३९६ अस्पतालको काम तत्कालै शुरु

काठमाडौँ, २५ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा आम नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए । नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बडाएको समेत मन्त्री तामाङले बताए । बीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरी सकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको उनले बताए ।

कोरोना भाइरस परीक्षणको दायरा बढाएको र आवस्यक सामाग्री पुग्ने गरी भएकाले क्षमताले भ्याएसम्म संक्रमण रोक्ने प्रतिवद्धता मन्त्रीले तामाङले गरे । सरकार कोभिड खोप ल्याउनेमै सबै प्रयास जारी राखेको जानकारी दिनै स्वास्थ्यमन्त्री तामाङले स्वास्थ्य सुरक्षाको सरकारी मापदण्डको पालना गरिदिन सबैमा आग्रह समेत गरे । ‘नेपाल खोप उत्पादक राष्ट्र होइन, तर पनि हामीले खोप प्राप्तका लागि सबै प्रयास जारी राखेका छौं’, उनले भने । खोप प्राप्ति र कार्यान्वयन गर्नेमै सरकार लागिपरेको उनले बताए ।

पहिलो कुरा त रोग लाग्नै नदिनु हो, यदि लागिहालेमा त्यसका उपचारका लागि सरकारले आवश्यक प्रवन्ध मिलाएको उनले बताए । वीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालकोे रुपमा विकास भइरहेको र अन्य सबै प्रदेशमा त्यस्तो अस्पतालको व्यवस्थापन हुने उनले बताए । स्वास्थ्यको हिसाबले देशको सबै क्षेत्रमा सुधार गर्न सरकार लागिपरेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले तेस्रो लहरको कोभिडको सामना गर्न पनि सरकारले तयारी गरिरहेको बताए । आम नागरिकको स्वास्थ्यमा सहज पहुँच बढाउनेगरी काम भइरहेको उनले बताए ।

स्वास्थ्य विमालाई नागरिकको सहज पहुँचमा पुर्याउन पनि काम गरिने उनले बताए । आगामी दिनमा सम्भव भएसम्म जनताको स्वास्थ्य उपचार निःशुल्क गर्नेबारेमा आवश्यक अध्ययन गरिने मन्त्री तामाङले बताए । नागरिकलाई बचाउनु नै प्रमुख काम रहेकाले सरकारले अभिभावकको रुपमा त्यो काम गर्ने उहाँले प्रतिबद्धता जनाए । मन्त्रालयबाट हुने हरेक काम पारदर्शीरुपमा गरिने पनि उनले प्रतिवद्धता जनाए ।

‘हामीले निष्ठापूर्वक गरिरहेको काममा कतै त्रुटी हुन लाग्यो भने हामीलाई खवरदारी गर्नुहोला, त्यसाकलागि म सचेत नागरिक र मिडियाकर्मीमा आग्रह गर्दछु’ स्वास्थ्यमन्त्री तामाङले भने ‘म निष्ठापूर्वक काम गर्नेछुँ, आजको काम भोली गरुँला भन्ने छैन । आजको दिन नै अन्तिम दिन हो सोचेर काम गर्नेछुँ ।’

मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक समेत गरे । सार्वजनिक पद धारण गर्ने सबैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक रहेको उनले बताए । त्यसबारेमा कानुन बनाएरै अघि बढ्न आवश्यक रहेको उनले बताए ।

चुनौति र अवसर सँगसँगै आउने चिज भएको बताउदै स्वास्थ्यमन्त्री तामाङले चुनौतीलाई अवसरक रुपमा ग्रहण गरेर काम गर्ने प्रतिबद्धता जनाए । स्वास्थ्य प्रणालीमा सुधार गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै मन्त्री तामाङले कोरोनाबीच पनि केही अस्पतालको अनुगमन गर्दा केही समस्या देखिएको बताए । अस्पतालको सरसफाई र गुणस्तरीय उपचारलाई प्राथमिकतामा राख्न उहाँले सम्बद्ध सबैलाई आग्रह गरे ।