कर्मकाण्डी अनुगमन, जफत र कारबाही शून्य

कोरोनाको महाव्याधिले भन्दा महंगीले आहत

खेमराज रिजाल÷बालाराम खड्का

दाङ, २२ जेठ । तुलसीपुर उपमहानगरपालिका–५ का स्थानीयबासी शरद गौतम त्यतिवेला जस्किए, जतिबेला उनी तुलसीपुरको एउटा हार्डवेयर पसलमा एक बोरा सिमेन्टको मूल्य बोरामै ५० रुपैयाँ बढिसकेको थियो । लकडाउन सुरु हुनुअघि साढे ५ सय प्रतिबोरामा पाइने सिमेन्टको मूल्य लकडाउन सुरु भएको एक सातामै प्रतिबोरा ५० रुपैयाँ महंगो ।

तुलसीपुरकै अर्का उपभोक्ता सुनिल शर्माले हरेक साता चिनी किन्न जाँदा प्रतिकिलो ५ रुपैयाँ महंगो भइरहेको अभिव्यक्ति दिए । ‘एक किलो चिनी खाइसक्दा मूल्य बढिसकेको हुन्छ, अर्थात हरेक साता मूल्यबृद्धि । लकडाउन सुरु हुनुअघि ८५ रुपैयाँ प्रतिकिलो पर्ने चिनीको मूल्य बिहीवार एक सय रुपैयाँ प्रतिकिलो पुगेको छ । रहरको दालको मूल्य लकडाउन सुरु हुनुअघिसम्म प्रतिकिलो १ सय ६० रुपैयाँ थियो तर अहिले प्रतिकिलो मूल्य २ सय रुपैयाँ पर्ने गरेको छ । सबैभन्दा अस्वाभाविकरुपमा मूल्य बृद्धि त दैनिक भान्सामा प्रयोग हुने खाने तेलमा । तोरीको तेलको मूल्य स्थानीय तेल मिलदेखि पसलमा रहेका पोकासम्ममा अस्वाभाविक रुपमा बृद्धि भएको छ ।

धानको उत्पादन राम्रो भएका कारण किसानले मूल्य नपाएको गुनासो गरिरहँदा बजारमा चामलको मूल्य हरेक साता प्रतिकिलो २ रुपैयाँका दरले बृद्धि भइरहेको छ । किसानहरुले उत्पादन गरेको उखुले हरेक बर्ष मूल्य पाउन नसकिरहेको गुनासो गर्दैगर्दा बजारमा भने चिनीको मुल्य हरेक बर्ष अस्वाभाविक रुपमा बृद्धि भइरहेको छ । दाङ जिल्लामै कम्तीमा आधा दर्जन सिमेन्ट कारखानाहरु रहेका छन् । अधिकांश कारखानाहरुले यहीकै स्थानीय चुनढुंगाबाट सिमेन्ट बनाइरहेका छन् तर लकडाउनको बहानामा प्रतिबोरा ५० रुपैयाँ मूल्य बृद्धि भइरहेको छ ।

महामारीको समयमा मास्क सेनीटाइजरलगायतका स्वास्थ्य सामग्रीहरुको मुल्य त व्यापारीको बोलीअनुसार निर्धारण हुन्छ । कुन सामग्रीको मूल्य कति हो भनेर न मास्कमा मूल्यको ट्याड लगाइएको हुन्छ, न सेनीटाइजरमा । नत पिपिई र अन्य स्वास्थ्य सामग्रीहरुमा । महामारी बढेसँगै सबैभन्दा चर्को मूल्यबद्धि भएको मानिसहरुको अक्सिजनको मात्रा नाप्ने अक्सिमिटरको मूल्य पनि अस्वाभाविक रुपमा बृद्धि भइरहेको छ ।

‘पहिले यही अक्सिमिटरलाई १५ सय रुपैयाँमा बिक्री गरिएको हो तर अहिले उतैबाट मूल्य बढेर आएको छ, एउटाको २९ सय रुपैयाँभन्दा सस्तोमा दिन सकिन्न’, तुलसीपुरका औषधि व्यवसायी गोपाल भट्टराईले गोरक्षलाई भने । होलसेल मूल्यमा भारी मूल्यबृद्धि नभएको अवस्थामा पनि सामान्य मास्कको मूल्य पनि खुद्रा व्यवसायीहरुले बृद्धि गरिरहेका छन् ।

एक महिना अघिसम्म १ सय रुपैयाँ प्रतिप्याकेट पर्ने मास्कको मूल्य अचेल २ सय ५० रुपैयाँसम्ममा औषधि व्यवसायीहरुले बिक्री गर्ने गरेका छन् । ५० पिस मास्क भएको सो प्याकेट खोलेर खुद्रा व्यवसायीहरुले भने प्रति मास्क दश रुपैयाँमा बिक्री गर्ने गरेका छन् । ग्लोब्सको त कृतिम अभाव देखाउँदै मूल्यबृद्धि हँुंदै आएको आम स्वास्थ्यकर्मी एवं सर्वसाधारण नागरिकहरुले बताएका छन् ।

त्यतिमात्र होइन एकदिनअघि किनेको सामान अर्को दिनपछि किन्दा भाउ बढिसकेको हुन्छ । ‘लकडाउनमा एक हप्ता पहिले सनमुन तेल प्रति ५ लिटर ११ सयमा किनेकी सुमन केसीले एक सातापछि आज १३ सय ५० मा किनेको बताइन् । त्यस्तै सोही तेल तिहार–दशैताका उनले ८ सयमा किनेकी थिइन् । त्यस्तै ग्यालिनमा १२ सय प्रिन्ट रेट लेखे पनि १३ सय ५०मा सलफलावर तेल किनेको उपभोक्ता बालकृष्ण खड्काले बताए । उनीजस्तै धेरैले एकाएक मूल्य बढेको भन्दै गुनासो गरे । त्यस्तै तेलमात्र होइन दालमा पनि मूल्य वृद्धि भएको छ ।

व्यापारीहरुको एउटै जवाफ हुन्छ, उतैबाट बढेर आएको हो । उतै किन बढ्यो भनेर नियमन गर्ने निकायहरु कर्मकाण्डी अनुगमनमा व्यस्त छन् । अनुगमनका क्रममा न मूल्यबृद्धिको कारण सोधिन्छ, नत मूल्य ट्यागका विषयमा बहस हुन्छ । म्याद नाघेका उपभोग्य सामग्री प्रमाणित भएमा मात्र फेरि दोहोरिएमा कारबाहीको चेतावनीसहितको मुचुल्का उठाउनेबाहेक कुनै सिन्को भाँच्न सकिरहेका छैनन्, स्थानिय निकायका उपभोक्ता हित शाखाका अधिकारीहरु । दैनिक उपभोग्य सामानमा उपभोक्ता मूल्य, उत्पादन मिति र उपभोग मिति मात्रै नबुभिने हुन्छन् । प्याकेटमा उल्लेखित अन्य अक्षरहरु भने सबै स्पष्टरुपमा देखिन्छन् ।

सिमेन्टको मूल्यबृद्धि किन भएको भन्ने जिज्ञासामा सोनापुर मिनरल्स एण्ड आयल्सका सिइओ हरि पाठक भन्छन्– ‘लकडाउनका कारण अन्यत्रबाट आयात हुने कच्चा पदार्थको मूल्यबृद्धिका कारण सिमेन्टको मूल्य बढाइएको हो, अब केही दिनमै फेरि मूल्य घटाइने छ ।’ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण दिनानुदिन बढ्दै गएको बेला दैनिक उपभोग्य वस्तुको मूल्य बढिरहँदा आम उपभोक्ताहरुले महामारीको भन्दा महंगीले आफूहरु आहत भएको बताउन थालेका छन् । सरकारले भने बजार मूल्य नियन्त्रणका कदम उठाउनुको साटो साल्ट ट्रेडिङ कर्पोरेशनले अनलाइन बुकिङ गरे दैनिक उपभोग्य सामग्री घरघरमै पु¥याइदिने ढ्यांग्रो ठोकिरहेको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले कोभिड–१९ को संक्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लामा आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृतिम मूल्यवृद्धि गरेको स्थानीयहरु बताउँछन् । व्यवसायीहरुले भने आफूहरुलाई कम्पनी तथा डिलरबाटै महंगो खरिद परेकाले मूल्यवृद्धि भएको बताएका छन् । ‘अहिले धेरैभन्दा धेरै मूल्य तेलमा बढेको छ, खरिद मूल्य नै बढी भएपछि हामीहरुले त्यहीअनुसार बिक्री गर्ने गरेका छौं’, व्यवसायी सुन्दर केसीले भने । कोरोना भाइरसबाट संक्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजारभाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दिनभरको कमाइले साँझ बिहान हातमुख जोड्ने सर्वसाधारण कृतिम मूल्यवृद्धिबाट सबैभन्दा बढी मारमा परेको स्थानीयहरु बताउँछन् ।

थोक व्यापारीहरुले नै सामानको मूल्य बढाएपछि बाध्य भएर आफूहरुले पनि मूल्य बढाएको साना तथा खुद्रा व्यापारीले बताएका छन् । बजारमा अहिले खाने तेल, दाल, चना, चिनीदेखि प्याकिङ गरिएका खाद्य वस्तुहरुमा मूल्यवृद्धि भएको छ । त्यस्तै निर्माण सामग्रीमा पनि त्यतिकै मूल्यवृद्धि भएको छ । सिमेन्टमा प्रतिबोरा ४० र छडमा प्रतिकिलो १० रुपैयाँको दरले बढेको छ । अन्य बस्तुमा मूल्य पनि त्यतिकै मात्रामा बढेको सर्वधारणहरु बताउँछन् । व्यवसायी प्रनव खड्काले सिमेन्ट, छडमा मूल्यबृद्धि भएको बताए । उनले लकडाउनका कारण भारतबाट कच्चा पदार्थ नआएको कारण देखाउँदै कम्पनीबाटै मूल्यवृद्धि भएको बताए । थोक बिक्रेताले सबैखाले वस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीहरुको भनाइ छ । निषेधाज्ञाका बेला पनि सरकारले खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै रोक लगाएको छैन् । तर सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ ।

यसरी अस्वाभाविकरूपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि भएको देख्दादेख्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा निषेधाज्ञाले गर्दा रोजगारी गुमाएका सर्वसाधारण विपन्न र अन्य वर्ग महंगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीयवासी कमला वलीले बताइन् । ‘हामी साँझ–विहान ज्याला मजदुरी गरी खानेलाई समस्या भएको छ, बजारमा मूल्य बढेको बढ्यै छ’, उनले भनिन् । त्यस्तै सर्वसाधारणहरुले सरकारले यसतर्फ कुनै चासो नदिएको गुनासो गर्ने गरेका छन् ।

स्थानीय सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महंगी नियन्त्रण गर्ने, कारबाही गर्ने र सङ्कटको बेला अत्यावश्यक वस्तुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहे पनि सो अनुसारको काम गर्न स्थानीय सरकारले तादरुकता देखाएका छैनन् । त्यस्तै बजार अनुगमनमा आउनेले पनि अन्य कुरामा ध्यान दिने र मूल्यवृद्धिको विषयमा कुनै चासो नदिने गरेको सार्वधारणहरु बताउँछन् ।

यसैबीच बजारमा उपभोग्य बस्तुको मूल्य बढेको गुनासो आएपछि तुलसीपुर बजार अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माको नेतृत्वमा बजारका पाँचवटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा उपभोग्य वस्तुको उत्पादन र म्याद नाघ्ने, मिति, बजार मूल्य, उपभोग्य वस्तु खरिद गरेको बिल, अनुमतिपत्र, नवीकरणलगायतका आवश्यक कागजातसमेतको चेकजाँच गरिएको थियो । सो अवसरमा कम्पनीबाट नै मूल्यवृद्धि भएर आएका कारण बजारमा मूल्य बढेकाले सम्बन्धित निकायमा बुझ्ने अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।

अनुगमनका क्रममा सन्तोषजनक अवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष केशवकुमार शर्माले जानकारी दिए । अनुगमनका क्रममा वाणिज्य संघका पदाधिकारी, सुरक्षाकर्मी, उपभोक्ता हित संरक्षणका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् । त्यसैगरी घोराहीमा पनि मूल्यबृद्धिको गुनासोसँगै स्थानीय सरकार र स्थानिय प्रशासन तथा सञ्चारकर्मी र उपभोक्ता अधिकारकर्मीहरुको टोलिले बजार अनुगमन थालेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।