भोलाप्रसाद डाँगी
चितवन राष्ट्रिय निकुञ्जको सत्तामा बसेर ‘बृक्षधर–बाध’, ‘सुर्यधर–हात्ती’, ‘घनधर–चितुवा’, छत्रीधर–गैँडा’, ‘हलधर–अजिङ्गर’हरुले घाँस र स–साना बोटविरूवाबाट तयार भएका परिकारहरु खाई, निकुञ्जको नर्सरीमा घाँस र स–साना बोटविरूवाहरुको अथक मिहिनेत र परिश्रमको गोडमेलबाट हुर्काई–बढाई फक्रिएको अति सुन्दर अनि सुगन्धित विधि फूलको सयपत्रि छर्किएर मुलायम अनि मखमली भएको बाटोमा यात्रिँदै चितल, हरिण, जरायो र खरायोजस्ता जनावरहरुलाई पालैपालो शासन गर्थे ।
लामो समयसम्म वृक्षधर–बाघहरुले एक्लै शासन सत्ता चलाएको सुर्यधर–हात्ती र घनधर–चितुवाहरुलाई मन परेको थिएन । यसपटक चितुवाहरुको समर्थनमा चितवन राष्ट्रिय निकुञ्जको शासन सत्ताको बागडोर सुर्यधर मत्ता हात्तीको हातमा आइप¥यो । त्यसै त मत्ताहात्ती निकै छुद्र र मापाको थियो, त्यसमाथि सत्ताको मात । उक्त मत्ता हात्तीले बथानका राम्री–राम्री ढोई र हात्तीहरुलाई आफ्नो वसमा पा¥यो । आफूलाई अति मनपरेकी एउटी ढोईलाई चितवन राष्ट्रिय निकुञ्जको श्रीसम्पत्ति अनि पुर्जा राखिएको ढुकूटीको हालीमुहाली गर्ने भण्डारेको जिम्मा दियो ।
निकुञ्जको सम्पत्ति आफ्ना आसेपासे, छावालाई बाँडेको, वायु गाडी किन्दा ढुकूटी हिनामिना गरेको देखेर बाघहरुले विरोधको डुक्राई मात्र के गरेका थिए, मत्ता हात्तीले आफूले पालेर राखेको मौरी, भेरी अनि अरिङ्गालको गोलो नै बाघहरुमाथि छोडिदियो । आँखा र कानमा छिर्न खोज्ने र चिल्न खोज्ने अरिङ्गाल र मौरीहरुबाट बच्न बाघहरुलाई छेउमै बगिरहेको राप्ती नदीमा हामफाल्नु प¥यो । मत्ता हात्तीले ‘अरुले बोले कि पोलिहाल्ने’ नीति लिएर निरंकुश शासन चलाइरहेको थियो ।
यता आफ्नो दायाँ काँधमा मत्ता हात्तीको पाउ राख्न दिएर निकुञ्जको सत्ताको अग्लो आशनमा बसाएको चितुवाको काँध नै तल दबेको थियो । चितुवाले आफूलाई झन होचो भएको महशुस गर्दैथ्यो । सत्तासीन हुन सहयोग गरेकोमा खुशी हुँदै मत्ताहात्तीले चितुवाका डमरुहरुलाई कसैलाई निकुञ्जको पिउने पानी र पानीघट्ट व्यवस्थाको मुखिया ‘घट्टे’ त कसैलाई जनावरहरुको लडाइँ भिडाई व्यवस्था ‘मुखिया सुरक्ष’ त कसैलाई ‘छाते’ बनाइदिएको थियो ।
मत्ताहात्तीले सत्ता त कब्जा गरेकै थियो । त्यसमाथि वथानका सुन्दर–सुन्दर ढोईहरु मात्र नभएर सम्पूर्ण बथान नै कब्जा गरेको, यस अघि चितवन राष्ट्रिय निकुञ्जको सत्ता सम्हालिसकेका दुई जना वरिष्ठ हात्तीहरुलाई मन परेको थिएन । त्यसैले ती दुई हात्तीले केही ढोईहरु र छावाहरुलाई साथमा लिएर मत्ताहात्तीसँग बथान कब्जाका विरोधको कुरा गर्न गए । सत्ता रसमा चुर्लम्म डुबेर रंगिरहेको मत्ता हात्तीलाई आफ्नो कर्मको विरोधको चर्को कुरा गरेर ‘रंगमा भङ्ग’ गरेको मन पर्ने कुरा थिएन । त्यसैले मत्ताहात्ती, ढोई र उनका छावाहरले विरोध गरिरहेका हात्तीहरुलाई दाराले घोँचेर, सुँढले घिसारेर समूहबाट अलग गरिदिए ।
मत्ताहात्तीलाई सत्ता आशनमा बसाउँदा आफ्नो काँध दबे पनि हात्तीको बथान र चितुवाको समूहलाई घुलमिल गराएर आफू मुखिया बन्ने र अर्कोपटक सत्ताको रक पिउने सोच बनाएको घनधर चितुवालाई सत्तासँगै बथानमा पनि मत्ताहात्तीको कब्जाले खिन्न र आक्रोषित बनायो । विरोधी हत्तीहरुलाई साथमा लिएर चितुवाको समूहले अरु साथीहरुलाई तीर्ण बराबर पनि नसम्झने आफूलाई मात्र सर्वज्ञानी राउन्ने सम्झने मत्ताहात्तीको बानीको विरोध गर्न थाल्छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा नभएको तर छिमेकी निकुञ्जमा पाइने विशेष प्रकारको बुटी घाँस खान नपाउँदा हरिण, चित्तल, जरायो अनि खरायो जस्ता जनावरहरु धमाधम विरामी हुने र बुढा अनि कमजोर जनावरहरु उचित उपचारको व्यवस्था र प्राणवायुको अभावमा मृत्यु वरण गर्न वाध्य भइरहेका हुन्छन् । छिमेकी निकुञ्जबाट बसाई सरेर आएका जानावरहरुबाट फैलिएको यो समस्याले विकराल रुप धारण गर्दै गर्दा पनि आफू र आफ्ना ढोई अनि छावा र आसेपासेहरुको सुखसुविधा बृद्धि गर्न निकुञ्जको ढुकूटी रित्याइरहेको अव्यावहारिक मत्ताहात्तीले समस्या समाधानमा खासै चासो देखाएको देखिँदैनथ्यो । उल्टै समस्या समाधान गर्ने उपचार सामग्री र ठाउँको व्यवस्थापानको नाममा आफ्ना छावाहरु र आसेपासेलाई पूरै ब्रह्मलुट गर्ने छुट दिएको थियो ।
निकुञ्जको पुरै ढुकूटी रित्तिँदा पनि यथोचित उपचारको व्यवस्था भने ‘हात्ती आयो–हात्ती आयो फुस्सा’ भनेझैँ स्थितिमा र रोग भयावह बन्दै गएको अवस्थामा बाघहरु भ्रष्ट नीतिको विरोधमा गर्जिरहेका थिए । छिमेकी निकुञ्जबाट बुटी घाँस ल्याउन र उपचारको पुरापुर व्यवस्था मिलाउन माग गरिरहेका थिए ।
केही आक्रोशित र पीडित हरिण, चित्तल, जरायो र खरायोहरुको समूहले उत्तर–पश्चिमको अर्जुनडाँडोको नाग गुफामा पु¥याइएको पूर्व शासक सिंहलाई पुकार्दै ‘सिंह आउ, निकुञ्ज बचाउ’ भन्दै यताउति कुद्दै, पूर्व–पश्चिम दौडिरहेका पनि देखिन्थे । आफ्नो गुफाबाट पीडाले आक्रान्त भई आर्तनाद गरिरहेका चित्तल, हरिण, जरायो र खरायोहरुको पुकार सुन्दा र देख्दा सिंह करुणाले आफ्नो आँखा टिल्पिलाउँदै नाग गुफामा छटपटाइरहेका देखिन्थे ।
झेली वचन र समीकरणको दुहाई दिँदै सत्ता सञ्चालनको अधिकार आफूलाई सुम्पनुपर्ने माग राखदै विरोधी हात्तीहरुलाई साथमा लिएर घनधर–चितुवाले मत्ताहात्तीलाई अनैतिक, भ्रष्ट, पतित, अराजनीतिक, जस्ता थुप्रै आरोप लगाएर साथ छोडेपछि सत्ता मोहमा अन्धो भई विवेक गुमाएको आक्रोषित कपटी मत्ताहात्तीले सुगन्धित र सुन्दर विधि फूललाई पाउ मुनि कुल्चेर निकुञ्जको नर्सरीका सारा घाँस र स–साना बोटविरुवाहरु उखेलेर निकुञ्जको ढुकूटीको जिम्मा लिएकी ढोई हात्ती समेत साथमा लिई राप्ती नदीमा बगाइदिन्छन् ।
मत्ताहात्ती त आफूलाई चाहिनेभन्दा बढी बुद्धिमान सम्झने, कम दिमाग भएको, बाईसतले, बटकर अनि छुच्चो स्वभावको थियो तर निकुञ्जको ढुकूटीको जिम्मा पाएकी ढोई हात्तीले आत्मघाती र निकुञ्जघाती काममा साथ नदिनुपथ्र्यो भन्दै सर्वत्र धिक्कार र विरोध भयो । बाघ, चितुवा, गौंडा र विरोधी हात्तीहरुलगायत हरिण र जरायोहरुले उखेलेर बगाइएका एक–एक घाँस र स–साना बोटविरूवाहरुलाई निकुञ्जको नर्सरीमा पुनः लगाए ।
नकचरो मत्ताहात्तीलाई अब पनि सत्तामा बस्न दिइरहने हो भने निकुञ्जको घाँस र स–साना बोटविरूवा मात्र नभई मत्ताहात्ती र ढोई हात्तीको मिलेमतोमा सिङ्गै निकुञ्जको ढुकूटीको चावी पनि राप्ती नदीबाट दक्षिण–पश्चिमतिर बगाउँछन् कि भन्ने सर्वत्र चिन्ता र चासो हुन थाल्यो । ‘मुखमा राम राम बगलीमा छुरा’ भनेझैँ मुखले निकुञ्जवादको ओइरो तर व्यवहारमा निकुञ्जघातको धुइरो लगाइरहेको मत्ताहात्तीको निकुञ्जभरि आलोचना भइरहेको थियो ।
निकुञ्जमा यति ठूलो प्रकृतिघाती, पशुपक्षीघाती काम भइरहँदा पनि आफूलाई प्रकृतिप्रेमी भन्ने, सबैभन्दा ठूलो पशुअधिकारवादी भनी कहलिएका छिमेकी अनि मित्र निकुञ्जहरुबाट यति ठूलो घटनामा चुइँक्क एक शब्द पनि नबोल्दा भने अनिष्टको गन्ध आइरहेको थियो ।गलत जन्तुलाई समर्थन गरी सत्तामा पु¥याएकोमा चितुवालाई पछुतो भइरहेको थियो । चितुवाको समूह, विरोधी हात्तीहरु अनि गैंडाको आधा समूहले बृक्षधर–बाधको मुखियालाई चितवन राष्ट्रिय निकुञ्जको सत्ताको आसनमा बस्न आग्रह गर्दै बाघ गुफामा पुगि समर्थन जनाए ।
जति जालझेल, प्रपञ्च गरे पनि अब निकुञ्जको सत्तामा बस्न नपाउने पक्कापक्की भएपछि फेरि मत्ताहात्ती र निकुञ्जको ढुकूटी सम्हालेकी ढोई हात्तीको मिलेमतोमा अर्को कपटपूर्ण अत्यन्त निकुञ्जघाती निर्णय गरी रातारात नर्सरीका घाँस र स–साना बोटविरुवा उखेली बगाउन जान लागेको पत्तो पाएर बाघ, चितुवा, विरोधीहात्ती र आधा गैंडाहरुको समूहले मत्ताहात्तीहरुको बाटो छेकी निकुञ्ज विरोधी कदम नचाल्न चेतावनी दिन्छन् ।
चेतावनीको बेवास्ता गर्दै बाघहरुलाई दाराले घोँच्दै अगाडि बढ्न थालेपछि आक्रोशित बनेको बाघले यी घाँस र स–साना बोटविरूवाहरु निकुञ्जको सत्ता र व्यवस्थाको आधार भएकाले यिनीहरुको स्थान नर्सरी हो भन्दै मत्ताहात्तीबाट बोटविरूवा खोस्दै मत्ताहात्तीको दायाँ कञ्चटमा दायाँ पञ्जाको दह्रिलो झापड हिर्काउँछ । त्यसै बेला चितुवाले वायाँ कञ्चटमा हिर्काउँछ भने, विरोधी हात्ती र गैंडाले पछाडिबाट खुट्टा उठाइदिँदा मत्ताहात्ती चौरङ्ग उत्तानो परेर भूइँमा पल्टन्छ । मत्ताहात्तीको हार भएको देखेर त्यससँग आएका अरु हात्तीहरु जंगलमा तितरवितर भए ।
चितुवा, गैंडा तथा केही हात्तीहरुको समर्थनमा निकुञ्जको सत्ताको आशनमा बाघको राज सुरु हुन्छ । उखेलिएका घाँस र स–साना बोटविरुवाहरुलाई नर्सरीमा रोपेपछि निकुञ्जमा फैलिरहेको विमारीबाट बच्न सहयोग गर्ने विशेष बुटी घाँस ल्याउन बाघले विशेष दूत बनाएर चितुवालाई उत्तरी छिमेकी निकुञ्जमा पठाउँछ । निकुञ्जका जनावरहरुले पालैपालो बुटि घाँस खाइरहेका छन् । थोरै भए पनि जनावरहरुले राहत अनुभव गरिरहेका छन् । घाँसे मैदानमा लहलह घाँस पलाइरहेको छ । मृगका सावकहरु उफ्रि–उफ्रि खेलिरहेको दृष्यले मनै पुलकित बनाउँछ ।
चितुवाहरु पनि आफ्ना डमरुहरु हुर्काउन र निकुञ्जभरि फैलाउन व्यस्त छन् । हात्तीहरु पनि नयाँ जोशिलो र बुद्धिमान युवा मत्ता हात्तीको नेतृत्वमा सम्पूर्ण बथान एकतृत भइरहेका छन् । दक्षिणको सिमसार फाँटमा गैंडाहरुको बथान हिलौरी खेल्दै सँगसँगै चरिरहेका देखिन्छन् । तर सँगसँगै चरिरहेका गैंडाहरु पनि केही गैंडाहरु उत्तरतिर फर्केर त केही गैंडाहरु दक्षिणतिर फर्केर चरिरहेका छन् ।
सिंहको अर्जुन डाँडाको नाग गुफामा बास र बाघ, हात्ती, चितुवा र गैंडाहरुको निकुञ्जको सत्तामा हालिमुहालीसँगै चीसो ठाउँमा मात्र बस्न रुचाउने सेतो र खैरो रँगको भालुहरु उष्णयुक्त चितवन राष्ट्रिय निकुञ्जमा आइसकेका थिए । ठूला–ठूला झोला बोकेका सेता र खैरा भालुले, झोलाभरि मीठा–मीठा फलफूल, चक्लेट, ललिपप, अनि विशेष बुटीघाँस पनि बोका थिए ।
उनीहरले भनेको मान्ने, दीर्घरोगी जनावरलाई बुटिघाँस खुवाएर बिमारी ठिक गर्ने र उपदेश दिँदै अफिम फल पनि खुवाउँथे । विमारी ठिक गर्ने वहानामा अफिम फल खुवाइरहेका यस्ता सेता र खैरा भालुहरुसँग केही जनावरले ललिपपको लोभमा त केही जनावरहरुले मीठा–मीठा फलफूलको लोभमा अफिम फल खान्थे र उपदेश लिन्थे । विस्तारै विस्तारै लतमा परेका धेरै जनावरहरुले आफ्नो चालचलन नै परिवर्तन गरिसकेका थिए । कतिपय हरिणले त नाम नै परिवर्तन गरी ‘डियर’ र खरायोले ‘हियर’ नाम राखिसकेका थिए ।
टाढाबाट हेर्दा त निकुञ्ज शान्त नै देखिन्थ्यो । तर हरियो घाँसे मैदानमा चरिरहेका हरिण, चित्तल, जरायो र खरायोहरुको नजिक गएर नियाल्दा प्रत्येक जनावरहरुको काँधमा सातवटा स–साना कुम्ला (भारी) बाँधिरहेको देखिन्थ्यो । बाघ, हात्ती, चितुवा र गैंडाहरुले आफू र आफ्ना डमरु, छावा तथा केटाकेटीहरुलाई माथिदेखि तलसम्म सबैलाई शिकार गर्न सजिलो हुन्छ, कोही पनि भोको बस्नु पर्दैन भनेर प्रत्येक जनावरको काँधमा सात–सातवटा भारी जवर्जस्ती झुण्ड्याइएको रहेछ ।
आफूले नखोजेको सातवटा भारी बोक्न परेर हो कि आफूले नचाहेको खैरो भालुबाट अर्तिउपदेश सुन्न परिरहेकाले हो हरिण, चित्तल, जरायो र खरायोहरुको आँखमा उनीहरुको छातिमा दन्किरहेको आक्रोशको ज्वाला स्पष्ट देखिन्थ्यो । नाकको प्वाँराबाट निस्केको तातो हावाले पोलेर नजिक बस्न पनि कठिन हुन्थ्यो । मानौ ती हरियो घाँस चरिरहेका जनावर होइनन् ती त सुर्यको प्रचण्ड गर्मीमा राँपिएर लाल हतौडाले थिचिँदा–थिचिँदा धुजा–धुजा बनाइएका लोहारको धौकनी फुकेर जल्नलाई ठिक्क पारेका भट्टीका कोइला हुन् ।
सातवटा भारीको बोझले थिचिँदा खुरको कापबाट निस्केको त्यो रगत होइन त्यो त ज्वालामुखी विष्फोर्ट हुँदा निस्केको तातो लावा हो । मानौँ ती जनावर होइनन् ती त लमतन्न फैलिएको खर बारीको बारम्बार हँसियाले जर्वजस्ती काटेर थुपारेका सुकेका खर हुन् । जो सिर्फ एक झिल्को आगोको प्रतीक्षामा आफैलाई घाममा राँपिरहेछन्, झन–झन सुकिरहेछन् । कहीँबाट एक झिल्को आगो आयो कि सारा निकुञ्ज फेरि एउटा आगोको मुस्लो बन्ने छ अनि सबै खरानी, खरानी ! यी भुरेटाकुरे निरोहरुको न रहन्छ बाँस न बज्छ बाँसुरी ।