कोरोनासँगै आयुर्वेद औषधिको प्रयोग बढ्दो

गोरक्ष समाचारदाता

तुलसीपुर, २१ जेठ । पछिल्नो समय जिल्लामा आयुर्वेदिक औषधिको प्रयोग बढेको छ । विशेषगरी कोरोना महामारी सुरु भएसँगै आयुर्वेदिक औषधितर्फ नागरिकको आकर्षण बढेको हो । कोरोना संक्रमणबाट बच्न तथा यसको रोकथाम र नियन्त्रणका लागि आयुर्वेदिक औषधि उपयुक्त भएको भन्दै नागरिकहरुको आयुर्वेद चिकित्सा सेवाप्रति पछिल्नो समय चासो बढेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त प्रमुख डा। गोकर्ण दाहालले बताएका छन् ।

बिगतमा पनि आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको विश्वास रहेको भन्दै उनले पछिल्नो समय महामारी सुरु भएसँगै यसको महत्व अझ बढेको बताए । जसले गर्दा अस्पतालमा दिनहुँजसो नागरिकहरु रोगसँग लड्न तथा रोग प्रतिरक्षात्मक क्षमता बढाउने खालका आयुर्वेद औषधि लिन आउने गरेको उनले बताए । उनले विशेषगरी कोरोना संक्रमित भएका र कोरोना संक्रमणको जोखिम भएका नागरिकलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधिहरु निःशुल्करुपमा दिने गरेको बताए ।

लुम्बिनी प्रदेश सरकारकै निर्देशनअनुसार कोरोना प्रभावित नागरिक तथा संक्रमणको जोखिम भएका नागरिकलाई निःशुल्करुपमा औषधि उपलब्ध गराइएको डाक्टर दाहालले बताए । साथै उनले कोरोना प्रभावितहरुका लागि अहिले अस्पतालबाट चार थरीको आयुर्वेद औषधि वितरण भइरहेको र औषधिहरु चिकित्सकको सल्लाह र परामर्शअनुसार मात्रै सेवन गर्न सकिने बताएका छन् । कसैले प्रयोग गरेको आधारमा जथाभावी रुपमा आयुर्वेद औषधि प्रयोग नगर्न पनि उनले आग्रह गरेका छन् । डा. दाहालका अनुसार पाँच थरीको जडिबुटीबाट तयार पारिएको औषधिहरु दिने गरिएको छ । जस्तै अदुवाको सुटो, मरिच, पिपला, जेठी मधु र गुडाचीको मिश्रणबाट आयुर्वेदिक औषधि तयार पारिएको औषधिहरु सेवाग्राहीलाई दिने गरेको उनको बताए ।

यसैगरी अन्य विभिन्न किसिमका औषधि पनि वितरण गर्दै आएको उनले बताएका छन् । यसरी नै आयुर्वेद चिकित्सा पद्धतिहरु प्राकृतिक जडिबुटीबाट निर्मित हुने भएकाले मानव स्वास्थ्यका लागि फाइदाजनक र स्वास्थ्य उपचारमा समेत तुलनात्मक रुपमा बढी प्रभावकारी मानिएको उनले बताएका छन् । त्यसैगरी कयौँ जडिबुटी गाउँघरमै पाइने भएकाले प्रयोग गर्न पनि सहज भएकाले अब बिस्तारै नागरिकहरुको आयुर्वेद चिकित्सातर्फ आर्कषण र महत्व बढ्दै गएको दावी गरे ।
एक महिनामा अढाइसयले सेवा लिए

यसैबीच झन्डै एक महिनाको अवधिमा अढाई सय बढी मानिसले आयुर्वेद चिकित्सा सेवा लिएको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले जानकारी दिएको छ । चिकित्सालयका निमित्त प्रमुख डा। दाहालका अनुसार गएको बैशाख १ गतेदेखि जेठ १० गतेसम्मको अद्यावधिक विवरणमा २ सय ७० जनाले आयुर्वेद सेवा लिएका छन् ।

विशेषगरी कोरोना संक्रमित बिरामीहरुको रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धिका लागि मेट्रो अस्पतालमा १ सय ३६ लाई निःशुल्करुपमा आयुर्वेदिक औषधि वितरण गरिएको उनले जानकारी दिए । यस्तैगरी आयुर्वेद चिकित्सालयबाट कोरोना संक्रमण रोगथाम तथा नियन्त्रणका लागि सेवा लिन आएका १ सय ३४ जनालाई औषधि निःशुल्क उपलब्ध गराइएको उनले बताए । उनका अनुसार चिकित्सालयमा दैनिक २० देखि ३० जना सेवाग्राहीहरुले सेवा लिन आउने गरेका छन् ।