अमरराज आचार्य
दाङ, ३१ जेठ । बबई गाउँपालिकामा युवाहरुले गरिव, विपन्न तथा कोभिडको कारण रोजगार गुमाएर खानका लागि समस्या भएकालाई खाद्यान्न सहयोग गर्दै आएका छन् । करिब १ महिनादेखि उनीहरुले खाद्यान्न सहयोग गर्दै आएका हुन् । बबईमा रहेका ७ जना युवाहरु मिलेर यसरी सहयोगमा जुटेका हुन् ।
बबई गाउँपालिकाका देव वली, प्रताप घर्ती, रामु वली, झुपु क्षेत्री, प्रेम वली, घनश्याम घिमिरे, यमप्रसाद बोहोरा मिलेर सहयोग अभियान सुरु गरेका हुन् । आफूहरुले पनि आफ्नो स्थानमा केही गर्नुपर्दछ भनेर यस प्रकारको अभियान सुरु गरेको उनीहरुको भनाइ रहेको छ । उनीहरुको अभियानमा अरुले पनि साथ दिएका छन् । जसका कारण अभियान अगाडि बढाउन सकिएको उनीहरु बताउँछन् ।
गरिब, विपन्न र कोभिडका कारण रोजगार गुमाएकाहरुलाई खानाको लागि खाद्यान्न सहयोग गर्ने गरेकोे अभियानका संयोजक देव वलीले जानकारी दिए । हालसम्म ७० घर परिवारलाई सहयोग गरिसकिएको उनको भनाइ रहेको छ । ‘घरसम्म पुगेर सहयोग गर्ने गरेका छौँ’ वलीले भने । एक घरपरिवारलाई १ बोरा चामल, १ लिटर तेल, १ केजी नुन, दाल १ केजी, बेसार प्रदान गर्ने गरेका छन् । ‘सहयोग गर्दा वास्तविक समस्या परेकाले सहयोग पाउन भनेर सम्बन्धित क्षेत्रका छिमेकीको सहयोगमा पहिचान गरेर सहयोग प्रदान गर्न गरेका छौँ’, वलीले भने । जसले गर्दा समस्या भएकाले पाउन सक्ने उनीहरुको भनाइ रहेको छ ।
‘संकटको अवस्थामा कोही पनि भोकले र रोगले मर्न नपरोस् भनेर ५ सय अभियान थालिनी गरेका हौँ त्यसैबाट सहयोग गर्दै आएका छौँ’, उनले भने । यस प्रकारको अभियान निरन्तर जारी राखिने उनले बताए । यस अभियानमा धेरै दाताहरुले सहयोग गरेको कारण आफूहरुले पनि सम्बन्धित क्षेत्रमा पुगेर सहयोग गर्न पाएको अभियन्ता प्रताप घर्तीले बताए ।
स्वदेश तथा विदेशमा रहेकाहरुले यस अभियानमा सहयोग गरेका छन् । विदेशबाट करिब ५० जना बढीले सहयोग गरेको वली बताउँछन् । यहाँकाले पैसा चामल, अण्डा, फलफूल तथा अन्य सामग्री सहयोग गर्ने गरेका छन् । उनीहरुले बबईमा आइसोलेसनमा रहेका बिरामीका आफन्तहरुलाई खानासमेत खुवाउँदै आएका छन् । ‘बिरामी कुरुवाहरु घरसम्म खाना खान जान समस्या हुने भएकाले खानाको व्यवस्था गरेका हौँ’, उनले भने । बिरामीलाई भने गाउँपालिकाले खानाको व्यवस्था गरिदिएको छ ।
बिरामीलाई अण्डा र फलफुल
अभियान सञ्चालन गर्दै आएका युवाहरुले कोभिड पोजेटिभहरुलाई अण्डा र फलफूल वितरण गर्ने गरेका छन् । घरमा रहेका बिरामीहरुलाई घरसम्म पुगेर अण्डा र फलफूल वितरण गरेको उनको भनाइ रहेको छ । पौष्टिक आहारले रोगविरुद्ध लड्न शक्ति प्रदान गर्ने भएकाले बिरामीलाई प्रदान गरिएको उनीहरुको भनाइ रहेको छ । हालसम्म करिब ३५ जना कोरोना पोजेटिभका बिरामीलाई अण्डा र फलफूल प्रदान गरि सकिएको छ ।
क्यानडाबाट सहयोग
यसैबीच कोभिड महामारीको समयमा लकडाउनको मार खेपिरहेका अतिबिपन्न परिवारहरुका लागि क्यानडाबाट सबिना गौतम र कृष्ण गौतमले खाद्यान्न सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ लहलौरा निवासी सबिना गौतम र बिष्णु अधिकारीको दम्पतिले संयुक्तरुपमा तुलसीपुर क्षेत्रका अतिबिपन्न परिवारलाई खाद्यान्न सहयोग रगरेको क्यानडाबाट सीता आचार्यले जानकारि दिएकी छिन् ।
कोरोना महामारीका कारण साँझ–बिहान खानपिन गर्न समस्यामा परेका १८ घरपरिवारका लागि खाधान्न सहयोग गरेका हुन् । तुलसीपुरस्थित बिपी चोक निवासी युवा ब्यबसायी यज्ञबहादुर केसी र शर्मिला केसीको समन्वयमा क्यानडाबाट २५ हजार बढीको खाद्यान्न प्राप्त भएको थियो । साँझ–बिहानको छाक टार्न समस्यामा परेकाहरुलाई घर–घरमा चामल पु¥याउन पुगेकी शर्मिला केसीले आफूहरु थप सहयोग गर्न तयार रहेको बताइन् ।