अमरराज आचार्य
दाङ, २१ जेठ । चालु आर्थिक वर्ष सकिन अब झण्डै डेढ महिना बाँकी छ । एकातिर चालु आर्थिक वर्ष सकिँदै छ भने अर्कोतिर कोरानाको कारण जिल्ला लकडाउनमा छ तर पनि जिल्लाका स्थानीय पालिकाहरुले चालु आवमा विनियोजन गरेका योजनाको काम चालु नै राखेको भन्दै लक्ष्यअनुसार योजनाहरुको काम गर्न सकिएको बताएका छन् । उपभोक्ताहरु समयमा नै योजना लिन आएको कारण लक्ष्यअनुसार काम गर्न सकिएको स्थानीय तहहरु बताए ।
चालु आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकामा नगरस्तरीय करिब ३ सय वटा योजना रहेका थिए । जसमा हालसम्म २ सय ८० वटा सम्झौता भैसकेको र करिब १ सय ३० वटा योजनाको भुक्तानीसमेत भइसकेको तुलसीपुर उपमहानगरपालिका योजना शाखाका अधिकृत अन्नतकुमार गौतमले बताए । केही योजनाहरु सम्पन्न भए पनि भुक्तानी हुन नसकेको उनको भनाइ छ । सम्झौता भएका योजनाहरु प्रक्रियामा रहेको गौतम बताउँछन् । ‘धेरै योजनाहरु बैशाखसम्म सकिने थिए तर कोभिडको कारण ढिला भएको छ’, गौतमले भने– ‘कोभिड–१९ तथा पछिल्ला दिनमा वर्षातको कारणले पनि ढिला भएको छ ।’
अहिले स्वास्थ्य तथा प्राथमिकताका योजनाका काम सञ्चालन भए रहेको उनी बताउँछन् । ‘स्वास्थ्य मापदण्ड अपनाएर योजनाहरु अगाडि बढिरहेका छन्’, उनले भने– ‘पछिल्लो समयमा उपभोक्ताहरु जागरुक भएका कारण योजनाहरु लिन समयमा आएका छन् ।’ उपभोक्ता समितिमार्फत हुने योजनाहरु लिन आफै आएको उनको भनाइ रहेको छ । ‘उपभोक्ताहरुलाई योजना लिन आउ भनेर भन्नुपरेन’, उनले भने– ‘त्यसकारण पनि समयमा काम गर्न सहज भएको छ ।’
राप्ती गाउँपालिकाले योजनाका कामहरु पनि लक्ष्यअनुसार भएको जनाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा करिब २ सय ५० योजना रहेका थिए । जसमध्ये १ सय ८१ वटा सम्झौता भइसकेको र १ सय वटा योजना सम्पन्न भइसकेको गाउँपालिकाका योजना शाखाका अधिकृत विकास ज्ञवालीले बताए । केही योजनाहरु सम्पन्न भए पनि भुक्तानी भइनसकेको उनले बताए । ‘योजनाका कामहरु लक्ष्यअनुसारको नै रहेको छ’, उनले भने– ‘अहिले साना योजनाहरु सम्पन्न भइसकेका छन् भने ठूला योजनाहरु सम्पन्न हुन केही समय पर्खनुपर्छ ।’
सञ्चालनमा रहेका योजनाहरु समयमा नै सम्पन्न गर्नका लागि आग्रह गरिँदै आएको ज्ञवाली बताउँछन् । अहिले कोभिडको कारण रोकिएका योजनाहरु स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न भनिएको उनले बताए । गाउँपालिकाले समयमा नै योजना सम्पन्न गर्नका लागि अगाडि बढेको जनाएको छ । वडा कार्यालयहरुलाई के कति योजनाहरु कार्यान्वयन गर्न सकिन्छ ? के कति सकिँदैन ? भनेर लिखितरुपमा माग गरिएको उनले बताए । ‘सुरुका दिनमा ढुंगा, गिटी, बालुवाका कारण तथा पछिल्लो समयमा कोभिड–१९ को संक्रमण रोक्नका लागि गरिएको लकडाउनको कारणले केही समस्या भएको हो’, उनले भने ।
उता, बबई गाउँपालिकाको चालु आर्थिक वर्षमा साना ठूला योजना गरेर करिब २ सय ७० योजना रहेको थिए । जसमा २ सय ५० वटा सम्झौता भैसकेका र तीमध्ये १ सय १० वटा योजना सम्पन्न भइसकेको गाउँपालिकाका योजना शाखा प्रमुख तिलकबहादुर खत्रीले बताए । ‘कोभिडको कारण सम्पन्न भएका योजनाहरुको भुक्तानी लिनसमेत आउनु भएको छैन्’, उनले भने । गाउँपालिकामा रहेका साना योजना सम्पन्न भइसके पनि ठूला योजनाहरु सञ्चालनमा रहेको उनको भनाइ छ । कोभिडका कारण योजनाहरु कार्यान्वयनमा केही समस्या देखिएको उनी बताउँछन् ।
सम्झौता भएका योजनाहरु पूर्वाधारका धेरै रहेको र लक्षित वर्गको कार्यक्रम कम सम्झौता भएका छन् । ‘लक्षित समुदायका कार्यक्रम पछि गरौँला भनिएको थियो त्यसैले अहिले सम्झौता हुन नसकेका हुन्’, उनले भने । त्यसैगरेर अन्य पालिकामा पनि यस्तै अवस्था भएको पालिकाहरुले जनाएका छन् । विशेष गरेर राजपुर, दंगीशरण, गढवा, शान्तिनगर र लमही नगरपालिकामा अन्य पालिकाको संख्यामा कम योजना सम्पन्न भएका छन् । तर ती पालिकाहरुले पनि अपेक्षाअनुरुप नै योजना सक्ने दाबी गरेका छन् । जिल्लामा दशवटा पालिका छन् । घोराही र तुलसीपुर उपमहानगरपालिका छन् ।
त्यसैगरेर लमही नगरपालिका र सात वटा गाउँपालिका छन् । गाउँपालिकामा राप्ती, गढवा, राजपुर, बंगलाचुली, शान्तिनगर, बबई र दंगीशरण छन् । पालिकाहरुले नयाँ आर्थिक वर्षको लागि योजना समेत बनाउँदैछन् । असार १० गते पालिकाहरुले नीति र बजेट ल्याउनुपर्ने प्रावधान छ । सो प्रावधानअनुसार जिल्लाका पालिकाहरु नयाँ आर्थिक वर्षको लागि योजना बनाउन व्यस्तसमेत छन् ।