आज विश्व रक्तदाता दिवस : दाङमा ब्लड दिनेमा पुरुष र लिनेमा महिला बढी

  •   
  •  

लिलाधर वली

दाङ, ३१ जेठ । लकडाउनका कारण जिल्लामा ब्लडको सहज उपलब्धतामा समस्या भएको छ । कोरोना भाइरसको जोखिमका कारण रक्तदानका नियमित कार्यक्रमहरु हुन छोडेसँगै रक्तदाताहरु रक्तदानका लागि व्लड बैंकमा आउन नसक्दा ब्लडको सहज आपूर्तिमा समस्या भएको नेपाल रेडसक्र सोसाईटी रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले जानकारी दिएका छन् ।

लकडाउनका कारण ब्लड बैंकमा ब्लडको अभाव नै नभए पनि सहजरुपमा भन्नेबित्तिकै उपलव्ध गराउन सक्ने अवस्था नभएको उनले बताए । ‘ब्लडको अभावै छ भन्ने अवस्था छैन, तर पहिले जसरी सहजरुपमा ब्लड पाउन सक्ने अवस्था पनि छैन’–उनले भने– ‘भएको बेला ब्लड बैंकले उपलव्ध गराउने र नभएको अवस्थामा रक्तदाताहरुलाई खबर गरेर व्लड मिलाउने गरेका छौ ।’

उनले हामीसँग भएको ब्लड उपलव्ध गराउने र नभएको अवस्थामा विभिन्न संस्थाहरु तथा व्यक्तिहरुलाई फोन गरेर जोहो गर्ने गरेको बताए । नियमितरुपमा ब्लड दिने विभिन्न संघसंस्था तथा व्यक्तिहरु भए पनि लकडाउनका कारण मानिसहरु जम्मा भएर ब्लड दिन नसक्ने अवस्था भएका कारण अहिले ब्लडको समस्या देखिएको समेत उनले बताए ।

उनले कतिपय रक्तदाताहरु कोरोना जोखिमका कारण घरबाट ब्लड बैंकसम्म आएर ब्लड दिन नसक्दा असहजता भएको बताए । ‘लकडाउनमा ब्लडको आपूर्तिमा समस्या भएको छ’–उनले भने–‘जसका कारण कतिपय अवस्थामा बिरामीले सहजरुपमा ब्लड बैंकबाट ब्लड पाउन सक्नुभएको छैन ।’ लकडाउनका क्रममा कुनै पनि व्यक्तिले ब्लडको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर आफूहरुसँगै अन्य सामाजिक संघसंस्था तथा व्यक्तिहरु सक्रियरुपमा लागेकाले पनि संकटको समयमा सहज भएको बताए ।

दश महिनामा ३५९५ युनिट व्लड खपत

दाङका विभिन्न अस्पतालहरुमा विगत दश महिनाको अवधिम ३ हजार ५ सय ९५ युनिट व्लड खपत भएको छ । गतबर्षको साउनदेखि अहिलेसम्म घोराही, तुलसीपुर र लमही रक्त सञ्चार केन्द्रमा संकलन भएको ३ हजार ६ सय ७८ युनिट व्लड मध्य घोराही, तुलसीपुर र लमहीका विभिन्न सरकारी तथा निजी अस्पतालहरुमा उक्त व्लड खपत भएको रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए ।

प्राविधिक पौडेलका अनुसार घोराहीमा पुरुषहरुबाट १ हजार ९ सय २९ युनिट र महिलाहरुबाट ४ सय १७ गरी २ हजार ३ सय ४६ युनिट व्लड संकलन भएको थियो । त्यसैगरी लमही रक्त सञ्चार केन्द्रमा पुरुषहरुबाट २ सय ५२ युनिट र महिलाबाट ४२ युनिट गरी जम्मा २ सय ९४ युनिट र तुलसीपुरमा रहेको रक्त सञ्चार केन्द्रमा पुरुषबाट ८ सय ७८ युनिट र महिलाबाट १ सय ६२ युनिट गरी जम्मा जिल्लाभरीबाट ३ हजार ६ सय ७८ युनिट व्लड संकलन भएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

जसमा संकलित व्लड घोराही रक्त सञ्चार केन्द्रबाट सरकारी अस्पतालमा महिलाका लागि ६ सय ११ र पुरुषका लागि ४१६ युनिट र निजी अस्पतालहरुमा महिलाका लागि ७०२ र पुरुषका लागि ६०४ युनिट गरी जम्मा २ हजार ३ सय ३३ युनिट व्लड लिएका छन् । त्यसैगरी रक्त सञ्चार केन्द्र लमहीबाट महिलाका लागि ४१ र पुरुषका लागि ५ र निजी अस्पतालहरुमा महिलाका लागि ११८ र पुरुष १३९ युनिट गरी ३ सय ३३ युनिट व्लड खपत भएको छ ।

त्यसैगरी तुलसीपुर केन्द्रबाट ९ सय २९ युनिट खपत भएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ । उनका अनुसार जिल्लामा व्लड दिने पुरुषहरु धेरै भएपनि व्लड लिनेमा महिलाहरु धेरै रहेका छन् । उनका अनुसार दाङमा धेरै खपत ‘वि’ पोजिटिभ व्लड हुने भएकाले सटेज पनि ‘बि’ पोजिटिभ व्लड नै हुने गरेको छ ।

रक्त सञ्चर केन्द्रका अनुसार भोलेन्टर रुपमा पुरुष एक हजार छ सय ५१ जना र महिला तीन सय ५० जना र श्रोतभर्नाका रुपमा पुरुष दुई सय ७८ जना र महिला ६८ जना गरी जम्मा २ हजार तीन सय ४६ जनाले व्लड दान गरेका छन् ।

रक्तदानबारे के भन्छन रक्तदाताहरु

घोराही उपमहानगरपालिका–१५ निवासी जीतबहादुर केसीले ६५ पटक रक्तदान गरे । ५२ बर्षीय केसीले २७ बर्षको उमेरमा ६५ पटक रक्तदान गरेका हुन् । २०५० सालमा काठमाडौंमा अध्ययन गर्ने क्रममा रक्तदान गरेका केसीले त्यसपछि घोराहीमा व्लड बैंक स्थापना गर्नेदेखि व्लड नियमितरुपमा दिने काम आफूले गर्दै आएको बताए ।

शरीरबाट खेर जाने ब्लड दिँदैमा आफूलाई केही नहुने समेत उनी बताउँछन् । उनले १८ बर्ष पूरा भएका युवायुवतीहरुलाई ब्लड दिन समेत आग्रह गर्छन् । ‘म ५० बर्ष पुगेकोले नियमितरुपमा व्लड दिने गरेको छु’, उनले भने– ‘स्वस्थ युवायुवतीले ब्लड दिँदा केही हुँदैन ।’ केसीले आफूले व्यक्तिगत तथा सामाजिकरुपमा आफू आवद्ध रहेका संस्थाहरुमार्फत समेत रक्तदानका कार्यक्रमहरु राख्ने गर्दै आएको बताए ।

त्यसैगरी घोराही उपमहानगरपालिका–१४ हस्पिटल रोड निवासी वीरेन्द्रकुमार आचार्य नियमितरुपमा रक्तदान गर्दै आएका छन् । घोराहीमा व्लड बैंक स्थापना भएसँगै रक्तदान गर्न थालेका आचार्यले अहिलेसम्म ५५–५६ पटक रक्तदान गरिसकेका छन् । ‘ठ्याक्कै अहिले कतिऔंपटक भन्न सक्ने अवस्था छैन, तर मैले ५५–५६ पटक रक्तदान गरिसके जस्तो लाग्छ’, उनले भने– ‘यो बीचमा मलाई ब्लड दिएकै कारण कुनै समस्या भएको छैन ।’

उनले आफू धेरै पटक रक्तदान गर्ने व्यक्तिमा पर्दा खुशी लाग्ने गरेको समेत बताए । आफ्नो शरीरबाट खेर जाने ब्लडका कोषहरुलाई नियमित रुपमा अरुको जीवन बचाउन प्रयोग गर्न समेत आचार्यले नयाँ पुस्तालाई आग्रह गरे । ‘हामीले रक्तदान नगरे पनि ३÷३ महिनामा शरीरबाट रक्तकोषहरु खेर जान्छन्’, राप्ती विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसमेत रहेका आचार्यले भने– ‘त्यसले शरीरबाट रक्तकोषहरु खेर जान दिनुभन्दा कसैको ज्यान बचाउन लगाउनुहोस् ।’ उनले रक्तदान गर्दैमा कोही डराउन नहुने समेत बताउँछन् ।

त्यसैगरी दाङमा रक्तदान गर्ने महिलाहरु लमही निवासी साहना श्रेष्ठ अगाडि छिन् । हालसम्म ३४औं पटक रक्तदान गरेकी श्रेष्ठले पत्रिकामा ब्लडको अभावमा एकजना सुत्केरी महिलाको ज्यान गएको खबर पढेपछि आफूले २४ बर्षको उमेरदेखि नै नियमितरुपमा रक्तदान गर्न थालेको बताइन् । ‘कहिल्यै रक्तदान गरेको थिएन, एकपटक पत्रिकामा ‘ब्लडको अभावमा सुत्केरी महिलाको मृत्यु’ भएको समाचार पढे’, उनले भनिन्– ‘त्यो घटनाले मेरो मनलाई छोएपछि मैले नियमितरुपमा रक्तदान गर्ने गरेको छु ।’ उनले आफूसँगै आफूले अरुलाई समेत रक्तदान गर्न सुझाव दिने गरेकी छिन् ।

आज विश्व रक्तदाता दिवस

विश्व रक्तदाता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जुन १४ का दिन यो दिवस मनाउने गरिन्छ । मानव रगत समूह ९ब्लड ग्रुप० पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो ।

दिवसलाई नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्ने र नियमित रक्तदाताहरुलाई सम्मान गर्ने दिवसका अवसरको रुपमा समेत लिने गरिएको छ । यसै सन्दर्भमा सोमवार दाङमा मानवअधिकार एव शान्ति समाज दाङले भर्चुअलका माध्यमबाट कोरोना महामारीको समयमा व्लडको सहज आपुर्ति विषयक अन्तक्रिया कार्यक्रम गर्न थालेको छ ।

त्यसैगरी विहान ११ बजे व्लड फर नेपालले रक्त सञ्चार केन्द्र घोराही, तुलसीपुर र लमही शाखाका रक्तदान कार्यक्रमको आयोजना गरेको रक्त संचार केन्द्र दाङका प्राविधिक पौडेलले जानकारी दिएका छन् । त्यसैगरी दिउँसो २ बजे लक्ष्मीपुर युवा क्लवले घोराही उपमहानगरपालिका–२ लक्ष्मीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।