कोरोना डायरी : भरिया सांसदज्यूहरु…

  •   
  •  

खेमराज रिजाल

बेलझुण्डी (दाङ), २५ जेठ । शंकरले आफ्नो मोबाइलमा समाचार पढिरहेका थिए । म टक्क त्यहीँ पुगे, उनकै घरको वरण्डामा । उनी हौसिदँै भन्दै थिए, सांसद वलीले त बेलझुण्डी कोरोना अस्पताललाई यतिधेरै स्वास्थ्य सामग्री सहयोग गरिछन् नि !’ कति महंगा होलान् यी सामग्री ? उनले मसँग हिसाव सोधे ।

यहीबाटै प्रशारित एउटा अनलाइनमा सांसद वलीले सहयोग गरेको तस्वीरसहित छापिएको थियो । समाचारमा लेखिएको थियो, सांसद ओलीद्वारा बेलझुण्डी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग । उनले अस्पतालमा एक थान भेन्टिलेटर, पाँच थान अक्सिजन कन्स्ट्रेटर, ५ सय पिस सर्जिकल मास्क, ५ सय पिस एन ९५ मास्क, ३०० पिस फेस सिल्ड, ईन्जेक्सन क्लाभम १ सय भायल, रेमडिसिभिर १ सय भायल । सोमवार अस्पतालमै पुगेर सहयोग गरेको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । उनले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएकी छिन् । तस्वीरले मात्र चिनिन्थ्यो, यी सामग्रीको सहयोग राष्ट्रियसभा सांसद कोमल वलीले गरेकी हुन् भनेर ।

मैले शंकरले सोधेको हिसाव बुझाउन अस्पतालका व्यवस्थापक दोर्ण वलीलाई फोन गरेँ । कोमल वलीले सहयोग गरेका स्वास्थ्य सामग्रीको चानचुन मूल्य कति पर्छ भनेर । उनले जवाफ दिए, कम्तीमा २५ लाखभन्दा बढी । मैले फेरि सोधे, यति धेरै रकम बराबरको सहयोग गरेकोमा पहिलो घटना होइन ? उनले जवाफ दिए– ‘सांसदले आफै किनेर ल्याएको कहाँ होर, यो त विभाग र मन्त्रालयबाट समन्वय गरेर ल्याएको नि ।’

हो, कम्तीमा दुई साताअघि जिल्लामा अक्सिजनको चरम अभाव भइरहँदा यहीँकै पूर्व प्रतिनिधिसभा सदस्यहरु शान्ता चौधरी र हिराचन्द्र केसीले पनि रित्तै भए पनि अक्सिजन शिलिण्डर ल्याएर बेलझुण्डी अस्पतालमा हस्तान्तरण गरेका थिए । ती सिलिण्डरहरु पनि नेपाल सरकारले व्यवस्थापन गरेर अस्पतालमा पठाउन भनी विभागमा राखिएका थिए । सांसद गंगा चौधरीको त घरमा सिलिण्डर लुकाउने भनेर निकै आलोचनाहरु पनि भए ।

भरिया सांसदज्यूहरु

तपाईहरुले व्यवस्थापिका सांसदमा यस्ता स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालमा पठाउने सरकारी संयन्त्रको विश्वास गर्नु भएको छैन । त्यसैले आफैले हस्तक्षेपको शैलीमा विभाग र मन्त्रालयबाटै स्वास्थ्य सामग्रीहरु गृहजिल्लामा ल्याइरहनुभएको छ । सिस्टम बनाउन नसके पनि आफै बोकेर त ल्याउनुभएको छ ? सर्जिकल मास्क र हेन्ड ग्लोवससमेत सांसदले बोकेर अस्पताल पुराउनुपर्ने यो कस्तो दुर्भाग्य हो ? मैले सोचिरहेको थिए ।

सायद चुनावमा मत तान्न सकिन्छ कि भनेर हुनसक्छ । तर जनताले सांसदलाई भरिया बनाउन पठाएका होइनन् । विधान बनाउन र मुलुकलाई कानुनी राज्यका रुपमा सञ्चालन गर्न पठाएका हुन् । सिस्टमलाई स्थापित गर्न सकून् । समानुपातिक समावेशी विकासका लागि विधान बनाउन सकून भनेर संसदमा पठाएका हुन् ।

तर मलाई लाग्छ, अचेल सांसदज्यूहरु तलव खाने बेरोजगार हुनुहुन्छ । त्यसैले सरकारले आवश्यकताअनुसारका अस्पतालमा पठाउनका लागि खरिद गरेका स्वास्थ्य सामग्रीहरु आफ्नो बलबुताले भ्याएसम्म गृहजिल्लामै लैजान अभ्यस्त देखिएका छन् । प्रधानमन्त्रीले संसद विघटन गरिदिए, प्रतिनिधिसभा सदस्य बेरोजगार । अध्यादेशमार्फत धमाधम कानुन जारी हुन थालेपछि राष्ट्रियसभा पनि कामविहीनजस्तै…।

सांसदज्यूहरु, तपाईले पाएको मत मास्क र सेनिटाइजर बोकेर अस्पताल आउनका लागि होइन, मास्क र सेनिीटाइजर अस्पताल सहजै पुग्न सक्ने प्रणालीको निर्माण गर्न हो । कर्मचारी तन्त्रलाई चुस्त–दुरुस्त बनाउनका लागि हो । तर यस्तै कार्यशैली तपाईहरुले गर्दै आउनुभयो भने व्यवस्थापिका संसदको मर्यादा खोई ? मास्क र सेनिटाइजर अस्पतालसम्म पु¥याउने सिस्टम कोल्याप्स छ र सांसदज्यू ?

तपाईले अस्पतालमा भेन्टिलेटर ल्याएसँगै यहाँको बेलझुण्डी अस्पतालमा भेन्टिलेटर चलाउन सक्ने चिकित्सक स्वास्थ्यकर्मीको स्थायीरुपमा व्यवस्थापनमा लाग्नुपथ्र्यो । दुई बर्षदेखि विद्यार्थीको क्याम्पस भवनमा सञ्चालित कोरोना अस्पतालको स्थायित्वका लागि नयाँ भवन निर्माणमा अर्थपूर्ण पहल गर्न सक्नुपथ्र्यो ? जुन भावी सन्तानका लागि पनि स्मरणयोग्य हुने थियो । स्वास्थ्य सेवा विभागबाट ल्याएको त्यो भेन्टिलेटर चलाउने जनशक्ति नभएर खिया लागेका बेला अर्को जिल्लामा भेन्टिलेटरको अभावमा बिरामीले ज्यान गुमाएको अवस्था हुन सक्छ, कहिल्यै अरुका समस्या र समग्र मुलुकको समस्याका विषयमा गम्भीर हुनुभएको छ ?

हो, दाङ जिल्ला कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले आहत बन्यो । अझै पनि संक्रमणको त्रास छ । यदि तेस्रो लहरको संक्रमण साँच्चै चिकित्सकहरुले भनेअनुरुप थप खतरनाक भएर फैलियो भने त्यो बेला थप अस्पताल आवश्यक हुन्छ । त्यसका लागि थप बजेट विनियोजनका लागि अर्थ मन्त्रालयमा दबाव दिनुपर्यो । खोप आयात र खोप खरिदका सन्दर्भमा दातृ निकाय एवं अन्तर्राष्ट्रिय समुदायमा कुटनीतिक पहल राख्ने हैसियत बनाउन सक्नुपर्यो । किनकि जबसम्म आम नागरिकहरुलाई खोप लगाउने व्यवस्थापन हुन सक्दैन, तबसम्म संक्रमणबाट जोगिने र ढुक्क हुने अवस्था रहँदैन । यी यावत कुरालाई थाँती राखेर आफेले मास्क बोकेर अब सांसदज्यूहरु अस्पताल पुग्नुपर्ने अवस्था होइन ।

हो, नेपालभरका स्वास्थ्य संस्थाहरुलाई सबल बनाउन र आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गर्न तपाईहरुको अहम् भूमिका रहन्छ । त्यसका लागि उपयोगी स्वास्थ्य नीति निर्माण गर्न सरकारलाई दबाव दिनुस् । मुलुकलाई राजनीतिक अस्थिरताको शिकार हुनबाट जोगाएर सात दशकको आन्दोलनको उपजस्वरुप जनताले लेखेको संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउनतर्फ चनाखो बन्नुस् ।

कति दिन मास्क र सेनिटाइजरको भारी बोकेर आउनुहुन्छ ? तपाईले ल्याएको अक्सिजन कन्सन्ट्रेटरलाई नियमित रुपमा सञ्चालन गर्ने र आवश्यक परेका बेला मर्मत गर्न सक्ने दक्ष प्राविधिक जनशक्तिको दीर्घकालीन व्यवस्थापन गर्नुस् । तपाईले ल्याएको भेन्टिलेटरहरुलाई नियमितरुपमा सञ्चालन गरी सेवा प्रदान गर्नका लागि दक्ष चिकित्सकीय जनशक्तिको व्यवस्थापन गर्नुस् ।

थाहा छ तपाईहरुलाई, रेमडिशिभिर कस्ता बिरामीलाई चलाउन सकिने भनेर ? मैले सुनेको छु विशेषज्ञकै मुखबाट, रेमडिशिभिर कोरोना भाइरसका संक्रमितहरुका लागि प्रभावकारी औषधि होइन भनेर । अझ पछिल्लो समयमा त भारतबाट मेडिकल माफियाहरुले खुलेआम रुपमा नक्कली रेमडिशिभिर पनि नेपाल भित्राएको भनेर । विश्व स्वास्थ्य संगठनले रेमडिशिभिर प्रयोग नगर्न चेतावनी दिइरहेको मैले सुनेको छु । रेमडिशिभिरको गलत प्रयोगले विरामीलाई प्रतिअसर गरी ज्यानसमेत गएको अवस्था मैले भोगेको पनि छु ।

तर फेरि आएको छ, रेमडिशिभिर । जुन मेडिकल माफियाको सिफारिसमा मात्रै भएको वरिष्ठ फिजिसियनहरुले नै बताइसकेका छन् । सासदज्यूहरु÷पूर्व सांसदज्युहरु, मुलुकलाई समग्र समृद्धिको दिशामा पु¥याउनका लागि कानुनी राज्यको पूर्णरुपमा परिपालना हुनु आवश्यक छ । कानुनी राज्यको प्रत्याभूतिका लागि अझै पनि सयौं ऐन कानुनहरु बन्नुपर्ने छन् । धेरै कानुनहरु परिमार्जन हुनुपर्ने अवस्थामा छन् ।

यी सबै काम समृद्धिका पहिला आधार हुन् । त्यसपछि त अक्सिजन कन्सन्ट्रेटर र भेन्टिलेटरहरु त तपाईले मन्त्रालयबाट बोकेर बेलझुण्डी ल्याइरहनु नै पर्दैन, त्यो त सिस्टमले ल्याउने होइन र ? पहुँचका आधारमा होइन, आवश्यकताका आधारमा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्रीहरु सिस्टमले पु¥याउने छ ।