अमरराज आचार्य÷बालाराम खड्का
दाङ, १८ जेठ । त्यो दिन अत्यन्तै कहालीलाग्दो थियो, जुन दिन बेलझुण्डीको एकमात्र कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजनको अभावमा बिरामीको हताहत ज्यान जान थाल्यो । एकैदिन ८ जनाले सोही अस्पतालमै ज्यान गुमाए । अक्सिजनको अभावमा बिरामीहरु छटपटिन थालेपछि अभिभावकहरुले हेलिकोप्टर चार्टर गरेरै राजधानी समेत लग्न बाध्य भए ।
अस्पतालमा यसरी बिरामी हताहत भइरहेका बेला प्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलहरु सत्ता समीकरण र कारबाहीको दौरानमा थिए । बेलझुण्डी कोरोना अस्पतालका लागि नेपालगञ्जको एउटा अक्सिजन कारखानाबाट ल्याउने गरिएको अक्सिजनले थाम्न नसक्दा अस्पतालका व्यवस्थापक दोर्ण वली पनि आहत बनेका थिए ।
अस्पतालका मेसुले भने फोन हतपती उठाउँदैनथे, कारण बिरामीलाई भर्ना गरेर उपचार गर्ने सहज अवस्था थिएन । यति असहज अवस्था केही दिन जारी रहँदा तुलसीपुर उपमहानगर प्रमुखसमेत व्याकुल थिए । उनले नेताहरुलाई चेतावनीसहितको फेसबुक स्ट्याटससमेत लेखेका थिए, सत्ता समीकरणमा भन्दा स्वास्थ्य उपचार व्यवस्थापनमा ध्यान दिन उनको नेताहरुलाई आग्रह थियो । स्थिति असहज बन्दै गएपछि यहाँका नागरिक अगुवा एवं उद्योगी व्यवसायी तथा समाजसेवीहरुको विशेष पहलपछि करिब एक सातापछि मात्र अक्सिजन सहज हुन थाल्यो ।
धेरै नागरिक अगुवा एवं व्यवसायीहरुले यसमा हातेमालो गरे, जुन आम जिल्लाबासीका तर्फबाट धन्यवादका पात्र समेत बनेका छन् । अनि निरन्तर सहयोगको अपेक्षाका पात्र समेत बनेका छन् । सरकार लथालिंग बनेका बेला नागरिक अगुवाका तर्फबाट भएको यो प्रयासको सुरुआतीसँगै विदेशमा रहेका आप्रवासी नेपालीहरु समेत जुर्मुराएका थिए, अक्सिजनको जोहो गर्न ।
यसमा दाङ उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, लायन्स क्लव, रोटरी क्लवलगायत दर्जनौँ सहयोगी हृदयहरुले समेत होस्टेमा हैसे गरेपछि अस्पतालहरुमा अक्सिजन आपूर्ति केही सहज बन्दै आएको छ । यद्यपि संक्रमण नरोकिएर अस्पतालका बेडहरु कोरोनाका संक्रमितले भरीभराउ भए भने दीर्घकालीन व्यवस्थापनमा भने सरकारी पक्ष भने अझै पनि देखिनेगरी लाग्न सकेको छैन ।
जिल्लामा कोभिड–१९ का बिरामीले अक्सीजन पाउन समस्या भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा अक्सिजन ल्याउन अगाडि बढेको थियो । जति बेला अक्सिजनको माग अत्यधिक रहेको थियो भने जिल्लामा उत्पादनसमेत थिएन । जसले गर्दा बाहिरी जिल्लामा नै निर्भर हुनुपर्ने बाध्यता रहेको थियो । बिरामीलाई अक्सिजनको कारण नै मृत्यु हुन दिन हुँदैन भनेर आफूहरुले अभियान शुरु गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताएका छन् ।
‘नागरिकलाई मृत्यु हुनबाट बचाउनुपर्दछ भनेर हामी अगाडि बढेका हौँ’, अध्यक्ष बुढाथोकीले भने । संकटको समयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्दछ भनेर आफूहरु अगाडि वढेको उनले बताए । देशभर अक्सिजनको अभाव भएका कारण जिल्लामा ल्याउन पनि धेरै प्रयास गर्नुपरेको उनले बताए । यसका धेरैले सहयोग उनी बताउँछन् । अक्सिजन बीरगञ्ज, भैरहवा, सुनसरी, पोखरा, नेपालगञ्जलगायतका स्थानबाट ल्याएको थियो ।
यसले जिल्लामा अक्सिजनको समस्या समाधान गर्ने थोरै भए पनि सहयोग पुगेको उनको भनाइ रहेको छ । हालसम्म संघले १ हजार ३२ अक्सिजनका सिलिण्डर ल्याएर जिल्लामा वितरण गरिसकेको जनाएको छ । जसमा ५० वटा नयाँ सिलिण्डर ल्याइएको हो भने अरु रिफिल गरेर ल्याएको थियो । अक्सिजन व्यवस्थापन गर्नका लागि संघले १ हजार अभियानसमेत सञ्चालन गरेको थियो । जुन अभियान हाल पनि जारी रहेको छ । जसबाट हालसम्म करिब १३ लाख रुपैयाँ संकलन गरिएको छ । त्यसै रकमबाट अक्सिजनको व्यवस्थापन गरिँदै आएको छ ।
‘सबैको सहयोगले अभियान जारी रहेको छ हामी एक्लैले मात्र के अभियान सफल हुँदैन’, अध्यक्ष बुढाथोकीले भने । यसरी ल्याएका अक्सिजनका सिलिण्डरहरु राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान , कोरोना विशेष अस्पताल बेलझुण्डी लमही अस्पताल घोराहीको गायत्री अस्पताल, गोर्खा अस्पताल, दीपज्योति अस्पताल र विभिन्न बिरामीहरुको अबस्था हेरेर विभिन्न ठाउँमा रिफर भएर जाने बिरामिहरुलाई हस्तान्तरण गरिएको संघका महासचिव महेन्द्र बुढाथोकी बताए ।
यस अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरु र अभियानमा दिनरात नभनी आफ्नो स्वास्थ्यको प्रवाह नगरी खटने संघका कार्यसमिति संघका पूर्ब अध्यक्ष निवर्तमान अध्यक्ष, अभियन्ता, विभिन्न जिल्लाहरुमा समन्वयकारी भूमिका निर्बाह गरिदिनुहुने जिल्ला नगर उवासंघका अध्यक्ष, सरकारी निकायका प्रमुख साथै ढुवानी मा सहजता प्रदान गर्नु हुने गाडीधनी तथा गाडी स्टापहरुलाई संघले धन्यबाद दिएको छ ।
अक्सिजन व्यवस्थापनका लागि १ हप्ता सुत्न समेत पाइएन
अक्सिजनको व्यवस्थापनमा खटिएका दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बिरामी धेरै भएको एक हप्तासम्म सुत्न समेत नपाएको बताउँछन् । सुत्न नपाए पनि बिरामी बचाउन पाउँदा आफूखुसी भएको उनले बताए । ‘हाम्रो उद्देश्य नै विरामीलाई बचाउने हो, त्यसै अनुसार अगाडि बढेका हौँ’, दिनरात नभनेर खाली सिलिण्डर खोज्ने, भर्नका लागि पठाउने, बिरामीहरुलाई एम्बुलेन्सको व्यवस्थापन गरेर उपचारको लागि पठाउन समन्वय गरेर पठाउने गरेको उनको भनाइ रहेको छ । सबैको सहकार्यले व्यवस्थापन गर्न सकिएको उनले बताए ।
‘सबैको सहयोगको कारण अक्सिजन अभावको कारण बिरामीको मृत्यु हुने अवस्था आउन पाएन’, भुसालले भने । देशभर रहेका उद्योग वाणिज्य संघहरुले समेत सहयोग गरेका थिए । करिब १ हप्ता अक्सिजन उद्योगमा गएर चौकीदारीको रुपमा कामसमेत गरिएको उनी बताउँछन् । उद्योगमा गएर लाइन बसाउने, भरिएका सिलिण्डर अस्पतालसम्म पु¥याउने काम गरिएको उनी बताउँछन् ।
उद्योगबाट अक्सिजनका सिलिण्डर अस्पतालसम्म पु¥याउन व्यवसायीहरुले निःशुल्क रुपमा गाडी, रकम सहयोग गरेका थिए । ‘यस अभियानमा निजी क्षेत्रको अत्यन्त सहयोग पाइएको छ ’, उनले भने । व्यक्तिहरुले गाडी, आफ्नो गोजीमा रहेको रकम दिएर समेत सहयोग गरेको भुसाल बताउँछन् । सरकारी निकायबाट आउने रकम ढिला आउने भएकाले संकटको समयमा समस्या हुने गरेको उनले बताए ।