लकडाउनमा साहित्यीक ‘सप्तरंगी अक्षरयात्रा’ कार्यक्रम हुने

दाङ,२३ जेठ । लकडाउनका कारण सुनसान बनेको साहित्यीक गतिविधिलाई चलाएमान बनाउन अनलाइनका माध्यमबाट कार्यक्रम हुने भएको छ । ‘साहित्य, कला र संगीतको उत्थान, हाम्रो पहिचान’ भन्ने उद्देश्यका साथ राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले अनलाइन जुमका माध्यमबाट ‘सप्तरंगी अक्षरयात्रा’ कार्यक्रम गर्न थालेको हो ।

भर्चुअल जुमका माध्यमबाट परिषद्ले कृति समिक्षा, बिचार गोष्ठी, रचना बाचनलगायतका विविध कार्यक्रमहरु गर्न थालेको राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष दीपक शर्मा ‘समीर’ले जानकारी दिएका छन् । उनका अनुसार परिषदले जेठ २८ गतेदेखि असारको २५ गतेसम्म विविध कार्यक्रमहरु गर्न थालेको छ ।
जसअन्तर्गत परिषद्ले पहिलो कार्यक्रम अन्तर्गत यहि जेठ २८ गते परिषद्को १७७ औं श्रंखला अन्तर्गत कृति समिक्षा कार्यक्रम गर्न थालेको हो । त्यस्तै जेठ २९ गते कोभिड नियन्त्रणमा साहित्यकारहरुको भूमिका र सम्भावना विषयक विचार गोष्ठी गर्न थालेको अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी असार ५ गते समय र सिर्जना कार्यक्रम, असार ११ गते ६६ औं श्रंखलाअन्तर्गत एकल रचना बाचन कार्यक्रम, असार १२ गते परिषद् संवाद, असार १९ गते साहित्यमा प्रविधिको प्रभाव र चुनौति विषयक अन्तरक्रिया र असार २५ गते १७८ औं श्रृंखलाअन्तर्गत कृति समिक्षाको कार्यक्रम गर्न थालिएको परिषदले जानकारी दिएको छ ।