विजौरी आयुर्वेदको कोरोना किट

गोरक्ष समाचारदाता
बिजौरी, २२ जेठ । कोरोना भाइरसको नयाँ भेरियन्टसहित दोस्रो लहरको संक्रमण बढिरहेका बेला तुलसीपुर उपमहानगरपालिका बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले संक्रमितहरुका लागि कोरोना किट उपलव्ध गराउँदै आएको छ । विभिन्न जडिबुटीहरुबाट निर्मित औषधिहरुको प्याकेजसहित तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो हस्पिटलका बिरामीहरुलाई यी किटहरु सेवनका लागि उपलब्ध गराइएको प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीले जनाएको छ ।

‘कोरोना संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि यी औषधिहरुको किट उपलव्ध गराउँदै आएका छौं, संक्रमित भएर निको भएकाहरुलाई पनि यो किट उपलव्ध गराइएको छ’, चिकित्सालयका निमित्त निर्देशक डा. गोकर्ण दाहालले भने । प्रदेश सरकारको आर्थिक सहयोग प्राप्त केही रकमले यी औषधिहरु उपलव्ध गराइएको दाहालको अभिव्यक्ति थियो ।

उपलव्ध गराउँदै आएको कोरोना किटमा सुठो, लहरे गुर्जो, एष्ठमध तथा मरिच मिसाइएको धुलो, एलर्जीको खोकी तथा श्वासप्रश्वासमा हुने समस्या निराकरणका लागि कासारिन सिरप, इम्युनो केयर गोली, च्यावनप्राश र तुलसी चिया सहितको एउटा किट कोरोना संक्रमित बिरामीहरुलाई अस्पतालमै लगेर उपलव्ध गराउने डा. दाहालले बताएका छन् ।

बेलझुण्डीस्थित कोरोना अस्पतालका बिरामीलाई पनि सो किट उपलव्ध गराउने प्रयास भए पनि सबै बिरामीका लागि प्रयोग गर्न केही व्यवस्थापकीय समस्या भएको दाहालले बताएका छन् ।

अस्पतालले दैनिक स्वास्थ्य परीक्षणका लागि आउने सेवाग्राहीहरुका लागि पनि गुर्जोको धुलोलगायत केही रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधिहरु उपलव्ध गराउने गरेको छ । यसले पनि हाल अस्पतालमा आयुर्वेदिक औषधिको विश्वास बढिरहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।