ज्ञानु गौतम
रुकुम,२५ बैशाख । चौरजहारी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत पोषण अवस्था सुधारका लागि हजारदिनका घरपरिवारलाई ८ हप्ते उन्नत कुखुराको चल्ला वितरण गरिएको छ ।
चौरजहारी नगरपालिका वडा नं १०, ११, १२, १३ र १४ मा रहेका हजार दिन तथा बिपन्न परिवार अन्तरगत सुनौलो हजार दिनका घरपरिवार छनौट गरि प्रति परिवार ५ वटाका दरले १ सय ३० घर परिवारलाई ११ सय ५० र २० नमुना कृषक छनौट गरि प्रति परिवार १० का दरले २०० गरि कुल १३ सय ५० वटा चल्ला आज शनिबार वितरण गरिएको हो। सुरुवातै अवस्थामा रहेको कुपोषणले भविष्यमा समेत निको नहुने खालको समस्याहरु समेत निम्त्याउन सक्ने र त्यसबाट सृजित कुपोषण चक्रले भविष्यको गरिविलाई समेत निर्देशित गर्ने गर्दछ ।
बालवालिकाको पोषण स्थितिलाई आमाहरुको पोषण अवस्थाले पनि निर्धारण गर्ने गर्दछ । त्यसैकारण महिला तथा वालवालीकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनाको रु। २ लाख ७७ हजार ७ सय ७५ आर्थिक सहयोग तथा चौरजहारी नगरपालिका बहुक्षेत्रीय पोषण योजनाको ८० हजार विनियोजित रकमबाट कुखुराको चल्ला खरिद गरि उक्त घरपरिवारलाई वितरण गरेको हो ।
पोषण अवस्था सुधारका लागि संघिय मामिला तथा सामान्य मन्त्रालय अन्तर्गत बहुक्षेत्रीय पोषण योजनासंगको सहकार्यमा हजार दिनका घरपरिवारका कुखुरा वितरण, कुखुराको चल्ला वितरण, पोषिलो झोला वितरण लगाएका सचेतामुलक कार्यक्रमहरु गर्दे आएको यस आर्थिक बर्षमा नगरभित्र बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालनको लागि मन्त्रालयले २२ लाख ५३ हजार र चौरजहारी नगरपालिकाले ७ लाख ६० हजार रुपैया विनियोजन गरेको थियो ।