Goraksha

National Daily

अनियन्त्रित उत्खनन्मा जनमोर्चाको विरोध

गोरक्ष समाचारदाता
दाङ, २३ जेठ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले अनियन्त्रितरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन्ले गम्भीररुपमा वातावरणीय विनास भएको ठहर गर्दै यसलाई तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ ।

पार्टीको आइतवार भर्चुअल माध्यमबाट सम्पन्न पूर्ण बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकलाई केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली र पूर्ब केन्द्रीय सल्लाहकार सुरेश थापालगायतले सम्बोधन गरेका थिए ।

दाङ देउखुरीको राप्ती नदीबाट नदीजन्य पदार्थको अनियन्त्रित रुपमा उत्खनन् भएकाले बैठकले त्यसको बिरोध गरेको छ । बारम्बार प्रहरी र प्रशासनलाई भन्दा पनि त्यो कार्य नरोकिएको उल्लेख गर्दै त्यसका विरुद्धमा आम नागरिकको साथमा आन्दोलनलाई अगाडि बढाउँदै जाने र तत्काल उत्खनन् कार्य रोक्ने मागसहित सबै पालिकामा ज्ञापनपत्र बुझाउने निर्णय भएको पनि बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

अहिले कोभिड संकटका कारण सिङ्गो देश आक्रान्त बनेको, दाङ जिल्ला पनि धेरै संक्रमित हुने जिल्लामा रहेको, यसैका कारण निषेधाज्ञा लागू भएको पनि एक महिनाभन्दा बढी भएको, संक्रमितको राम्रो उपचार हुन नसकेको, कामबिहीन भएका मजदुरहरुको दैनिक खर्च चलाउन गारो भएको, अत्यावश्यक कामले सबारी साधन प्रयोग गरी यात्रा गर्नुपर्ने नागरिकलाई झन्झटिलो विधि अपनाएर सताउने काम भएको, तथा कन्ट्रयाक ट्रेसिङको काम नै नभएको ठहर गर्दै बैठकले पिसिआर परीक्षण आम नागरिकको पहुँचमा लैजानका लागि नागरिक अभियान चलाउने निर्णय गरेको छ ।

यसका लागि सबै कुरा सहज, सर्बसुलभ र निःशुल्क ब्यबस्था गर्न, संक्रमित र आम नागरिकमा डर–त्रासको बाताबरण भएको तथा कतिपय नागरिक भोकभोकै बस्नुपर्ने अबस्था आएकाले उपलब्ध भएसम्म स्वास्थ्यकर्मीसहित सहयोग र सहजीकरणको लागि प्रत्येक वडामा ३ देखि ५ जनासम्मको टोली संक्रमित, सम्भावित र बिपन्न नागरिकको घरघरमा पुग्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले ओली सरकारको असंवैधानिक, अधिनायकवादी र राष्ट्रघाती कदमको बिरोध गर्दै अहिले उक्त कदमका विरुद्ध आन्दोलनमा जाने अवस्था नभएकोले भर्जुअल माध्यमबाट ओली सरकारको असंवैधानिक, अधिनायकवादी तथा राष्ट्रघाती कदम र संयुक्त आन्दोलनको आवश्यकता विषयक अन्तक्र्रिया कार्यक्रम जेठ २६ गते गर्ने पनि निर्णय गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी कोभिड संक्रमितको स्वास्थ्यलाभ र मृतक सबैप्रति बैठकले श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गरेको छ ।