फेसबुकबाटै यात्रु खोजिँदै…

दाङ, १० असार । कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन लम्बिँदै गर्दा यातायात क्षेत्र सबैभन्दा बढी समस्यामा परेको छ । मालिकहरुले गाडी ग्यारेजमा थन्क्याएको अवस्थामा दाङ जिल्लामा मात्र कम्तिमा ९ हजार यातायात श्रमिक बेरोजगार बनेका छन् । उनीहरु अहिले रोगको भन्दा भोकको त्रासमा छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण करिब डेढ महिनादेखि दाङमा सार्वजनिक सवारी साधन चल्नसकेका छैनन् । अन्य व्यवसाय भने विस्तारै–विस्तारै खुल्दै गएका छन् तर मानिसहरुको बढी चहल–पहल हुने भएको भन्दै जिल्लामा सार्वजनिक यातायातका साधनहरुलाई भने चल्न अनुमति दिइएको छैन । जसले गर्दा जिल्लाको अवस्था अझै पनि सुनसान नै छ ।

कोभिड संक्रमण दरमा कमी आएसँगै अन्य क्षेत्र खुकुलो बनाइँदै ल्याइएको छ । जसले गर्दा दैनिक १० बजेसम्म खाद्यान्न, कपडा व्यवसाय, निर्माणलगायतका पसलहरु समेत खुल्ने गरेका छन् । तर, जिल्लाभित्र भने यातायातका साधनहरु चल्नसकेका छैनन् तर पास बनाएर जिल्ला बाहिर यातायातका साधनहरु जानथालेका छन् । यसलाई यातायात श्रमिकहरुले पनि असहज मानेका छन् । यसरी यात्रु बोक्नु गलत भएको स्वयम् मज्दुर नेताहरुले बताएका छन् । पास बनाएरै पनि यात्रु पाउन मुस्किल हुने गरेको अवस्थामा गाडीधनी तथा चालकहरुले यात्रु खोज्नलाई सामाजिक सञ्जाल फेसबुकको साहरा लिनथालेका छन् ।

त्यही भएर गाडीधनी तथा चालक घोराही निवासी गणेश केसीले सोमवार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्छन्– ‘२०७८–३–८ गतेका दिन साँझ ४ बजे दाङदेखि काठमाडौं जानका लागि सम्पर्क गर्नुहोला…’ उनले गाडीको फोटोसहित नम्बर छोडेपछि यात्रुहरु सम्पर्कमा आउने विश्वास बताए । लकडाउनका कारण सुनसान बनेको समयमा यात्रुहरुलाई थाहा दिनको लागि फेसबुकमा सूचना लेखेको बताए । ‘अहिले बस काठमाडौं जान्छ भन्ने धेरैलाई थाहा छैन, पास बनाएर लामो दूरीमा बसहरु चलिरहेका छन्’– उनले भने– ‘तर यात्रुहरुलाई थाहा छैन, त्यही जानकारी दिनलाई सूचना दिएको हुँ ।’ उनले कोरोना भाइरसबाट बच्नलाई स्वास्थ्य मापदण्ड अपनाएर बस चलाउने गरेको बताए ।

यसैगरी फेसबुकमै ज्ञानु केसी नाम गरेका एक व्यक्तिले पनि एउटा स्टाटस लेख्दै दाङदेखि हेटौडासम्म बस जानथालेको जानकारी दिएका छन् । उनले लेखेका छन्– ‘२०७८÷०३÷०८ गते ११ बजे दाङ तुलसीपुरदेखि नारायणघाट–हेटौंडा हँुदै बीरगञ्जसम्म गाडी जाँदैछ । कसैलाई जानुपरेमा सम्पर्क गर्नुहोला’, यी प्रतिनिधिमूलक घटनाहरु लकडाउनका कारण सुनसान बनेको बेला यात्रुहरु खोज्नका लागि गाडीधनी तथा चालकहरुले सामाजिक सञ्जाल फेसबुकको सहारा लिनेगरेका छन् । सार्वजनिक गाडीहरु जिल्ला बाहिर जानथाले पनि ट्राफिक प्रहरीले भने त्यसरी नगएको बताएको छ ।

कुनै ठाउँमा अलपत्र परेका यात्रुहरु लिनका लागि जिल्लाबाट गाडीहरु जानेगरे पनि जिल्लाबाटै यात्रुहरु लगेर कुनै पनि सवारी साधनहरु जिल्ला बाहिर नगएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रवक्ता उत्तम जिसीले जानकारी दिएका छन् । ‘साना गाडीहरु पास बनाएर अलपत्र परेका यात्रुहरु लिन जाने गरेका छन् तर ठूला गाडीहरु गएका छैनन्’, प्रवक्ता जिसीले भने– ‘तर पास बनाएर साना गाडीहरु भने जाने गरेका छन् ।’ उनले पासबिनाका सवारी साधनहरुलाई चल्न नदिने समेत बताए ।

बाध्यताले निम्त्याएको गलत अभ्यास

यसलाई यातायात व्यवसायी नेतृत्व तथा मज्दुर नेतृत्वले भने वर्तमान परिस्थितिमा बाध्यताले निम्त्याएको गलत अभ्यास भनेका छन् । ‘यो बाध्यताले निम्त्याएको गलत अभ्यास हो, पेटै भोको हुने भएपछि खाली गाडी कुदाउनुभन्दा दुई–चार सय कमाउने उद्देश्यले केही व्यवसायी र मज्दुरहरुले सामाजिक सञ्जालमार्फत् यात्रु खोज्नु गलत प्रवृत्ति हो’—त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका अध्यक्ष सुरेश हमाल भन्छन्– ‘काउण्टरबाट चलानी दिने काम भएको छैन ।’

स्थानीय पालिकाको पास बनाएर यस्ता गाडीहरु खासमा काठमाडौंमा विचल्लीमा परेका यात्रुहरुलाई बोक्नका लागि जाने गरेका छन् । यद्यपि, खाली जानुभन्दा केही न केही वहना बनाएर यात्रुहरुलाइ काठमाडौं पु¥याउने पनि उनीहरुको लक्ष्य देखिएको छ । बीचमा अप्ठेरो परेको अवस्थामा सम्बन्धित स्थानको प्रहरीसँग मोलमोलाई भएर छुट्ने गरेको पनि यातायात मज्दुर नेतृत्वले बताएको छ ।

‘यातायात मज्दुर तथा यातायात व्यवसायीहरुका लागि पनि राहत प्याकेज सरकारले ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो तर सामाजिक सञ्जालमार्फत् यात्रु खोजेर असुरक्षित यात्रा गर्नु र गराउनु कारबाहीका लागि लायक विषय हो’–नेपाल यातायात स्वतन्त्र मज्दुर संगठन दाङका अध्यक्ष केशवबहादुर भण्डारीले गोरक्षलाई भने । अहिले जिल्लाभरका करिब दश हजार मज्दुरहरुको चुल्हो बल्न नसक्ने अवस्था आएको भन्दै सरकारले तत्काल यातायात श्रमिकहरुका लागि राहत प्याकेज ल्याउनुपर्ने पनि भण्डारीको सुझाव थियो । मालिकहरुले गाडी ग्यारेजमा थन्क्याएको अवस्थामा श्रमिकहरु करिब दुई महिनादेखि बेरोजगार बनेको उनको भनाइ थयो ।

‘हामी रोगको त्रासमा होइन, भोकको छटपटीको अवस्थामा छौँ, यसको व्यवस्थापनका लागि तीनै तहका सरकारहरुसँग जोडदार माग गर्दछौँ’–मज्दुर अध्यक्ष भण्डारीले भने । साथै स्थानीय पालिकाका वडाहरुले अनावश्यक रुपमा यस्ता पास उपलब्ध नगराउन पनि उनले आग्रह गरेका छन् ।