दाङ, ११ वैशाख । थारु कल्याणकारिणी सभा दाङले नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा स्वागत गरेको छ । कार्यक्रममा नेकपा एमालेका सचेतक शान्ता चौधरीले समाचार बिकाउने र चर्चित बनाउने नाममा सत्यलाई छोप्ने काम नगर्न सुझाव दिएकी छिन् ।
उनले पत्रकारको धर्म सत्य र निष्पक्षताको पक्षमा कलम चलाउने भएको भन्दै त्यो अनुसार अघि बढ्न आग्रह गरेकी हुन् । उनले अहिलेको विषय परिस्थितिमा स्वास्थ मापदण्डको पालना गरेर निरन्तर कलम चलाउन आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउनका लागि जिम्मेवार बनाउने काम गरेको बताएका थिए ।
उनले अहिलेको जोखिम परिस्थितिमा थप संकट देखिएको भन्दै उनले सावधानी अपनाएर जिम्मेवार रुपमा कलम चलाउन आग्रह गरेका थिए । थारु कल्याणकारिणी सभा दाङको आयोजनामा भएको कार्यक्रममा निर्वाचितलाई स्वागत एवम् सम्मान गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित सन्तोष दहित, प्रकाश चौधरी, प्रदेश परिषद् सदस्यमा निर्वाचित लक्ष्मीमान चौधरी, सहसचिव दीप्तिशिखा चौधरीलगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रम थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको थियो । सबि थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश चौधरीले गरेका थिए ।