दाङमा बढ्दै कोरोना संक्रमण : सहरी क्षेत्रमा लकडाउन गर्न सुझाव

  •   
  •  

दाङ, ११ वैशाख । जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएपछि घोराही र तुलसीपुर क्षेत्रमा लकडाउन गर्न जिल्ला स्वास्थ्य कार्यालय दाङले सुझाव दिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले शुक्रवार घोराहीमा गरेको बढ्दो कोरोना संक्रमणको जोखिमसँगै चेतना प्रवाहमा सञ्चार माध्यमसँगै अन्य संघसंस्थाको भूमिका बिषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै लकडाउन गर्नुपर्ने सुझाव दिए ।

उनले लकडाउनको विकल्प नखोजिए दाङको अवस्था नेपालगञ्जको जस्तै हुने खतरा रहेको समेत बताए । ‘दाङमा कोरोना संक्रमण दर उच्च छ, यसलाई नियन्त्रण गर्न कम्तीमा पनि घोराही र तुलसीपुरमा लकडाउन गर्नुपर्ने अवस्था देखिएको छ’, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले भने– ‘बेलैमा होस नपु¥याएपछि पछुताउनुपर्ने अवस्था आउन सक्छ ।’ जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा शुक्रवारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३ सय १४ पुगेको छ ।

उनीहरुमध्ये कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ३९ जना, भेरी अस्पताल नेपालगञ्जमा १२ जना र अन्य विभिन्न स्थानमा ६ र बाँकी २ सय ५७ जना व्यक्तिहरु होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख शाही बताए । ‘स्वास्थ्य मापदण्डले सय बढीमा कोरोना संक्रमण देखिएमा लकडाउन गर्ने भनिएको छ तर दाङमा तीन सय बढी संक्रिय संक्रमित भइसके’, प्रमुख शाहीले भने– ‘यस्तो अवस्थामा पनि हामी जिम्मेवार नबने कहिले बन्ने ?’

उनका अनुसार जिल्लामा घोराही र तुलसीपुर क्षेत्रमा बढी संक्रमितहरु छन् । तुलसीपुरमा १ सय ४६ जना, घोराहीमा १ सय १६ जना, लमहीमा १६ जना, बबईमा १४ जना, दंगीशरण र राप्तीमा ७÷७ जना, शान्तिनगरमा ६ जना र गढवामा दुई जना संक्रमितहरु देखा परेको उनले बताए । संक्रमितमध्ये ५२ जना बालबालिकाहरु रहेको समेत कार्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले भने कोरोना जोखिम बढे पनि लकडाउन नै रोकथामको उपाय नभएको भन्दै स्वास्थ्य मापदण्ड पालनामा कडाइँ गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना जोखिम बढी रहेको भन्दै उच्च सतर्कता अपनाएर समाचार संकलन तथा प्रकाशन गर्न आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पालना गर्नु उपयुक्त भएको बताए ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमण दर बढ्ने गरेको बताएका हुन् । कोरोना संक्रमण दर जिल्लामा बढ्न नदिनका लागि जिल्ला प्रशासन कार्यालयले विभिन्न सूचनामूलक सामग्रीदेखि सडकमा पुगेर मास्क लगाउन जनतालाई आग्रह गरिरहेको उनले बताए । ‘कोरोनाबाट बच्नका लागि सबैभन्दा उपयुक्त विधि भनेको स्वास्थ्य मापदण्डको पालना गर्नु हो, त्यसमा मिडियाहरुले सचेतनामूलक सामग्री दिएर जनतालाई सचेत बनाउनुपर्छ’, निमित्त प्रमुख जिल्ला अधिकारी थापाले भने– ‘त्यसका लागि सञ्चार माध्यमहरुलाई स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्छ ।’ उनले सार्वजनिक ठाउँमा पाँच जनाभन्दा बढी भीडभाड नगर्न आग्रह गर्दै त्योभन्दा बढी जमघट गरे जानकारी दिन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जनतालाई कोरोना भाइरससम्वन्धी सचेतना फैलाउने उद्देश्यले समाचार प्रकाशन गर्न र आधिकारिक निकायबाट मात्र कोरोना भाइरस सम्बन्धी तथ्यांक लिन आग्रह गरेका थिए । उनीहरु कोरोना भाइरसको बढ्दो संक्रमण दर रोकथामका लागि अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भन्दै त्यसका लागि जनतासम्म सचेतना फैलाउन समेत आग्रह गरेका थिए । उनीहरुले अहिले पनि होटलहरुमा कार्यक्रमहरु भइरहेको र सार्वजनिक यातायातका साधनहरुमा भीडभाड हुने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका पूर्व अध्यक्ष प्रताप रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्द, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक बुढाथोकी, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, दाङ चेम्बर अफ कमर्शका उपाध्यक्ष बलदेब योगी, होटल व्यवसायी समिति दाङका अध्यक्ष रुद्रबहादुर डाँगी, रोटरी क्लब अफ दाङका अध्यक्ष नारायण पाण्डे, लायन्स क्लवका अध्यक्ष बिमल श्रेष्ठ, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्मालगायतले नियमको कडाइँ गर्नुपर्ने बताए । साथै उनीहरुले सञ्चार माध्यमहरुले सचेतनामूलक सामग्रीलाई प्राथमिकता दिन आग्रह गरेका थिए । उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर.के. शीतलले गरेका थिए ।