोपाइँ सकिएको छ । तुलसीपुर, घोराही र पश्चिम दाङमा पनि करिब आधाआधी धान रोपाइँ सकिनलागेको छ । कृषि ज्ञान केन्द्र दाङ घोराहीका सूचना अधिकारी रुद्रमणि पौडेलले देउखुरी क्षेत्रका ७० प्रतिशत धान रोपाइँ सकिएको र अन्य क्षेत्रमा पनि रोपाइँ धमाधम भइरहेको बताए ।

उनले अन्य पालिकाहरुमा भने कति प्रतिशत धान रोपाइँ भयो भन्ने यथार्थ तथाङ्क आइनपुगको बताए । ‘हामी फिल्डमै छौँ, दाङका विभिन्न क्षेत्रमा रोपाइँ धमाधम चलेको छ’– पौडेलले भने । ज्ञान केन्द्रले यस वर्ष समयमै मनसुन सुरु भएकाले पानीको अभावले खेती हुन नसक्ने स्थानमा पनि धान खेती सुरु भएको जनाएको छ । यस अघिका वर्षहरुमा ३७ हजार हेक्टरमा धानखेती हुँदै आएकोमा त्यो थप भएर ३९ हजार हेक्टरमा धानखेती हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै समयमै रोपाइँ भएकाले यस वर्ष धानखेती राम्रो हुने किसानहरु बताउँछन् ।