लुम्बिनीमा राष्ट्रियसभा सदस्यमा कांग्रेसका पाण्डे विजयी

दाङ,१७ जेठ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै बिजयी भएका हुन् ।

पाण्डेयले ४१४० मत ल्याएर राष्ट्रियसभा सदस्यमा बिजयी भएका हुन । उनले प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन् । एमाले उम्मेदवार खड्काले ३६१२ मत मात्रै प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । राष्ट्रिय सभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का पार्टी विभाजन भएपछि एमाले प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि खडकालाई माओवादीले कारबाही गर्दा उनको स्थान रिक्त हुन गएको थियो ।

उक्त पदमा सोमवार भएको उपनिर्वाचनमा एमाले केपी ओली समूहले पुनः खड्कालाई नै उम्मेदवार बनाएको थियो । खड्कालाई नेकपा एमालेसहित जसपाको महन्थ ठाकुर पक्षको रहेको समर्थन थियो । विपक्षी गठबन्धनका तर्फबाट कपिलवस्तुका दीर्घनारायण पाण्डे उम्मेदवार बनेका थिए । पाण्डेय केही समय अघि मात्र लुम्विनी प्रदेशसभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशका ८३ प्रदेशसभा सदस्यको तीन हजार ९ सय ८४ र स्थानीय तहका २ सय १७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ८ सय ९० मत रहेको थियो ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा २ सय ९७ जनाले मतदान गरेका थिए । जसमा प्रदेशसभाका ८३ जना र स्थानीय तहतर्फ २१४ स्थानीय तहका जनप्रतिनिधिहरुले मतदान गरेका थिए । जसमा प्रदेश र स्थानीय तर्फ १ । १ मत बदर भएको थियो । मत खसेको थियो । त्यस मध्य १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।