शिवराज पन्थी
गढवा, १२ बैशाख । तुलसीपुर–३ निवासी ६० वर्षीय ज्योतिप्रसाद विक विगत एक वर्षदेखि आँखामा लागेको मोतियाविन्दुका कारण अरुको सहारामा हिडडुल गर्ने गरेका थिए । दुवै आँखा मोतियाविन्दुका कारण बन्द भएपछि उनले आफ्नो परिवारलाई समेत चिन्न छोडेका थिए । उनले एक वर्ष अन्धकारमा जीवन बिताए । बाहिरभित्र गराउन समेत सहारा लिनुपर्ने ज्योति प्रसादलाई लाग्थ्यो, ‘अब यस्तै रहेछ यो जीवन अन्धकारमै बित्ने भयो ।’
तर राप्ती आँखा अस्पतालमा एनएबीपी नर्वे आई केयरको आर्थिक सहयोगमा दुवै आँखा शल्यक्रियापछि पहिलेजस्तै छर्लङ्ग देख्ने भएपछि उनको जीवनमा खुशी फर्किएको छ । उनी आफूले पहिलेजस्तै आँखा देख्ने भएपछि उनको जीवनमा फेरि आशाका किरणहरु भरिएका छन् । ‘पहिले जस्तो आँखा छ, त्यस्तै देखिने भए, म निकै खुशी छु’ –उनी भन्छन् । पहिले आप्mनो छोराछोरी र दाइभाइलाई देख्न नसक्ने विकले मोतियाविन्दुको शल्यक्रियापछि देख्ने भएको भन्दै खुशी व्यक्त गरे । ‘मेरो जीवनमा यो भन्दा अर्को खुशी के हुन्छ र सबै देख्ने भए, छोराछोरी, दाइभाइलाई अनि यो संसारलाई’–उनले भने ।
विगत एक वर्षदेखि आँखा बन्द भएपछि घरमै अन्धकारमा आफु बसेको र शल्यक्रियापछि पहिलेजस्तै देख्ने भएपछि अहिले घरको दैनिक काम सहजै गर्नसक्ने भएको विकले बताए । ‘त्यो पल्लो गाउँमा सडक खुलेछ, गाडीमोटर गुड्छन्, गाउँमा साँझ झिलीमिली बत्तीहरु बलेका हुन्छन्, एक वर्ष पहिले मैले केही देख्दैनथे, अहिले सबै देख्छु, धेरै विकास भएछ’–उनले भने । उनले आँखाको शल्यक्रिया गरी देख्ने भएपछि नयाँ घर बनाएको घरमा तरकारी खेतीदेखि डोका बुन्ने, गाईबाख्रा चराउन जाने गरेको बताए ।
कोइलाबासमा आँखा उपचार सेवा
गढवा–८ कोइलाबासमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आँखा अस्पतालको शिला अनावरण गरी आँखा जाँच गरेर उद्घाटन गरेका हुन् ।
आँखा अस्पताल निर्माणका लागि नेपाल नेत्रज्योति संघ दाङ र लमही तथा बहादुरगञ्ज आँखा उपचार सेवा केन्द्रको समन्वय र सहकार्य रहेको थियो । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रकम र गढवा गाउँपालिकाको २६ लाख लगानीमा आँखा अस्पताल भवन निर्माण गरिएको हो । गाउँपालिका र वडा कार्यालयले लमही तथा बहादुरगञ्ज आँखा अस्पताललाई प्राप्त गराएको १० कठ्ठा जग्गामा अस्पताल भवन तयार गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्षको बैशाख महिनामा लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्मा, इन्द्रजित थारु र गाउँपालिकाका अध्यक्ष सहजराम यादवद्वारा सो भवनको शिलान्यास गरिएको थियो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यादवले कोइलाबासको मुहार फेर्न र बजारलाई पुनःस्थापित गर्न आँखा अस्पताल एक बलियो माध्यम बन्ने बताए । नेपाललगायत भारततर्फका नागरिकलाई समेत यस अस्पतालले आकर्षण गर्ने र अस्पतालको बलियो आय स्रोत बन्ने उनले बताए । कार्यक्रममा नेत्र ज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लीला शाह, नेत्र ज्योति संघ दाङका सल्लाहकार उमाकान्त पन्त, रेश्मिराज कंगाली, दाङका उपसभापति रेशमबहादुर खड्का र नेपाली कांगे्रसका अब्दुल कुसुद सिद्दिकीलगायतले कोइलाबासमा आँखा अस्पताल निर्माण गर्न गढवा गाउँपालिकाले खेलेको भूमिकाप्रति प्रशंसा व्यक्त गरेका थिए । लमही आँखा अस्पतालका घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कपिलवस्तु आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।