लकडाउनले बारीमै कुहियो तरकारी

  •   
  •  

नारायण खड्का

दाङ, ३१ जेठ । दाङ नारायणपुरको चारबगियामा महेन्द्र खड्काले १० बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन् । खड्काले व्यावसायिक तरकारी खेती गर्न थालेको ३ वर्ष भइसक्यो । उनले तरकारी लगाएको जग्गा उच्च मावि नारायणपुरको हो ।

भाडामा लिएर उनले तरकारी खेती गर्दै आएका छन् । यो सिजनमा खड्काले दशमध्ये चार बिघामा टमाटर, झन्डै एक बिघामा क्रांका, दुई बिघा भेडे खुर्सानी र बचेको जग्गामा बोडी, पिरो खुर्सानीलगायत तरकारी रोपेका थिए । जब उनको उत्पादन बजार पठाउनका लागि तयार हुँदै थियो, त्यही समयमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरू भयो । बाँके कोरोनाको हटस्पट बने पनि दाङमा निषेधाज्ञा सुरू भइसकेको थिएन । त्यही बीचमा उनले झन्डै २० लाख जतिको तरकारी बेच्न भ्याए ।

दाङमा पनि वैशाख १७ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी ग¥यो । कोरोनाको दोस्रो लहरले धेरै मानिसको ज्यान लिएकाले सबैतिर त्रास थियो । निषेधाज्ञाले बजार, यातायात, उद्योग, व्यापार सबै ठप्प भए । आवश्यकताअनुसार दैनिक २० देखि ५० जना स्थानीयलाई काममा लगाउने खड्काले श्रमिक पनि पाउन छोडे । फार्मभित्रै बस्ने दुई–चार जनाको केही जोर चल्दैन थियो । त्यही समयमा टमाटर, काँक्रा, भेडे खुर्सानी लटरम्म फलेको थियो ।

पहिला खड्काको फार्ममा तरकारी किन्न बाहिरी जिल्लाका व्यापारी पनि आउने गर्थे तर, यसपटक जिल्लाभित्रैका व्यापारी पनि तरकारी किन्न आएनन् । आए पनि किलोको तीन रुपैयाँ, पाँच रुपैयाँमा खोज्नेहरू मात्रै आउन थाले । त्यति सस्तोमा बेच्नु र नबेच्नुको खासै भिन्नता खड्कालाई लागेन । अर्कोतर्फ त्यही मूल्यमा टमाटर खोज्नेहरूको संख्या एक–दुई जनामात्रै हुन्थ्यो । उनीहरू बढीमा १०–१५ केजी खोज्नेहरू हुन्थे । कि गाउँघरकै फुटकर ग्राहक आँउथे ।

उनको बारीमा एकैसाथ हजारौं किलो टमाटर तयार थियो । समयमै बिक्री नहुँदा त्यो सबै टमाटर हप्ता–दश दिनमै कुहिन थाल्यो । जेठ पहिलो हप्तासम्म काँक्रा पनि बारीमा त्यसै गरी छिप्पिन थाल्यो । जेठको १५ पुग्दासम्म भेडे खुर्सानी पनि आधाउधी बोटमै पाकेर राताम्मे भयो । त्यो पनि दिनदिनै पाकेर चाम्रो हुँदै गयो । लहलह फलेको लाखौंको तरकारी कुहिएको र चाम्रिएको टुलुटुलु हेर्नुपर्दा खड्काको मन निकै रोयो । रोएरमात्र केही हुनेवाला थिएन। किनकी निषेधाज्ञा लम्बिएको लम्बियै थियो । खडकाले जोखिम उठाउने निधो गरे । उनले टमाटर र काँक्राको बोटमा झार मार्न प्रयोग हुने विषादी छर्किन लगाए ।

विषादी छरेपछि बिस्तारै टमाटर र काँक्राका बोट सुक्दै जान थाले । त्यो देखेर आसपासका गाउँलेले उनीसँग पीडा र दुःख साट्न खोजे । स्थानीयलाई खड्काले सत्य कुरा खुलाएनन् । भनिदिए, नयाँखाले भाइरसले गर्दा सबै टमाटर र कांक्राका बोटहरू मरे । खड्काको दिमागमा छुट्टै योजना बनिसकेको थियो । अहिलेको सबै तरकारी मासेर आगामी दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षित गरी फेरि त्यसैगरी सयौं, हजारौं केजी तरकारी फलाउने ।

‘अब यसपटक तरकारी जति उत्पादन गरे पनि बजार पाउने अवस्था देखिँदैन,’ खड्काले भने, ‘बरू अब समयै यी सबै बोट नाशेर एकैसाथ जग्गा तयार पारी फेरि यसैगरी तरकारी उत्पादन गर्न सके यो घाटा पूर्ति गर्न सहज हुनेछ ।’ कोरोना भाइरसको पहिलो लहरको समयमा पनि उनले त्यसै गरेका थिए । कहिल्यै नसुनेको कोरोना भाइरस र २०७६ चैत ११ गतेदेखि नेपालभर सुरू भएको लकडाउनले त्यतिखेर पनि उत्पादित तरकारी नबिकेर उनको लाखौं क्षति भएको थियो ।

त्यतिखेर पनि उनले सबै तरकारी मासेर दशैं–तिहारको समयमा तरकारी राम्रोसँग उत्पादन गर्न सफल भए । त्यतिखेर एक केजी टमाटरको थोकमै ८० रुपैयाँसम्म बिक्री भयो । काँक्रा, लौका, बोडीले पनि राम्रो मूल्य पायो । जसले गर्दा खड्काले एकै लटमा अघिल्लो सबै क्षतिपूर्ति उठाएर पनि राम्रै बचत गर्न सफल भए । ‘यस्तै हो, हामीजस्ता तरकारी किसान कहिल्यै पनि आत्तिने वा मात्तिने गर्नुहुन्न,’ खड्काले भने, ‘कहिलेकाहीँ मौसम र समयले रूवाए पनि हिम्मत र धैर्यता राखे राम्रो नाफा पनि हुने रहेछ ।’

यो लटमा खर्च ४० लाख जति भएको र २० लाखमात्रै उठाउन सके पनि आफू नआत्तिएको उनले बताए । ‘अहिले गुमाउनुपरेको २० लाख म अबको लटमा सहजै परिपूर्ति गर्न सक्छु भन्ने आँटले काम गरिरहेको छु,’ उनले भने । उनले अहिले धमाधम जग्गा तयार पार्ने कार्य पनि सुरू गरेका छन् । खड्काले अब तीन बिघामा करेला, लौका, अढाई बिघामा भेडे र पिरो खुर्सानी, केही जग्गामा बोडी, सिमी र बाँकी जग्गामा फेरि टमाटर रोप्ने योजना सुनाए ।