चुनावी प्रतिबद्धता पूरा गर्ने अवस्थामा छौं : वडा अध्यक्ष खत्री

  •   
  •  

बंगलाचुली गाउँपालिका भौगोलिक रूपमा विकट पहाडी गाउँपालिका हो । बंगलाचुलीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतका विकासका आधारभूत सेवा समेत पाउन मुस्किल छ । जसले गर्दा बंगलाचुली गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरुले धेरै काम गर्नुपर्ने हुन्छ । त्यही अनुसार अहिले बंगलाचुलीका विभिन्न स्थानमा सडक निर्माण, विद्युतका पोल विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्यसँगै कृषिको विकास र गुणस्तर सुधारका लागि काम भइरहेका छन् । करिब जनप्रतिनिधिहरु निर्वाचित भएर वडामा आएको चार वर्ष पनि पूरा हुन थालेको छ । यस अवधिमा वडामा भएका विकास निर्माणका कामको अवस्था र चुनौतीलगायतका विविध विषयमा गोरक्षकर्मी लिलाधर वलीले बंगलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पदमबहादुर खत्रीसँग गरेको कुराकानीको सार संक्षेप ।

 तपाईं वडामा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि अहिलेसम्म वडाको विकासका लागि के के काम गर्नुभयो ?

 वडाको विकासका लागि समग्रमा भौतिकतर्फ सडक, विद्युत विस्तार, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम भएका छन् । जसमा सबैभन्दा महत्वपूर्ण काम भनेको सडक विस्तार भएको छ । वडाका सबै टोलहरुमा बाटो पुगेको छ । त्योभन्दा महत्वपूर्ण काम घोराहीको रझेना, मसिना हुँदै हाम्रो वडाको बोजपोखरा हुँदै प्यूठानको स्वर्गद्वारी पुग्नका लागि धरमपानीसम्म मोटरबाटो पुगेको छ । यो हाम्रो चुनावी नारा समेत थियो । यो नारालाई पूरा गरेका छौँ । कच्चीबाटो भएकाले अहिले पानी परेर बाटो बिग्रिएको छ ।

अरुणखोलामा पुल नभएकाले समस्या छ । नत्र दिनमा दुईवटा बस यो बाटोमा अहिले पनि चल्ने अवस्था भएको छ । यसले वडाबासीलाई घोराही जान होस् या प्यूठानको स्वर्गद्वारी जान, धेरै सहज बनाइदिएको छ । ‘सिंगल’ लेनको बाटोलाई पुनः बढाउने काम समेत अहिले सुरु भइसकेको छ । यसैगरी साना कामतर्फ वडाका प्रत्येक टोल–टोल विद्युत विस्तार गर्ने वाचा थियो । त्यो लगभव काम ८० प्रतिशत जति पूरा भएको छ । जसले गर्दा वडाका धेरै वस्तीहरुमा अहिले बत्ती बलेको छ । अब करिब ८० जति पोल भएमा वडाका प्रत्येक बस्तीहरुमा विद्युत पुग्नेछ ।

त्यसपछि हाम्रो वडा पूर्ण बत्तीयुक्त बन्ने छ । यसका लागि बजेट पनि आइसकेको थियो । तर लकडाउनका कारण यो वर्ष काम हुनसकेको छैन । अर्को वर्ष पक्कै पनि सम्पन्न हुनेछ । खानेपानीका लागि पाइप अधिकांशका घरहरुमा पुगिसकेको छ । यसैगरी लिफ्टिङ विधिबाट वडाको महत्वपूर्ण धार्मिक स्थल उँजा भगवतीको मन्दिरसम्म लैजाने प्रयासमा छौँ । त्यो सफल भएमा धेरै राम्रो काम हुनेछ । यसैगरी कृषिका क्षेत्रमा समेत धेरै राम्रा काम भएका छन् । स्यूजा आफैमा पहाडी क्षेत्र हो । यहाँ कागती र सुन्तलाको राम्रो सम्भावना छ ।

त्यसका लागि वडाले किसानहरुलाई तालिमदेखि वीऊ, विरूवालगायतका सामग्री उपलब्ध गराएर व्यावसायिक कृषिका क्षेत्रमा प्रोत्साहन गर्ने काम गरिरहेको छ । त्यस्तै हामी जनप्रतिनिधिले शिक्षा र स्वास्थ्य सेवालाई समेत व्यवस्थित र गुणस्तरीय बनाउने काम गरेका छाँै ।

 दाङमा बंगलाचुली गाउँपालिका पहाडी गाउँपालिकाका हो । त्यसैमा वडा नं १ झन विकट छ । तपाईँले करिब चार वर्ष काम गरिरहँदा वडाबासीका कस्ता समस्या पाउनुभयो ?

 हो, तपाईंले भने जस्तै हाम्रो गाउँपालिका पहाडी गाउँपालिका हो । त्यसमा वडा नं. १ पनि पहाडी क्षेत्र नै हो । साविकको स्यूजा गाविस वडा नं. १ बनेको छ । पहाडी क्षेत्र भएकाले यो यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका धेरै समस्याहरु रहेका छन् । ती समस्याहरु समाधानको क्रममा छौँ । मैले पहिले पनि भनिसकेको छु, सडक, विद्युत, खानेपानीलगायतका क्षेत्रमा हामीले धेरै काम गरिसकेका छौँ ।

हाम्रो वडामा दश कक्षासम्म मात्र पढाई हुने विद्यालय छन् । त्यो भन्दामाथि पढ्नका लागि घोराही वा कमिरेचौर वा हर्नाेक जानुपर्ने विद्यार्थीहरुको वाध्यता छ कि त विद्यालय छोड्नुपर्ने अवस्था छ । त्यसैले त्यो समस्या हटाउनका लागि स्यूजामै रहेको महेन्द्र माध्यमिक विद्यालयलाई १२ कक्षासम्म पढाइ हुने विद्यालयका रुपमा विकास गरेका छौँ । अब कक्षा ११र १२ यहीँ पढाइ हुनेछ । विद्यार्थीलाई टाढा जानुपर्ने वाध्यता हट्नेछ र विद्यार्थीहरुले वडामै १२ कक्षासम्म पढ्न पाउने व्यवस्था गरेका छौँ । वडाको टाढाको गाउँ भनेको खाडा हो ।

त्यहाँ विद्यार्थीहरु करिब तीन घण्टा हिडेर पढ्न जानुपर्ने वाध्यता छ । अहिले पनि त्यो वाध्यता हटाउनका लागि म लागिपरेको छु । खाडामै आधारभूत तहको विद्यालय सञ्चालन गर्ने सोचका साथ अघि बढिरहेको छु । त्यो बनेमा साना बालबालिकाहरुले पढ्नकै लागि दुःख पाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । त्यस्तै स्वास्थ्यको समस्या पनि विस्तारै हल हुँदै गएको छ । पहिले वरपर नजिकमा स्वास्थ्य चौकी नहुँदा स्यूजाबासी मात्र नभएर प्यूठान र रोल्पाका मानिसहरु आउने हुँदा भीडभाड हुने गरेको थियो ।

तर अहिले हाम्रै गाउँपालिकाको समेत विभिन्न वडामा स्वास्थ्यचौकी र त्यो नभएको ठाउँमा स्वास्थ्य क्लिनीकको व्यवस्था गरेकाले आ–आप्mनो ठाउँमै उपचार गर्नुहुन्छ । त्यसैले यहाँका जनताले सजिलै आधारभूत स्वास्थ्य सेवा पाउने गर्नुभएको छ । तर गम्भीर स्वास्थ्य समस्याका बिरामीहरु भने घोराही नै जानुपर्ने वाध्यता अहिले पनि कायमै छ ।

 तपाईंले वडावासीको पक्षमा काम गर्दा कहिले अप्ठेरोमा त पर्नु परेन नि ?

 किन नपर्नु नि ! विकासका काम गर्दा धेरै पटक समस्या भएको छ तर समस्याबाट म कहिल्यै पनि भागेन । मलगायतका जनप्रतिनिधिहरु वडामा आएपछि सबै ठाउँमा समान रूपले विकास गर्ने सोच बनायौँ । मेरो व्यक्तिगत मान्यता पनि वडाको विकास समान रुपमा गर्नुपर्छ भन्ने हो । त्यही मान्यताअनुसार नै वडाको विकासका लागि काम गर्दै आएको छु । र, बाँकी रहेको यो समयमा पनि त्यही अनुसार काम गर्नेछु ।

तर मलाई काम गर्दा कति पटक आफ्नै पार्टी त कति पटक विपक्षी पार्टीका मान्छेले केही काममा अवरोध गरे । वडा कार्यालयमै आएर तालाबन्दीसम्मका काम गरे । तर मैले गलत काम नगरेको र जनताको पक्षमा काम गरेकाले पछि हटिनँ । बरु मैले गरेको कामका बारेमा उनीहरुलाई सबै जनप्रतिनिधिहरुले बुझाउने काम गरेपछि लगाएको ताला आफै खोल्नेसम्म काम गरेका छन् ।

लामो समयपछि जनप्रतिनिधिहरुका रुपमा वडामा काम गर्न आउँदा जनतामा धेरै चाहना हुनु स्वभाविक नै हो । तर सिमित बजेटका कारण सबै ठाउँमा एकै पटक काम गर्न नसकिँदो रहेछ । त्यसैले कतिपय अवस्था जनता रिसाउने समेत गर्नुहुन्छ । त्यस्तो अवस्थामा मैले जनतालाई बुझाउने गरेको छु ।

 अहिले सबै ठाउँमा कोरोना भाइरसको जोखिम रहेको छ । तपाईंको वडामा कस्तो छ जोखिम ?

 तपाईंले भने जस्तै अहिले हामी कोरोना भाइरसको महामारीबाट पीडित बनेका छौँ । त्यही कारण पूरै देश ठप्प छ । जिल्ला प्रशासन कार्यालयले गरेको लकडाउनका कारण बजार ठप्प छ । कोरोनाका कारण धेरै मानिसहरु बिरामी भएका छन् । कतिपयले ज्यान समेत गुमाएका छन् । तर भाग्यमानी सम्झनु पर्छ अहिलेको कोरोना संक्रमणका कारण हाम्रो वडामा कसैले ज्यान गुमाउनु परेको छैन ।

कोरोना संक्रमितहरु गाउँमा भए पनि परीक्षणको व्यवस्था नभएकाले होला अहिलेसम्म यही वडामा बसोवास गर्ने एक जना बाहेक दुई जना व्यक्तिमा कोरोना संक्रमण समेत देखिएको अवस्था छैन । तर यहाँबाट बसाई सराई गरेर घोराहीलगायतका विभिन्न ठाउँमा बसोवास गर्ने व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । त्यो मिडियाबाट नाम समेत आएको मैले सुनेको छु ।

तर यही वडामा बसोवास गर्ने जनताहरुमा कोरोना संक्रमण देखिएको छैन । त्यस कारणले मैले हाम्रो वडा र वडावासीलाई भाग्यमानी भएको महसुश गरेको छु । तर कोरोना भाइरसका कारण बजार बन्द हुँदा यसबीचमा धेरै विकासका कामहरु गर्न सकेनौँ ।

 तपाईं आफ्नो कार्यकालको अन्तिमतिर आउनुभएको छ, अब के काम गर्ने सोच बनाउनुभएको छ ?

 वडामा जनप्रतिनिधिका रूपमा आएको पनि चार वर्ष पुगेको छ । यो बीचमा धेरै काम आपूmले पनि सिक्ने र गर्ने अवसर मिलेको छ । साच्चै भन्ने हो भने हामीले दुई वर्षको अवधिमा राम्रोसँग काम गरेका छौँ । पहिलो वर्ष सिकाइमै बित्यो । त्यसपछि दुई वर्ष वडाको विकासका लागि काम ग¥याँै ।

त्यसपछिका बाँकी दुई वर्ष कोरोनाका कारण काम गर्न नसक्ने अवस्थामा छौँ । त्यसैले अबको बचेको समय भनेको चुनावका क्रममा जनतासँग गरेका वाचाहरु पूरा गर्ने सोचमा छौँ । सडक नपुगेको ठाउँमा सडक पु¥याउने, खानेपानी नभएको बस्तीमा पानीका धारा पु¥याउनेलगायतका काम गर्ने सोचमा रहेको छु ।

 अन्त्यमा के भन्न चाहानुहुन्छ ?

 बंगलाचुली गाउँपालिकाको वडा नं. १ भौगोलिक रुपमा विकट वडा हो । यस वडाका अधिकांश बस्तीहरु विकट रहेका छन् । जनप्रतिनिधिका रूपमा म निर्वाचित भएपछि वडामा विकासका लागि धेरै काम गरेको छु । यद्यपि पहिलो वर्ष सिकाइको वर्ष थियो । दोस्रो र तेस्रो वर्षमा धेरै काम गरेका छौँ । त्यसपछि गएको वर्ष र अहिलेको वर्ष चाहेर पनि कोरोना महामारीको अवस्थाका कारण धेरै काम गर्न पाएका छैनौँ ।

अब करिब करिब एक वर्ष छ । यो समयमा जनतासँग वाचा गरेका धेरै कामहरु गर्न बाँकी रहेको छ । ती कामहरु पूरा गर्ने वाचा समेत गर्न चाहान्छु । साथै बंगलाचुली गाउँपालिका वडा नं. १ मा मैले गरेका कामहरु सञ्चारका माध्यमबाट जनता सामू राख्ने अवसर दिएकोमा तपाईं र यस पत्रिकालाई पनि धेरै–धेरै धन्यावाद दिन्छु ।