जहाँतहीँ खतरै खतरा….

  •   
  •  

खेमराज रिजाल
दाङ, ११ बैसाख । स्वाव संकलन प्रक्रिया ः शुक्रवार दिउँसो श्वासप्रश्वासको समस्यासँगै कोरोना भाइरसको संक्रमणसँग मिल्ने लक्षण देखिएपछि दंगीशरण गाउँपालिकाको एउटा निर्माण कम्पनीको साइटमा काम गर्ने एकजना इन्जिनियर स्वास्थ्य परीक्षणका लागि घोराहीको संगम पोलिक्लिनीकमा आए । त्यहाँ चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरिसकेपछि पिसिआर पनि परीक्षण गराउन सल्लाह दिए । यति सल्लाह दिँदा दिउँसोको ४ बजिसकेको थियो ।

ती बिरामी शुक्रवार घोराहीमा एक होटलमा बास बसे । भोलिपल्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गराउन पुगे । शनिवार त्यहाँ स्वाब परीक्षण नहुने बताइयो । उनी फेरि अटो लिएर चौघेरामा रहेको नेशनल प्याथ ल्यावको स्वाब शंकलन केन्द्रमा पुगे । लक्षण देखिएका धेरै व्यक्तिहरुसँगै उनी लाइनमा बसे । ढिलो गरी स्वाब दिएर अटोमै फर्किए । स्वाब परीक्षणको रिपोर्ट भोलिपल्ट मात्र आउने थियो । उनको रिपोर्ट यदि पोजेटिभ आयो भने परीक्षणको प्रतिवेदन आउनु अघि उनी बसेको होटल, उनले चिया पिएको चिया पसल, उनीसँगै अटोमा बसेका व्यक्तिहरु वा उनी घरमै पुगे भने पनि त्यहाँ परिवारसँगको हेलमेल, सबै क्षेत्र खतरै खचरा ! तर सरोकारवालाको ध्यान जानसकेको छैन ।

‘मेरो निजी कार थिएन, स्वाब परीक्षणमा घोराहीसम्म पुग्नका लागि एउटा निजी गाडी भाडामा लिएँ, किनकि तुलसीपुरमा स्वाब परीक्षणको व्यवस्था छैन’– मेरो रिपोर्ट पोजेटिभ आयो भने त्यो गाडीमा मैले छाडेलगत्तै बस्ने व्यक्तिलाई कोरोना नसर्ला र ?’ शनिवार स्वाब परीक्षणका लागि घोराहीको चौघेरा आइपुगेका अर्का व्यक्तिले नाम गोप्य राख्न भन्दै गोरक्षलाई भने । उनले भाडामा लिएको गाडी यदि ‘फुल्ली सेनिटाइज’ गरिएन भने त्यहाँ पनि खतरा …। चौघेरा स्वाब संकलन केन्द्रमा उनी पुग्दा त्यहाँ स्वाब परीक्षणको अधैर्य प्रतीक्षामा चौरभरि लडेका लक्षण सहितका सम्भावित संक्रमितहरुको यात्रा विवरण खतरामुक्त होला र ?
होम आइसोलेशन

हो, परीक्षणको रिपोर्ट पोजेटिभ आइसकेपछि जो–कोहीको पनि आत्मबल घट्नु स्वाभाविक हो । सकेसम्म चाँडो अस्पताल पुगेर अक्सिजनको जोहो गर्न पाए बाँचिन्छ कि भन्ने चाहना सबैलाई रहन्छ । अस्पतालमा सिट नपाएर तुलसीपुर उपमहानगरपालिकाकै कम्तिमा आधा दर्जन संक्रमितहरुले बेलझुण्डी कोरोना विशेष अस्पतालमा वेटिङ लिस्टमा नाम टिपाइसकेका छन् । कोरोना विशेष अस्पतालका व्यवस्थापक द्रोण वलीले पनि यो पुष्टि गरेका छन् कि बेड खालि नभएको त करिब दुई साता पुग्यो, केही क्षण त बिरामीलाई अस्पतालमा बेड नपाएर वरण्डामा सुताएरै पनि उपचार गर्नुपरेको थियो ।

अस्पतालमा उपचार नपाउँदासम्मको होमआइसोलेशनको मापदण्ड साच्चै सरकारले तोकेको मापदण्डको हुन सक्दछ ? किनकि हाम्रा अधिकांश घरमा एउटा मात्रै शौचालय हुन्छ । कतिपय संक्रमितलाई त सुत्नका लागि भिन्नै कोठा समेत उपलब्ध हुने अवस्था छैन । संक्रमितसँग परिवारले गर्नुपर्ने खानपान, दिसापिसाब गराउने तथा सरसफाईका कारण होमआइसोलेशन कति सुरक्षित होलान् ? अर्थात संक्रमितका घरपरिवारका सदस्यहरु त दैनिकी चलाउन घरबाहिर टोल छिमेकमा घुमफिर त गर्नै प¥यो नि ! होमआइसोलेशन पनि खतरा …।
कोरोना विशेष अस्पताल

अस्पताल पनि किन खतरा ? हो तीन दिन बितेको छैन । बिरामी अस्पताल पुग्दा बेड खालि थिएन । अस्पताल व्यवस्थापनले बेड व्यवस्थापन गरुञ्जेल ती बिरामीलाई बरण्डामै राख्न वाध्य भयो । धन्न अक्सिजन नलिए नबाँच्ने अवस्था थिएन, ती बिरामीको । कोरोना भाइरसका लक्षण देखिएका बिरामीलाई निजी अस्पतालहरुले स्वाब परीक्षण गराएर बेलझुण्डीमा उपचारका लागि जान सल्लाह दिन्छन् । तर कतिपय बिरामी त लक्षण देखिनासाथ हतारोमा कोरोनै हो भनेर बेलझुण्डी पनि पुगेका हुन्छन् । उनीहरुलाई त्यो बेला मात्र भर्ना लिइन्छ, जुनवेला उनीहरुको स्वाब परीक्षणको रिपोर्ट हुन्छ ।

तर रिपोर्ट ल्याउने चक्करमा कम्तिमा दुई दिन बित्छ, यदि दुई दिनको बीचमा उपचार नै नपाएको अवस्थामा त्यो बिरामी सुरक्षित होला र ? अर्को कुरा बेलझुण्डीको कोरोना अस्पतालमा पहिलो तल्लामा बिरामी राखेर भर्ना गर्ने भनेको २५ संक्रमितका लागि हो । जसोतसो स्टोर समेत खालि गरेर शनिवारसम्म ४२ वटा बेड व्यवस्थापन गरी त्यत्तिकै संख्यामा बिरामीहरु भर्ना गरिएको छ । तर धेरै बिरामी सिकिस्त भए भने न त्यहाँ पर्याप्त आइसियु बेड छन्, न त्यहाँ जडान भएका भेण्ट्रिलेटर सञ्चालनमा आएका छन्, न त अक्सिजन स्टक छ । अहिले नै अक्सिजनको अभाव देखिएको अस्पतालले बताइसकेको छ ।

अस्पतालका व्यवस्थापक द्रोर्ण वली भन्छन् ‘कम्तिमा ५ सय सिलिण्डर अक्सिजन स्टक भए मात्रै यहाँका बिरामीलाई उपचारमा सहजता हुन्छ तर यहाँ त स्टकमा ५८ वटा शिलिण्डर मात्रै छन् । वलीका अनुसार शुक्रवार एक दिनमा मात्रै ९९ सिलिण्डर सकिए । धन्न नेपालगञ्जबाट समयमै अक्सिजन आइपुगेपछि अक्सिजनको अभाव हुन पाएन । कोरोनाका बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन पनि स्टक हुन नसक्नु खतरा होइन र ? व्यवस्थापक वलीकै अभिव्यक्ति हो, यो ।

त्यसो त पहिलो चरणको संक्रमणकै बेला प्रदेश सरकारले १ सय २८ जना स्वास्थ्यकर्मी कर्मचारीको दरबन्दी निर्धारण गरी व्यवस्थापन समेत गरिएको थियो । तर ती कर्मचारीलाई फेरि अन्तै पठाइयो । आवश्यक स्वास्थ्यकर्मी÷कर्मचारी पठाउन सरकारले कुनै पहल गरेको छैन । वली भन्छन्–‘स्पेस, अक्सिजन र मेनपावरको समस्याले अस्पताल आफै पीडित बनेको छ । ७ जना चिकित्सक र १८ जना स्टाफ नर्सले सेवा दिइरहेका छन् । एक जनाले दैनिक १८ घण्टा उपचार सेवा दिनु परिरहेको छ ।

खतरा टार्न सकिन्थ्यो तर …

कोरोना भाइरसको संक्रमण सुरु भएको एक वर्षसम्म पनि दाङले स्थायी रुपमा कोरोना विशेष अस्पताल पाउनसकेको छैन । यसमा तीनै तहका सरकारले कुनै संवेदनशीलता नदेखाएको नागरिकले बताएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका कसैले पनि जिल्लामा एकीकृत रुपमा कोरोना अस्पताल निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारमा अर्थपूर्ण पहल गर्न नसक्दा अहिले अस्थायी कोरोना अस्पतालमा व्यवस्थापन र विद्यार्थीहरुबीच विवाद उत्पन्न भइरहेको छ । अस्पताल निर्माण गर्न नसके पनि विद्यार्थीहरुलाई क्याम्पस भवन त बनाइदिन सकिन्थ्यो ।

अक्सिजन प्लान्ट निर्माणका लागि यस अघि निजी क्षेत्रबाट समेत पहल भएको थियो । तर त्यो असफल भइरहँदा स्थानीय सरकारको तर्फबाट स्थानीय स्तरमै अक्सिजन उत्पादनमा कुनै पहल हुनसकेको छैन । ‘इच्छाशक्ति भएको भए जिल्लाका दशवटै पालिकाले एक÷एक वटा अक्सिजन प्लान्ट निर्माण गर्न सक्थे, तर यहाँ दैनिक सयौँ सिलिण्डर अक्सिजन अन्यत्रबाट आयात गरिँदै आएको छ’, कोरोना विशेष अस्पतालकै व्यवस्थापक द्रोण वली भन्छन् ।

स्वाब परीक्षण स्थानीय पालिकाको सकसको अवस्था थिएन । यस अघि पनि समुदाय स्तरमै पुगेर स्वाब संकलन गरेर सँबन्धित व्यक्तिलाई रिपोर्ट स्थानीय पालिकाहरुले उपलब्ध गराउँदै आएका थिए । हरेक पालिकाले स्वाब संकलन गरी घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र नभएर बुटवल र नेपालगञ्जमा लगेर पनि स्वाब परीक्षण गराएर संक्रमण फैलने अवस्थालाई न्यूनीकरण गरेका थिए ।

तर अहिले स्वाब संकलन र परीक्षणमै पनि स्थानीय पालिकाहरुले आफ्ना स्वास्थ्य ईकाईहरुलाई परिचालन गर्न नसक्नु दुर्भाग्यपूर्ण अवस्था भएको जिल्लाबासीले बताउँदै आएका छन् । अर्को कुरा होम आइसोलेशनको निगमन र अनुगमन त गर्न सकिन्थ्यो नि तर यसले चारैतिर खतरै खतरा निम्त्याएको छ ।