समाज रुपान्तरणमा लाग्दा……

‘जीवन बदल्नु छ, शुरुवात आफैबाट थाल्नु पर्छ ।’ सम्भवत उनले पनि त्यो नै गरेका छन् । समयको माग, परिस्थितीले जहाँ जहाँ पुरायो, त्यही जीवन देखे, त्यही उभ्याए र आफुलाई उतिर्ण समेत गराउन सफल भएका छन् । समय र परिस्थितसँग ‘हारेको’ भए कहाँ ? उनिसँग उत्तर छैन । तर समय र परिस्थितसँग ‘संघर्ष’ गर्दै अघि बढे र यो अंकमा पाठको लागि खुसी स्तम्भको पात्र समेत बने ।

परिवर्तित समयसँगै यो पंक्तिकारले सुटुक्क उनको व्यक्तिगत खुसी केलाउने प्रयास गर्दा सहजै जीवनका रडहरु बाँडन तयार भए, पुनाराम पन्थी । पंक्तिकारले जीवनको पहिलो खुसी बाँडन भन्दा उनले समाज रुपान्तरणमा खेलको भूमिकाको सम्झना गरे । पहाडमा जन्मेका र त्यही माटोमा नै हुर्केका उनले दुर्गम र सिमान्तकृत समुदायको पीडा नजिकबाट छामेका छन् । त्यही भएर उनले दुःखलाई त्यति ठुलो पहाड मान्दैनन् । जीवनमा आउने सुख, दुःखसँग जुधेर नै अघि बढेमा मात्र जीवनको सुगन्ध भेटिन्छ । उनले भोगेको जीवना यर्थात यही नै हो । स्कुले जीवनदेखि नै समाजीक क्षेत्रमा काम गर्ने उनको रुची थियो ।

त्यही स्वभाले नै उनले जीवनको नंक्सानक समेत गरे । उच्च शिक्षा दौडको विचमा उनले एक संस्थामा आवद्ध भए । त्यही माध्यमबाट नै उनका सपना सामाजिक रुपमान्तरणको अभियानमा आजसम्म लामवद्ध भएर उभिएका छन् । जसले उनलाई जीवनमा अघि बढन ऊर्जा थपेको छ । अर्घाखाँचीमा जन्मे तर जीवनको अधिकास ऊर्जा भने फरक भुगोल अर्थात दाङमै त्यो पनि दुर्गम क्षेत्रमा राखेका छन् । दाङ जिल्लाका अधिकास पहाडी भुगोल र विगटका धेरै बस्तीहरु पैदल नै नापेका छन् । २०५५ सालमा उनी सहकर्मी समाज संस्थामा जागिरेको रुपमा आवद्ध भए ।

संस्थामा आवद्ध भएको सयम झण्डै दुइ दशक भएको छ । तर लगातार एउटै संस्थाका काम गर्दा पनि उनमा थकान भने छैन । कारण, समाजरुपान्तरणमा भूमिका खेल्न पाउँदा नै भएको बताए । सामाजिक प्रशिक्षक भएर संस्थामा छिरेका उनी अहिले त्यो संस्थाको कोशेली कार्यक्रमको टिम लिडर छन् । यहासम्म आउदा दुःखको पहाड नै छिचोलेका छन्, त्यही भएर पनि यसैमा खुसी देख्छन र भन्छन् ‘संस्थामा बसेर समाज रुपान्तरणको क्षेत्रमा काम गर्न पाउँदा खुसी छु र त्यही नै भन्छु ।’ १०० पूर्णाङ्कको प्रश्नपत्र राखेर जाँच गर्दा पनि जीवनका खुसीमा उनले सबैभन्दा धेरै अङ्कभार ल्याउने क्षेत्र यही नै हो । उनको संस्थामा ३ वटा सञ्जाल छन् । सञ्जालमा १ सय ८४ समूह र त्यो भित्र २३ हजार व्यक्ति आवद्ध छन् ।

 

 

त्यो उनले आफूले जीवनमा कमाएको सम्पत्तिभन्दा पनि ‘प्रिय’ छ । समुदायको सशक्तीकरण, संगठात्मक विकास, जीविकोपार्जनमा सुधार र संस्थागत क्षमता विकासको क्षेत्रमा नै संस्थाले काम गर्ने गरेको छ । उनको संस्था २०७७ सालमा जिल्लामा उत्कृष्ट समेत भयो । जिल्ला समन्वय समिति दाङले गत आ.व. २०७५÷०७६ को वार्षिक समीक्षामा विज्ञहरुको मूल्यांकनमा धेरै प्रतिष्पर्धीलाई उछिनेर प्रथम भएको थियो । ‘त्यो दिन मेरो लागि धेरै खुसीको क्षण थियो’ उनले भने– ‘त्यो संस्था र समूहको मेहनतको गुडविल नै हो ।’

समयसँगै आउँछन् संघर्ष र अवसरका ढोका । तर ती अवसरका ढोका प्रवेश गर्नलाई संघर्ष नै आवश्यक छ । त्यो उनले पनि गरेका छन् । संघर्षका पहाड चढ्दा चढ्दै अवसर पनि आएका छन् । ती अवसरलाई समेत उनले आत्मसात् गरेर लगेका छन् । त्यसैगरेर उनले अर्को खुसी एसएलसी उत्तीर्ण गर्दाको सम्झना गरे । अर्घाखाँचीको सिद्धार्थ माविबाट उनले २०४७ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

‘त्यो बेला र त्यो ठाउँबाट एसएलसी उत्तीर्ण गर्दा सिंगो परिवार नै खुसी थियौ’ उनले त्यो बेलाको छन स्मरण गर्दै भने– ‘त्यो मेरो र घरपरिवारकै खुसी थियो । म घरको जेठो छोरो थिए ।’ पहाडी जिल्ला अर्घाखाँचीबाट सुरु भएको शिक्षाको गोरेटोले उनलाई नेपालगञ्जसम्म पुरायो । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट उनले ‘एजुकेशन’ विषयमा बी.एड् उत्तीर्ण गरे । जागिरको कारण समयमा पढाई पूरा गर्न नपाएका उनी अहिले पनि स्नाकोत्तरका विद्यार्थी हुन् ।

सामाजिक क्षेत्रमा उनको आयातन बढ्दै गएको छ । ४७ वर्षको जीवनसम्म आउँदा उनीसँग धेरै खुसीहरु छन् । समाज सेवा उनको इच्छाको विषय हो । संस्थाले जहाँ–जहाँ जे जिम्मेवारी दियो, त्यही क्षेत्रमा बसेर काम गरे । समाज र संस्था नै पहिलो प्राथमिकता नै परेको छ । ‘यो क्षेत्रमा लागेर कुनै पश्चाताप छैन । इच्छाले रोजेको क्षेत्र । त्यो भएर गुनासो समेत छैन । भएका योगदान समाजकै लागि भए त्यो भएर पनि यो क्षेत्रमा बेग्लै सन्तुष्टि छ । यसको कुनै मापन छैन । यो क्षेत्रमा लाग्दा आफूले पाएको दुःख–कष्ट विपन्न परिवारमा आएको परिवर्तनले जित्दा सबै कम भएर जान्छ’, उनले भने ।

मेरो जीवनमा पनि त्यही भएको छ । यसलाई सम्भवत उनले जीवनको उपलब्धिमा राखेका छन् । अर्घाखाँची जिल्लाको साविक हंसपुर गाविस ९ मा बुबा ठाकुरप्रसाद पन्थी र आमा चामकला पन्थीको तेस्रो सन्तानका रुपमा २०३१ असोज २८ गते उनको जन्म भएको थियो । उनको जीवन पनि सरल रेखामा बगेको छैन । जीवनमा धेरै बक्र रेखा आए । तर ती बक्ररेखालाई सरल बनाउँदै अघि बढेका छन्् । अर्घाखाँचीको भूगोल छोडेर उनको परिवार कपिलवस्तुको वाणगंगा नगरपालिका–७ बन्गैंलाई २०६४ सालदेखि कर्मथलो बनाउँदै आएको छ । २०५३ सालमा उनले अर्घाखाचीको ढाँकावाङबाट बसन्ता खनालसँग विवाह गरे ।

त्यो पनि मागी विवाह । केटी हेर्न भनेर गएका उनले केटी नै लिएर घर फर्केका थिए । घरमा बुवालाई विरामीले चापेको थियो । त्यही भएर हामीसँग कुर्ने समय थिएन । ‘परिवारले केटीसँग कुरा गर्ने समय दिएका थिए । त्यो समयमा मैले उनीसँग सबै कुरा खुलेर राखे र साथ मागे । उनले पनि ग्रिन सिग्गल दिइन् । त्यसपछि विवाह नै गरेर घर ल्याउने काम भएको थियो’, उनले भने– ‘त्यसपछि बल्ल प्रवेश गरे हामी दुवैको जीवनमा वैवाहिक प्रेमका रङहरु ।’ पन्थीका एक छोरा र एक छोरी छन् । धेरै खुसी छन् । जीवन संघर्षमा वितेको छ । ‘सर्घषभित्र धेरै खुसी प्राप्त गरेको छु’, उनले भने– ‘जीवन नै खुसी छ ।’

प्रस्तुती : इन्द्र डिसी