तरकारीखेतीमा लत : गाउँमै रमाऔं, गाउँमै कमाऔं

गोरक्ष समाचारदाता
तुलसीपुर, १८ जेठ । वरिपरी लटरम्म फलेका टमाटर । फुल्दै गरेका हरिया खुसार्नी । त्यसको बीच–बीचमा हुर्कदै गरेका मकै । अर्को पाटोमा भोटे लसुन । ती सबै रहरलाग्दो गरी हुर्की बढेको देखेर बलबहादुर वली आफै मख्ख छन् । लकडाउनले फुर्सदै फुर्सद छ । तर उनी तरकारीबारीमै व्यस्त छन् । दिन रात फुर्सद छैन । उमेरले ६१ वर्षे वलीलाई भ्याइँ–नभ्याइँ छ । उनको मेहनत र लगन देखेर देख्नेहरु पनि छक्क पर्छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी वली विगत ८ वर्षदेखि यसैगरी व्यावसायिक तरकारी खेती गर्र्दै आएका छन् । यतिखेर उनले तीन कठ्ठा जग्गामा गौरव जातको आठ सय खुर्सानीका विरुवा र ८ सय टमाटरका बिरुवा रोपेका छन् । टमाटर, खुर्सानी मात्रै हैन उनी सिजन अनुसार आलु, लसुन, मेथी, बन्दा गोभी, सिमीलगायतका तरकारी खेती गर्दै आएका छन् । उनलाई तरकारी बेच्न बजार धाउनु पर्दैन । ब्यापारी तरकारी खोज्दै बारीमै आइपुग्छन् ।

‘घरमै सानो–तिनो पसल छ, त्यहाँ राख्छौं र केही बारीबाटै बिक्री हुन्छ,’ वलीले भने– ‘आफ्नो जग्गा थोरै भए पनि तरकारी खेतीबाट वार्षिक ३ देखि ४ लाखसम्म आम्दानी हुने गर्छ ।’ तरकारी खेती मात्रै हैन वलीले व्यावसायिक माछापालन पनि गर्दै आएका छन् । विगत ५ वर्षदेखि उनले ब्याबसायिक माछापालन गर्दै आएको बताए । वली गत वर्ष माछा बेचेर १ लाख बढी आम्दानी गरेको जानकारी दिए । उनले यो बर्ष पनि ८ सय माछाका भुरा राख्ने योजना बनाएका छन् ।

‘गाउँमै रमाउने, गाउँमै कमाउने हो,’ वलीले भने– ‘पैसा कमाउन सहर नै पस्नुपर्छ, बिदेश नै जानुपर्छ भन्ने सोच सही हैन ।’ सबैले सम्भावनाको अध्ययन गरी आफ्नो गाउँ ठाउँमा कृषि कर्म गर्न सके थुप्रैले अवसर पाउनले उनको विश्वास छ । युवाहरु गाउँघरमै बसेर यही बिभिन्न पेशा व्यवसाय गर्नतर्फ लाग्नुपर्छ,’ उनले भने– ‘त्यसले हामीलाई स्वालम्बी बनाउँछ ।’ युवाहरुलाई गाउँमै रमाउने र गाउँमै कमाउने वातावरण निर्माण गर्न राज्यले पनि भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।