जिल्लामा थपिए २५ जना कोरोनाका संक्रमित

दाङ, २५ जेठ । जिल्लामा पछिल्नो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार २५ जनामा संक्रमण देखिएकोमा ६९ जना संक्रमणमुक्त भएका छन् ।

८० जनामा परीक्षण गर्दा १५ महिला र १० पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ । त्यस्तै निको हुनेमा घोराहीका ३०, तुलसीपुरका ३६, शान्तिनगर, राजपुर र राप्तीका १÷१ जना कोरोनाका बिरामी रहेको केन्द्रले जनाएको छ । त्यसैगरी थपिनेमा घोराहीका १३, तुलसीपुरका ६, लमहीका ३, राप्तीका २ र गढवाका १ रहेका छन् । योसँगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ३ सय ९२ रहेको छन् भने निको हुनेको संख्या ६ हजार ६ सय ३२ पुगेको केन्द्रले जनाएको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ७० मा झरेको केन्द्रले जनाएको छ । त्यसैगरेर थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–७ का ७१ वर्षीय महिला रहेको केन्द्रले जनाएको छ । उनको होम आइसोलेसनमा मृत्यु भएको हो । योसँगै बैशाखयता जिल्लामा कोरोनाबाट मृत्युु हुनेको संख्या १ सय ९० पुगेको छ ।

यसैबीच देशभर ५ हजार १ सय ५३ जना संक्रमित थपिएका छन् । कुल १७ हजार ६ सय ७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा पीसीआर विधिबाट कूल संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितभन्दा निको हुने दर बढेसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ पुगेको छ ।

हाल सक्रिय संक्रमितमध्ये ७६ हजार ५ सय ५० जना होम आइसोलेसनमा, ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा, १ हजार ३ सय २१ जना आईसीयूमा र ३ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् । कोभिड–१९ को संक्रमणबाट थप १ सय ८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ८ हजार ९ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुनेदर १.६ प्रतिशत रहेको छ ।