स्वास्थ्य मापदण्ड अपनाउन नारायणपुर उद्योग वाणिज्य संघको अपील

दाङ,१० बैशाख । नारायणपुर उद्योग वाणिज्य संघले पछिल्लो चरणमा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुनका लागि स्वास्थ्य मापदण्ड अपनाउन अपील गरेको छ ।

कोभिड १९ को सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेको बेला सुरक्षा अपनाउन आग्रह गर्ने र।गराउनका लागि आज बसेको बैठकले सम्पूर्ण व्यावसायीहरूलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण व्यावसायीहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न आग्रह गरेको छ । पसलमा अनिवार्य रूपमा डोरी टाँग्ने, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गरेर व्यापार व्यपसाय सञ्चालन गर्ने आग्रह गरेको छ ।

कार्यक्रममा मानार्थ सदस्य माधव पाण्डे, प्रकाश डाँगी, सल्लाहकार धनेश्वर आचार्य , मोहन आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण महासचिव वसन्त न्यौपानेले गरेका थिए ।