कोरोना नियन्त्रणमा सुस्त स्थानीय तह

  •   
  •  

अमरराज आचार्य

दाङ, १२ बैशाख । कोभिडको दोस्रो संक्रमण जिल्लामा तीव्र गतिमा फैलिएको छ । अहिले विशेष गरेर तुलसीपुर क्षेत्र तथा घोराही क्षेत्रमा कोरोना संक्रमण बढेको छ । जुन रुपमा कोरोना संक्रमण वढेको छ त्यसअनुसार स्थानीय तहले तयारी भने गरेका छैनन् । कोभिड नियन्त्रणका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ ।

जिल्लामा रहेका स्थानीय तहहरुले पहिलो चरणको कोभिडको समयमा जति काम गरे तर अहिले त्यो काम नगरेको नागरिकको गुनासो छ । तुलसीपुर उपमहानगरपालिकाले नागरिकलाई कोभिडसम्बन्धी सचेतनासँगै अन्य व्यवस्थापनको समेत कार्य गर्दै अगाडि बढेका तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले बताए । नागरिकलाई सचेत गराउनका लागि नगर क्षेत्रमा माइकिङ गर्ने तथा स्वास्थ्य सचेतना कार्य गरिने छ ।

नगरका भीडभाड हुने क्षेत्रमा विशेष निगरानी गरिने उनको भनाइ छ । कोभिड–१९को संक्रक्रम भएकालाई उपचारका लागि प्रदेश सरकारले सञ्चालन गरेको बेलभुण्डी अस्पतालमा बेड विस्तारमा सहयोग गर्ने काम गरिएको उनले बताए । अहिले नै कोभिडका लागि छुट्टै अस्पताल नै बनाइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि थप के गर्न सकिन्छ भनेर योजना बनाएर अगाडि बढ्ने योजना उपमहानगरपालिकाले बनाएको उनको दाबी छ । कोभिड संक्रमित भएर सामान्य अवस्था भएकालाई होमआइसोलेशनमा राखिने छ ।

स्वास्थ्यमा समस्या भएकालाई अस्पतालमा उपचार गरिने फोकल पर्सन केसी बताउँछन् । बाहिरबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखिने छ । उनीहरु क्वारेन्टाइनमा बसेको नबसेको भनेर विशेष निगरानी समेत गरिने उनले बताए । त्यसका लागि उपमहानगरपालिका भित्र रहेका विपद् व्यवस्थापन समितिहरुलाई सक्रिय बनाइने छ ।

उनीहरुले निगरानी तथा अन्य कार्यमा समेत सहयोग गर्ने छन् । उपमहानगरपालिका क्षेत्रमा विद्यालयमा भौतिक रुपमा उपस्थित गराएर अध्ययन अध्यापनमा रोक लगाइएको छ । अनलाइनको माध्यमबाट अध्यापन गरिने गरेको छ । अहिले नै लकडाउन गर्नुपर्ने अवस्था नभएको जिल्लामा सक्रिया संक्रमितको संख्या ५ सय जना पुगेमा लकडाउन गरिने बताएको छ ।

यता घोराही उपमहानगरपालिकामा पनि कोभिड–१९ को संक्रमण पछिल्लो समयमा बृद्धि हुँदै गएको छ । यसका लागि उपमहानगरपालिकाले कोभिड विरुद्धको तयारी समेत सुरु गरिसकेको जनाएको छ । अहिले भयावह स्थिति भने आई नसकेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले बताए । कोभिडको संक्रमण नियन्त्रणका लागि उपमहानगरपालिका सचेत भएर अगाडि बढेको उनको भनाइ छ । कोरोना संक्रमण नियन्त्रणका लागि के–कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाएर अगाडि बढिने उनको भनाइ छ ।

त्यसका लागि सम्बन्धित शाखाबाट काम समेत सुरु गरिसकिएको प्रवक्ता अर्याल बताए । नागरिकलाई मास्कको प्रयोग, समय–समयमा साबुन–पानीले हात धुने वा सेनिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्छ भनेर सचेत गराउने काम भइराखेको उनले बताए । भीडभाड हुने स्थानमा विशेष ध्यान दिइराखेको उनले बताए । उपमहानगरपालिकाका वडा–वडामा हेल्प डेस्क समेत सञ्चालन गर्ने तयारी गरिएको प्रवक्ता अर्यालले बताए ।

उपमहानगरपालिकाले पहिले सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन सञ्चालन गरे पनि अहिले विद्यालयमा नभएर अन्य स्थानमा बनाउने तयारीमा रहेको उनले बताए । उपमहानगरपालिकाले अहिले विद्यालयहरु बन्द गरेर अनलाइनको माध्यमबाट अध्यापन गराउन भनेको र त्यसै अनुसार कार्य भइराखेको छ । यसैगरेर लमही नगरपालिकाले कोभिड नियन्त्रणका लागि कार्य थालिसकेको जनाएको छ । लमही नगरपालिकाले नेत्रलाल स्मृति प्रतिष्ठानको भवनमा कोभिडको उपचारको लागि अस्पताल सञ्चालन गर्ने लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालमणि सुवेदीले बताए ।

अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । यसैगरेर नगरपालिकाले समुदायमा पुगेर कोभिड–१९ को संक्रमण भए नभएको भनेर परीक्षण गर्ने गरेको सुवेदीले बताए । परीक्षण गर्दा केहीमा कोरोना पोजेटिभ देखापरेको थियो । उनीहरु अहिले घरमनै आइसोलेशनमा छन् । स्वास्थ्य अवस्था सामान्य भएकाले घरमै रहेको सुवेदीले बताए ।

‘मैले दैनिक रुपमा टेलिफोनमार्फत उहाँहरुको स्वास्थ्यको अवस्थामा जानकारी लिने काम गरिरहेको छु’–सुवेदीले भने–‘बाहिरबाट आउनेहरुलाई घरमै सुरक्षित रुपमा बस्न अनुरोध गरेका छौँ ।’ घरमा सुरक्षितसँग बस्न नसक्ने अवस्थामा सामुदायिक क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिने उनले बताए । घरमा बसेकाहरुको निगरानी वडा कार्यालय तथा स्थानीय टोल विकास संस्थाहरुले गर्ने छन् ।