बाहना कोरोनाको : पत्रेखोला पुल कहिले बन्ला ?, कोरोना सकिएपछि…….

खेमराज रिजाल

दाङ, २० जेठ । ‘पुल कहिले बन्ला ? कोरोना सकिएपछि । कोरोना कहिले सकिएला ? खोलामा पुल बनेपछि ।’ घोराही—तुलसीपुर सडकखण्डको पत्रेखोला पुलछेउमा मोटरसाइकलमा अडिएका दुई युवाहरुको भलाकुसारी थियो, यो । त्यसो त पत्रेखोलामा पिल्लर ठड्याएको करिब ६ बर्षपछि बल्ल ढलाइको काम सुरु भएको थियो, बुधवार । निर्माण कम्पनीका प्रतिनिधि पदमप्रसाद शर्मा पनि त्यही उपस्थीत थिए । यसपालि त ढलाइको काम जसरी पनि सकिने र पुल सञ्चालनमा आउने उनको आशा थियो, तर खै ढलाई मात्र भएर कसरी चल्ला पुल ?

केहीबेर अडिएका ती युवाहरु बल्ल–तल्ल पत्रेखोला क्रस गरे । सायद दैनिक बाइकिङ गर्ने थिएनन्, उनीहरु । पत्रेखोलाको बहावको पश्चिमपट्टि पानीमुनीको पुल अर्थात कच्वे भत्किएको उनीहरुलाई पत्तो थिएन । त्यही खाडलमा बाइक केही समय फस्यो, बल्ल–तल्ल निकाले । किनारामा पुगेपछि उनीहरुको बहस चारलेन सडकको हविगततिर मोडियो । भारतको ठूलो निर्माण कम्पनीले जिम्मा लिएको र भारतकै एक्जिम बैंकको आर्थिक सहयोगमा सो पुल निर्माणको ठेक्का भारतको मुम्वैस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राइस्ट्रक्चर प्रालिले पाएको थियो ।

तर कम्पनीले प्रत्यक्षरुपमा फिल्डमा काम नगरी स्थानीय नेपाली युवाहरुलाई पेटी प्रतिनिधिका रुपमा कामको जिम्मा दिएको छ । अर्थात पेटीठेक्कामा काम भइरहेको छ, चारलेन सडक निर्माणको । त्यही सडकको दुर्दसा एक करिब दुई बर्षदेखि नियालिरहेका ती युवाहरुले यो ठेकेदारका विषयमा पनि गुनगुनाइरहेका थिए । कस्तो होला ठेकेदार ? ‘एक महिना काम गर्ने, एघार महिना हराउने’ अघिल्लो सालको कोरोना भाइरसको संक्रमणकै बेला काम सुरु भएको सो चारलेन सडक किनारा अहिले धान रोप्न तयार गरिएका गराजस्ता भएका छन् ।

घोराही–तुलसीपुर सडक छिचोल्दै अलि अगाडि पुगेपछि घोराही र तुलसीपुरलाई हाइभोल्टले जोड्ने हाइटेन्सनका तारहरु असरल्ल थिए । पोल गाड्न सुरु भएको दुई बर्षमा पनि तार तान्ने काम पूरा भएको छैन । तार तान्ने ठेकेदार कहाँका हुन् ? यहाँका स्थानीय सरकारहरुलाई पनि थाहा छैन सायद । विद्युत तार तान्ने सवालमा भएको ढिलासुस्तीका विषयमा कुरा उठाउने त स्थानीय सरकारका प्रतिनिधि तथा प्रमुखहरुलाई फुर्सद नै छैन ।

पछिल्ला बर्षहरुमा विकास बजेट खर्चको दर अन्यन्तै कमजोर रहेको छ । बर्षेनी बजेट फ्रिज हुने रोग अघिल्ला दुई बर्षमा भने कोरोनाको संक्रमणले झन सिकिस्त भएको छ । अघिल्लो आर्थिक बर्षमा कोरोनाको बहानामा मुलुकका धेरै गौरवका योजना तथा प्रदेश सरकार र स्थानीय पालिकाका योजनाहरु पनि निर्माण सम्पन्न हुन सकेनन् । भारी मात्रामा विकास बजेट फ्रिज भयो । कोरोना भाइरसको संक्रमणका कारण विकास निर्माणमा धक्का लाग्नु स्वाभाविकै हो ।

तर विकास निर्माणका सबै योजनाहरु लकडाउनले रोकेको छैन । अघिल्लो साता मात्रै पुल विभागको मातहतमा निर्माण भइरहेको दंगीशरणको भैवाङदेखि मलै जोड्ने पुलको ढलान सम्पन्न भएको छ । कुइरेपानी–सर्रा वैकल्पिक रोडको सिस्ने पुलमा पनि धमाधम ढलाईको काम भइरहेको छ । काम गर्न चाहने जोसुकै निर्माण कम्पनीलाई सामान ढुवानीमा सरकारी सुरक्षा अधिकारी तथा सुरक्षाकर्मीहरुले अवरोध पु¥याएका छैनन् । तर विकास निर्माणमा यसरी लापरबाहीपूर्ण तवरले हुने ढिलासुस्तीका विरुद्ध कारबाहीको माग कहिँकतैबाट भएको पाइँदैन ।

अघिल्लो बर्ष काम सन्तोषजनक नभएको भन्दै पेटी ठेकेदार फेरबदल गरिएको तथा निर्माण कम्पनीलाई पेनाल्टी तिराइएको चारलेन सडक परियोजना यो बर्ष त झनै काम नै सुरु हुन सकेन । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण देखिनुअघि नै फिल्डमा काम छाडेको निर्माण कम्पनीलाई अहिले त हाइसञ्चो भएको हुनसक्छ, किनकि भारतसँगै नेपाल पनि कोरोना भाइरसको चरम चपेटोमा परेको छ ।

लकडाउन थपिँदै गर्दा मजदुरका घरमा अब डालो रित्तो भैसकेको छ । तर निर्माण कम्पनीका प्रतिनिधिहरुले लकडाउन सुरु हुनुभन्दा अघिसम्म गरेको कामकै भुक्तानी बाँकी राखेर सम्पर्कविहीन अवस्थामा रहेका छन् । निर्माण कम्पनीले बहाना बनाएका छन् विकास निर्माणका लागि मजदुर पाउनै मुस्किल छ रे ! मजदुर काम नपाएर भोकभोकै रहनुपर्ने तर निर्माण कम्पनीले मजदुर पाइएन भन्दै काम नगर्ने प्रवृत्तिको नियमन र अनुगमन कसले गर्ने ? कसरी भरिएला मजदुरका डालामा अन्न ? कामविहीन भएर भोकै पर्ने अवस्था आएपछि मजदुरहरु पनि मौन बस्ने अवस्था रहने छैन ।

गएको मंसिरमा शिलान्यास गरेर बैशाख÷जेठसम्म निर्माण सम्पन्न भैसक्ने भनिएको तुलसीपुरको टरिगाउँ विमानस्थलमा इन्धन डिपोको निर्माणको काम सुरु नभएरै समय सकियो । तर स्थानीय सरकार बेखवर छ । दिनरात कोरोनाको व्यवस्थापनमा खटिएको बताइरहने सरकारहरु विकास निर्माणमा पनि अलिअलि लाग्ने होइन र ? ती युवक यसरी नै बोलिरहेका थिए, किनकि सडक खुल्ला र सुनसान थियो…। सायद विकास निर्माण र कोरोना दुवै अनिश्चितजस्तै बन्न थालेका छन् ।