रोकिएन संस्थागत प्राकृतिक दोहन

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, २४ जेठ । मुलुकभर विश्व वातावरण दिवस मनाइरहँदा पछिल्लो समयमा रुख रोपेर सेल्फी तस्वीर खिच्नेहरुले वातावरण संरक्षणको प्रचारबाजी गरिरहेका छन् । यद्यपि सरकारी संयन्त्र भने प्रत्यक्ष वा परोक्षरुपमा प्राकृतिक दोहनमै केन्द्रित देखिएको छ । पञ्चायत कालमा हरियो वन तस्करको धनका रुपमा परिचित वाक्यांश थियो भने अहिलेको गणतान्त्रिक सरकारले पछिल्लो समयमा नदी तथा वनजन्य पदार्थको भारत निकासी खुल्ला गरेर चर्चामा छ । यसले वातावरण संरक्षणको उपहास भएको छ ।

बर्षेनी वातावरण दिवसको अवसर पारेर साताभरी बृक्षारोपण भइरहन्छन् । महामानव विपी कोइराला, पुष्पलाल, मनमोहन, मदन भण्डारीलगायतका राजनेताका स्मृतिकै अवसरमा पनि हजारौं बृक्षहरु रोपिन्छन् । डिभिजन वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्वमा पनि बर्षेनी लाखौं विरुवा रोपिन्छन्, तर हुर्काउने दायित्व खोइ ? एकै स्थानमा बर्षेनी बृक्षारोपण भइरहेका हुन्छन्, तर हुर्केका उदाहरणहरु अत्यन्तै न्यून छन्’, एकजना वातावरणवादी नेताले भनेका छन् ।

सरकारले चुरे दोहनलाई बैधानिकता दिएसँगै स्थानीय सरकारहरुले वन मासेर पानीविनाका माछापोखरीको अभ्यास गरिरहेको छ । संघीय मातहतका सरकारी प्रशासनिक कार्यालयको उपेक्षा गर्दै एकजना वडाध्यक्षको स्वनिर्णयका आधारमा सालका रुखहरु कटान गरी माछापोखरी र तालतलैया बनाउने नाटक मञ्चन गरिँदै आएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ को एउटा सामुदायिक वनमा स्थानीय सरकारले वातावरणीय प्रभाव मूल्यांकनविनै रातारात स्काभेटर लगाएर वन कटानी गरेपछि डिभिजन वन कार्यालयका अधिकारीले यस अभियानलाई रोके । दिउँसोमा त रोके, तर जनप्रतिनिधिहरुको बलमिच्याइँले मध्यरातमा मेसिन लगाएर काम भइरहँदा यसले वातावरण दिवसमा के सन्देश दिन्छ ।

सरकारी स्वामित्वकै अतिक्रमित जग्गाको व्यवस्थापन नभइरहेको अवस्थामा स्थानीय सरकारले आफ्नो पालिकाको भवन होस् वा स्वास्थ्यचौकी भवन निर्माण, त्यसमा पनि वनकै क्षेत्र छनोटमा पर्दछ । मानौँ आफ्नो क्षेत्रमा भएको सबथोक जनप्रतिनिधिको बलमिच्याइँमा उपभोग गर्ने हो । कानुनी आधारहरु जनप्रतिनिधिका लागि स्वीकार्य भइरहेका छैनन् । पश्चिम दाङको बबई गाउँपालिकाले अघिल्लो साल आफ्नै पालिका भवन निर्माणको शिलान्यास वन क्षेत्रमै गरेपछि डिभिजन वन कार्यालयले त्यसलाई रोकेको थियो ।

राजमार्ग र नदी किनारामै क्रसर उद्योगहरु सञ्चालनमा छन् । उद्योग हातामा थुपारिएको नदीजन्य पदार्थको पहाडले गिज्याइरहेको छ, वातावरण संरक्षणलाई । बाह्रै महिना बग्ने नदीहरुमा बैशाख महिनामै एक थोपा पानी देखिँदैन । पिउने पानीका मुहान मात्र होइन, जमिनमुनीको पानीको सतह पनि दिनदिनै भासिँदै गएको छ । नेताहरुले मत माग्न बोलिरहन्छन्, शारदाको पानी दाङमा । नेताहरुलाई जानकारी नै हुँदैन कि आफूले यो शब्द बोलिरहँदा शारदा नदी नै सुकिसकेको छ भनेर । पछिल्लो समयमा एउटा भने राम्रो काम भएको छ, वातावरणीय सन्तुलन जोगाउने र दाङलाई मरुभूमिकरणबाट जोगाउने सानो नमुना योजनाका रुपमा ।

त्यो हो, घोराही उपमहानगरपालिकामा रहेका पानी पोखरीहरु । अर्थात कृतिम तालहरु । तर अन्य क्षेत्रहरुमा हाइड्यामको नारा खुबै लगाइन्छ, चुनावताका । चुनाव जितेको दिन आफ्नो व्यक्तिगत सम्पर्कका आधारमा सम्बन्धित कार्यालयका सरकारी अधिकारीलाई प्रारम्भिक फिल्ड सर्वेका लागि तर योजना त्यही दिनदेखि नै तुहिएको हुन्छ, जुन दिन नेताले चुनाव जितेर आफू कुर्सीमा बसिसकेका हुन्छन् । ‘चुनावताका आएका हाइड्यामका योजनाहरु त उहिले पञ्चायत कालदेखिकै हुन्, अहिलेका नयाँ योजना कहाँ हुन् र !’ तुलसीपुर उपमहानगरपालिका–१८ का एकजना स्थानीयबासी होमबहादुर सेर्चनले गोरक्षलाई भने । उनका अनुसार अब दाङ प्राकृतिकरुपले निकै जोखिममा रहेको छ ।

इन्जिनियरको सर्वेमा होइन, ठेकेदार र डोजर ड्राइभरको अनुमानका आधारमा वन क्षेत्र हुँदै बाटा बनाइरहेका छन् । सडकको स्लोप कतिसम्मको ? कति उकालोमा सवारी साधन चल्न सक्छन् ? यी सबै कुरालाई थाँती राखेर सडकको ट्रयाक त्यता मोडिन्छ, जहाँ बाक्ला र निरोगी सालका रुखहरु होऊन् । पातुखोला सुकेको छ, गुहार खोला पनि त्यस्तै छ । चुरे क्षेत्रमा चुनढुङ्गा उत्खनन् रोकिएको छैन । दिनप्रतिदिन प्रकृति दोहन भइरहेको छ ।

खोलाको नाम निशानी मात्र छ, जेठ असारमै पानी बग्ने खोलामा कमिला हिँड्छन् । खानेपानीका मुहानहरु सबै सुकेका छन् । वैशाख जेठमा खानेपानीको हाहाकारै हुने गरेको छ । साउन–भदौमा एक मिटर यता झरी लागेको हुन्छ उता घाम, दिनप्रतिदिनको प्रकृतिको दोहनले गर्दा वातावरण बिग्रँदै गएको छ । अतिबृष्टि, अनाबृष्टि र खण्डबृष्टि पनि वातावरणीय विनासका उपज रहेको वातावरणविद्हरु बताउँदै आएका छन् । वातावरण संरक्षण र दोहन रोक्न सरोकारवालाहरु मौन छन् । पातुखोलाको पानी शिरमा छ, बीचमा छैन पुछारा सुकौरामा देखिन्छ, गुहारको त्यस्तै छ । खोलामा दिनप्रतिदिन डोजर लागेका हुन्छन् । त्यस्तै बाटो बनाउने नाममा होस् वा अन्य विकास निर्माण गर्ने बहानामा वन–जंगल मासिँदै गएको छ ।

त्यसैका बीच पनि नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ भन्ने नाराका साथ वातावरण दिवस मनाएको छ । बाटो बनाउँदा घोराही–तुलसीपुर सडकखण्डको त्यो बिजौरीको बुढो पिपल ढल्यो । त्यसको विकल्पमा अन्य विरुवा रोपिएन । मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरीको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भइरहेको छ । शनिवार परेको विश्व वातावरण दिवसमा धेरैले फेसबुकबाटै दिवसको शुभकामना दिएर मनाएको छ भने केहीले वृक्षारोपन गरी मनाएका छन् । कोरोना भाइरसको महामारीका कारण धेरै कार्यक्रम भएनन् । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ ।

मानव जाति आफू बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्वपूर्ण छ । यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ । दिवसका दिन जिल्लाभरि वृक्षारोपन गरिन्छ । तर त्यसपछि त्यसलाई कसले हुर्काउने–बचाउने भन्ने कसैको ध्यान जाँदैन् । यो पनि दिवसकै लागि वृक्षारोपन हुने गरेको छ । ‘वृक्षारोपन गरेरमात्र हुँदैन् त्यसलाई संरक्षण गर्नुपर्छ’, स्थानीय कृष्ण केसीले भने ।

त्यस्तै वन तथा वातावरण क्षेत्रमा लामो समयसम्म काम गरेका ध्रुव गौतमले विरुवाहरु लगाएर मात्र नहुने भन्दै त्यसलाई संरक्षण गर्नुपर्ने बताए । जिल्लामा ४÷५ लाख विरुवाहरु बार्षिक उत्पादन हुने र निजी तथा सामुदायिक वनमा वृक्षारोपन हुने गरेको छ । तर त्यसको संरक्षण हुन सकेको छैन । ‘बर्षमा एक दिन विरुवा लगाएरमात्र हुँदैन, त्यसको रेखदेख कसले गर्ने त्यसमा समस्या छ’, गौतमले भने । कागजमा मात्र वृक्षारोपन गरेको देखाएर नपुग्ने र जसले लगाउँछ त्यसले त्यसको संरक्षण गर्नुपर्ने जानकारहरु बताउँछन् ।

त्यस्तै विभिन्न कारणले प्रकृतिमाथि दोहन हुँदा जलवायु परिवर्तन हुँदै गएको छ । यसले वातावरणलाई असर गरेको छ । हालै सरकारले ल्याएको आउँदो वर्षको बजेटमा चुरे क्षेत्रबाट ढुंगा गिट्टी, बालुवासहितका नदीजन्य सामग्रीको दोहन गर्नका लागि मार्ग प्रशस्त गरेको भन्दै संरक्षणकर्मीसहित विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ । सरकारले चुरे दोहनको कुनै उद्देश्य नरहेको बताए पनि बजेटको व्यवस्थाले विगत सात वर्षदेखिको प्रतिबन्ध फुकुवा गरेको भन्दै विरोध भइरहेका बेला वातावरण दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।