मेरो फर्म कृषि विद्यालय बनोस् : कृषक भण्डारी

  •   
  •  

लामो समय पत्रकारिता र शिक्षण पेशामा संलग्न रहेका घोराही उपमहानगरपालिका–९ अस्पराका अमर क्षितिज भण्डारी पछिल्लो समयमा व्यावसायिक किसान बन्ने तर्खरमा छन् । जब विश्वव्याधि कोरोना भाइरसका कारण विश्वका अन्य मुलुकसँगै नेपालमा पनि लकडाउन सुरु भयो, उनलाई त्यसले शिक्षण पेशा छाडेर कृषि पेशामा ल्यायो ।

वि.सं. २०४० सालमा जन्मिएका भण्डारीले शिक्षा संकायमा स्नातकोत्तर तहसम्म उत्तीर्ण गरे पनि हाल आफ्नै स्वामित्वका खेर गइरहेको केही बाँझो बारी र केही जग्गा लिजमा लिएर करिब एक विगाह जग्गामा व्यावसायिक तरकारी खेतीको सुरुवात गर्दै छन् । बेमौसमी तरकारी खेतीसँगै पशुपक्षी पालन व्यवसायमा पनि जोडिने उनको तर्खर छ । उनलाई थाहा छ, टमाटर र लौका बेचे ठूलो आर्थिक उलटपुलट हुने त होइन तर पनि छोराछोरीको शिक्षा, स्वास्थ्य र परिवारको रोजीरोटीमा भने सामान्य तरकारी खेतीबाट पनि समृद्धि ल्याउन सकिन्छ । यही सोचका साथ उनी अनुकरणीय किसान बन्ने अभ्यासमा छन् ।

कालान्तरमा उनी आफ्नो फार्मलाई गरिखाने किसानहरुका लागि एउटा कृषि विद्यालयका रुपमा स्थापित गर्न चाहन्छन् । उनै पत्रकार, शिक्षक अनि किसान बनेका युवा कृषक अमर क्षितिज भण्डारीसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 लामो समयसम्म पत्रकारिता र शिक्षण पेशामा जोडिएको तपाईं एकाएक कसरी प्रवेश गर्नुभो कृषि पेशामा ?

 हो, म करिब १२ वर्षसम्म शिक्षण पेशामा जोडिएँ अनि पत्रकारितामा पनि जोडिएकै छु । मेरो भन्दा पनि अभिभावकको चाहनामा म शिक्षण पेशामा जोडिएको हुँ । किनकि मलाई शिक्षण पेशामा कुनै इच्छा थिएन । एक जना दाजु व्यापार व्यवसायको सिलसिलामा तुलसीपुरमा स्थापित हुनुभयो भने अर्का एकजना वैदेशिक रोजगारीमा । यो अवस्थामा मलाई सकेसम्म घर नछाडोस् भनेर बुबाआमाले नजिकैको तेघरा स्कूलमा शिक्षण पेशामा जोडिन आग्रह गरेसँगै समय पनि अनुकूल बन्यो ।

अनि म अस्थायी रुपमा शिक्षण पेशामै जोडिएँ । एक दिन, दुई दिन गर्दागर्दै मेरो अध्यापन करिब १२ वर्ष पुगिसकेछ । पछि स्थायीका लागि परीक्षा हुने बेलामा म दुर्घटनामा परेको थिएँ, परीक्षा नै दिन पाइनँ । म शिक्षण पेशा छाडेर विस्तारै यो व्यावसायिक कृषि पेशामा जोडिएको छु । त्यसो त मलाई यो पेशामा जोडिने चाहना पहिल्यै देखिको हो ।

मैले स्कूलमा पनि पेशा व्यवसाय विषय पढाउँथे । यो क्षेत्रमा विशेष रुचि भएकै कारण मैले विद्यालयमै विद्यार्थीहरुलाई कक्षाकोठामा च्याउ उमार्न सिकाउँथे । काउली रोप्न सिकाउँथे । विद्यालयमा प्रशस्त खालि जग्गा भएकाले पनि मलाई कृषिको प्रयोगात्मक अभ्यास गराउन सहज थियो । अन्ततः म आफै पनि यही पेशामा जोडिएको छु । जुन मेरो सानैदेखिको चाहना पनि थियो ।

 तपाईंको फर्मका विषयमा केही कुरा बताइदिनुस् न ?

 मेरो फर्मको नाम कर्मभूमि पशुपंक्षी तथा कृषि फर्म हो । फर्म दर्ता गर्दासम्म लगानीको कुनै रूपरेखा थिएन । साथीभाइहरुसँग केही रुपैयाँ सरसापट र गाउँकै एउटा समूहबाट १ लाख रुपैयाँ ऋण निकालेर यो व्यवसाय सुरुवात गरेँ । लकडाउनमा स्कूल पनि बन्द, अन्त लखरलखर हिंडेर समय खेर फाल्नु पनि उचित मानिनँ । जम्मा भएको पैसाले सुरुमा एउटा मोटर जोडेँ, खोलाबाट पानी तानेर सिंचाइका लागि ।

अधियामा दिएको करिब एक विगाह जारी आफै जोत्ने र तरकारी फलाउन थालेँ । बेमौसमी तरकारीले बजार सहजै पाउँछ भन्ने लाग्यो । अनि सो जग्गामा भण्टा, बोडी करेला, लौका, काँक्रा, भिण्डी रोपेँ । राम्रै उत्पादन पनि भयो । अहिले खेतीको क्षेत्रफल पनि केही बढाएको छु । विगत दुई वर्षमा मैले यसमा करिब ७ लाख रुपैयाँ जति लगानी गरिसकेको छु । पक्षीपालनमा पनि रुचि भएकाले अहिले अमेरिकन प्याकिङ जातका हाँस पालेको छु । तीन महिनामा विक्रीका लागि तयार हुन्छन्, यिनी । पशुपालनलाई पनि बढाएर लैजाने सुरसार छ ।

 कस्तो छ त अहिले व्यापार ?

 मैले अझै टोटल ‘क्याल्कुलेशन’ गर्न भ्याएको छैन । अहिलेसम्म लगानीकै चरणमा छौँ । तैपनि भन्नुपर्दा सामान्य गुजारा चलेकै छ । घरका बुढाबूढी यसै व्यवसायमा दैनिक सोह्र घण्टासम्म खट्ने गरेका छौँ । तरकारी बाली गोडमेल र खनजोतका लागि दुईजनालाई नियमित रोजगारीमा पनि राखेको छु । अहिलेसम्म खासै ठूलो स्केलमा तरकारी विक्री त भएको छैन । तर, गाउँघर र छिमेकी गाउँका स्थानीय बारीमै तरकारी किन्न आउँछन् । विक्री भएकै छ ।

छोराछोरीको पढाइलेखाइ र औषधोपचार खर्च कटाएर पनि केही मुनाफा बच्ने गरेको छ । मलाई लाग्छ, साउदी र दुबई गएर मासिक २०÷३० हजार कमाएर पठाउनुभन्दा यो कमाइले जित्छ जस्तो लाग्छ, मलाई । आफ्नै मुलुकमा पनि बाँझो बारीमा सुन फलाउन सकिन्छ भन्ने मलाई लाग्छ । त्यसैले मेरो यो व्यवसाय अन्य बेरोजगार युवाहरुका लागि पनि अनुकरणीय बन्न सकोस् भन्ने चाहना हो । हामी सबै युवाहरुमा यस्ता विषयमा जागरण भयो भने हामी खास रुपमै कृषिमा आत्मनिर्भर मात्र होइन, निर्यातमुखी कृषि अर्थतन्त्रको निर्माणमा पनि टेवा दिन सक्छौँ । अर्बौँ रुपैयाँका कृषिजन्य वस्तुहरु विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त हुने छ ।

 किसानहरुलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ र कस्तो हुनुपर्दछ भन्ने लाग्छ तपाईंलाई ?

 वास्तवमा मैले शिक्षण पेशा र पत्रकारिता पेशा गर्दा नै यस विषयमा चासो लिन्थे । हो, सरकारले किसानलाई हेर्ने दृष्टिकोण सकारात्मक भएको देखिए पनि किसानका वास्तविक समस्यामा सरकार कहिल्यै गम्भीर बन्नसकेको मैले देखेको छैन । कृषि क्षेत्रमा विनियोजन भएको राज्यको बजेट लक्षितवर्गमा पुग्नसकेको छैन । अनुदान पनि वास्तविक किसानकोमा पुग्न सकिरहेको छैन । किसानले भनेको समयमा मल, बिउ पाउनसकेका छैनन् । जाबो एक बोरा रासायनिक मल पाउन पनि निकै हारगुहार गर्नुपर्दछ ।

बालीनालीमा रोग लाग्याबेला त कसले सल्लाह दिने र ? सरकारी प्राविधिकहरुलाई मैले किसानका बारीमा कहिल्यै देखेको छैन । किसानले फलाएको तरकारी बारीमै सडोस् कि महँगोमा विक्री होस् सरकारलाई कुनै चासो छैन । अझै म तपाईंको पत्रिकामार्फत् आमपाठकहरुलाई स्मरण गराउन चाहन्छु कि तरकारी बजारमा राज्यको कुनै संवेदनशीलता छैन । आफूले फलाएको तरकारीको मूल्य निर्धारण गर्न किसानले पाउँदैनन् ।

न किसानले लागत मूल्य पाउनसकेका छन्, न त उपभोक्ताहरुले नै सहज मूल्यमा कृषि उपजको उपभोग गर्न पाएका छन् । यसमा सरकारले अझै पनि अर्थपूर्ण भूमिका निर्वाह गर्न सकिरहेको छैन ।

 सरकारको कुरा उठाउनुभयो, किसानहरुको सहजताका लागि सरकारले के–कस्तो व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ, तपाईंलाई ?

 सबैभन्दा पहिले त सरकारले किसानले बारीमा फलाएको तरकारीको बजारीकरणमा पहल गर्नुप¥यो । अर्थात्, किसानले फलाएको तरकारी विक्रीको ग्यारेण्टी हुनुप¥यो अनि लागत मूल्यसँगै मुनाफा राखेर किसानले तरकारीको मूल्य निर्धारण गर्नुप¥यो । तरकारी बजारमा बिचौलियाहरुको अनाधिकृत चलखेललाई पूर्ण रूपमा बन्द गराउन सबै पालिकाका सरकारहरुले पहल गर्नुप¥यो ।

कृषिलाई पनि श्रमबजारसँग जोड्दै निर्यातमुखी बनाउनका लागि किसानहरुलाई आवश्यक परेकाबेला अनुदान सहयोग र ऋण सहयोग उपलब्ध गराउने योजना ल्याउनुप¥यो । अनि एउटा फर्म दर्ता गरेर झोलामा कागजात बोकेर अनुदान खाने प्रवृत्तिलाई पूर्ण रूपमा निस्तेज गर्नुप¥र्यो । यसो गर्नसकेमा मात्र कृषिले नेपालको अर्थतन्त्रको समृद्धिमा अपेक्षित सहयोग गर्ने छ ।

अन्यथा सरकारले वर्षेनी बेसार र खुर्सानी खरिदमै अर्बौं रुपैयाँ बाहिर पठाउनुपर्ने अवस्था आउँछ । यो अवस्थाले मुलुकमा न त आन्तरिक रोजगारीको अवस्था बृद्धि हुनसक्छ न त स्वरोजगारको अवस्थानै सिर्जना हुनसक्दछ ।

 अहिले त तपाईंको फर्मबाट खासै आर्थिक उलटपालट हुने देखिँंदैन, तपाईंका भावि योजनाहरुका विषयमा पनि केही बताइदिनुस् न ?

 मैले पहिले नै भनिहालेँ नि, मेरो यो फर्म एउटा कृषि स्कूल बन्न सकोस्, भनेर । मैले यसै अनुरूप अबका वर्षहरुमा अग्र्यानिक खेतीलाई बढावा दिने सोच बनाएको छु । त्यसैले जैविक मलका लागि गाईपालन पनि सुरु गरेको छु । दुईवटा भैँसी पनि छन् । अमेरिकन हाँससँगै कुखुरापालनको पनि सोच बनाएको छु । ता कि मेरो फर्म अवलोकन गर्न आउने जोकोहीलाइ पनि मैले अग्र्यानिक उत्पादनका विषयमा जानकारी गराउन सकूँ ।

तरकारी खेती र पशुपक्षीपालनका विषयमा सामान्य रुपमा भए पनि प्राविधिक ज्ञान दिन सकूँ । यदि मजस्ता सबै शैक्षिक बेरोजगार युवाहरुले यस्तै भए पनि नमुना कृषि व्यवसाय अँगाल्न सक्नुभयो भने कृषिबाट पनि मुलुकको अर्थतन्त्रमा आमुल परिवर्तन आउन सक्दछ । आन्तरिक रोजगारीको अवस्था सिर्जना भई वैदेशिक व्यापार घाटालाई पनि सन्तुलनमा ल्याउन सकिन्छ भन्नेमा मलाइ पूर्णविश्वास छ ।