दुर्गाबहादुर बस्नेत
शिक्षा जीवनको साध्य र साधन हो । शिक्षामा गरेको लगानीबाट नै व्यक्ति, समाज र राष्ट्रले अपेक्षा गरेको उद्देश्य पूरा हुन्छ । संघीयता कार्यान्वयनसँगै विद्यालय शिक्षामा वहुस्तरको शासन र सेवाहरु सुरु भएको छ । नेपालको संविधानको मर्म र भावना अनुसार आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापकीय जिम्मा स्थानीय तहलाई आएको छ ।
विद्यालयहरुमा हुने शैक्षिक गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउनको ागि सबै सरोकारवाला र अन्य निकायको महत्वपूर्ण भूमिका रहे तापनि प्रधानाध्यापकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । समुदायको संलग्नता तथा व्यवस्थापकीय कुशलताको लागि पारदर्शीता, सहभागिता तथा सदाचारिताको विषयहरु महत्वपूर्ण रहन्छन् । अझ शैक्षिक नेतृत्व र संस्थाको त प्रधानाध्यापक मुटु नै हो । प्रधानाध्यापक विद्यालयमा र समुदायमा एउटा महत्वपूर्ण व्यक्तिको रुपमा स्थापित हुन जरुरी छ ।
प्रधानाध्यापक समग्र विद्यालयको प्रगतिको लागि अगुवाई गर्नुपर्ने हुन्छ । यसरी अगुवाई गर्दा आफू अनुशासित मर्यादित र नमुना बनेर अरुलाई नेतृत्व प्रदान गर्न सक्नु पर्छ । पअमा एउटा कुशल प्रबन्ध तथा कुशल नेतामा हुनुपर्ने गुणहरु हुनु पर्दछ । किनभने स्थानीय वातावरणमा विभिन्नवर्गका जातजाति, विभिन्न भाषा, रीतिरिवाज आदि सबै समुदाय तथा विद्यालय परिवार सबैको प्रयत्नलाई विद्यालयको हितमा लैजानुपर्ने भएको हुँदा विभिन्न समूहसँगको समन्वय गर्नमा प्रशस्त प्रयत्न गर्नु पर्छ । अतः प्रधानाध्यापकले आफ्नो विद्यालयको अपेक्षित लक्ष्य हासिल गर्नका लागि प्रशस्त समय लगाउनुपर्ने हुन्छ ।
प्रधानाध्यापक विद्यालयको पेशागत वा शैक्षिक, प्रशासनिक, आर्थिक एवं नियममा तोकिएका काम, कर्तव्य र अधिकारको उचित ढङ्गले प्रयोग भए नभएको विद्यालयमा शैक्षिक गुणस्तर कायम रहे नरहेको अथवा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ प्रधानाध्यापकले दिन सक्नु पर्छ । प्रअ केही विशिष्ट तथा वैयक्तिक गुणहरु अर्थात् स्वभावहरुको आवश्यकता पर्दछ । यस्ता गुणहरु निर्णयात्मक प्रकृतिका नभए तापनि अन्य कार्यहरुमा थप बल प्रदान गर्न सहयोगी सिद्ध भने अवश्य पनि हुन्छन् ।
प्रअ स्वयम् दक्ष परिस्थिति बुझ्न सक्ने विवेकशील सहयोगी इमानदार तथा स्पष्टवक्ता हुनु आवश्यक छ भने अर्काेतर्फ उनीहरुमा पेशागत सीपको पनि उीत्तकै आवश्यकता हुन्छ । प्रअले विद्यालयमा शैक्षिक नेतृत्व प्रदान गरी शिक्षक विद्यार्थीहरुलाई प्रभावकारी रुपले मार्गदर्शन प्रदान गर्न सक्नु पर्दछ भने समुदायको विकासको लागि सम्वाहक तथा परिवर्तनकर्ता बन्न सक्नु पर्छ । यसले समुदायको विश्वास अर्जान गर्न सहयोग गर्दछ । जसबाट समुदायलाई विद्यालयमा आकर्षण गर्न सकिन्छ । यसका साथसाथै प्रअ सञ्चार समन्वय मध्यस्थकर्ता आदिको सीप हुनु पनि जरुरी छ ।
तसर्थ प्रअ ‘व्यक्ति एक, भुमिका अनेक’ भन्ने गरिएको छ । एउटा विद्यालयलाई स्थानीय स्तरबाट व्यवस्थित गर्ने कर्यमा प्रअले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । प्रअले निर्वाह गर्ने भूमिकाबाट समुदायलाई आकर्षित वा विकसित गराउन सकिने भएकोले प्रअको सकारात्मक भूमिका प्रभावकारी सिद्ध हुने विश्वास गर्न सकिन्छ । यद्यपि विद्यालयको समग्र विकासका लागि प्रअको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि किन ‘दुई सय रुपैयाँको विद्यालय बनाएएको त’ के विद्यालय दुई सय रुपैयाँको मात्र हो त ? दुई सय रुपैयाँ मात्र दिएर सुहाउँछ त समग्र रुपमा सोचनीय विषय बनेको म ठान्दछु ।
साथै विद्यालयको प्रअ मात्र नभएर प्रअ शिक्षक पनि हो । विद्यालयको अभिन्न पक्ष अभिभावकलाई विद्यालयको समग्र गतिविधिमा संलग्न गराउन बालबालिकाको प्रगति उन्नतिको लागि विद्यालयप्रति चासो बढाउने कार्यमा विद्यालय सजग हुनु पर्छ । विद्यालयको शैक्षिक गतिविधि तथा भौतिक पक्षको सवलीकरण र एक्काइसौँ शताब्दीको आवश्यकता अनुकुल शिक्षा दिनु आजको आवश्यकता र अनिवार्यता हो । यो अवस्थामा क्रमशः सुधारको शृंखलामार्फत पु¥याउनको लागि हामी सबैको निरन्तर लगाव मिहिनेत र इच्छाशक्तिको जरुरी छ । समय परिस्थिति र वातावरण परिवर्तनशील छ । यो परिवर्तीत सन्दर्भसँग तारतम्य हुने गरी विद्यालयको गतिविधि सञ्चालन गर्नु र शिक्षाको गुणस्तर अभिबृद्धितर्फ चनाखो भई अघि बढ्नु र व्यवस्थापकीय पक्ष कुशलतापूर्व सम्पन्न गर्नु प्रअको मुख्य भूमिका रहन्छ ।
राष्ट्रिय निर्माणमा पहिलो र महत्वपूर्ण आधार भनेको प्राथकि विद्यालयको शिक्षा हो । विद्यालयहरु हुन भने त्यही प्राथमिक विद्यालयको र प्रअलाई ‘दुई सय मात्र प्रअ भत्ता दिएर कसरी चल्छ त विद्यालय ?’ शैक्षिक स्तर मजबुत र समृद्ध भए मात्र राष्ट्र समृद्धितिर अघि बढ्छ तर विद्यालयमा काम गर्ने प्रअ भने निकै दयनीय अवस्थामा छन् । वर्षेनी हजारौँ विद्यार्थीलाई व्यक्तित्व विकास र जीवनोपयोगी सीप सिकाइरहेका प्रअ शिक्षकहरुको आफ्नै व्यक्तिगत अवस्था भने नाजुक अवस्थमा गुज्रिरहेको छ । अधिकृत तहको एक शिक्षक सोही स्तरको कुनै निजामति कर्मचारी वा डाक्टर, इन्जिनियर, एनजिओकर्मीको पारिश्रमिक सेवा सुविधा र जीवन स्तर तुलना गर्ने हो भने नेपालमा प्रअ र शिक्षकहरुको अवस्था सहजै अनुमान गर्न सकिन्छ ।
अहिलेका सबै पत्रकार, बुद्धिजीवी, सामाजिक अगुवा, पेशाकर्मी, अधिकारकर्मी कुनै न कुनै विद्यालयमा अध्ययन गरेर माथि उठडेका हुन् । उनीहरुका सन्तान पनि अवश्य कुनै विद्यालयमा अध्ययन गर्दछन् । जहाँबाट उनीहरु यस्तो अपेक्षा गर्दछन्, त्यो संस्थाभित्र दक्ष, ऊर्जावाल, सुविधा सम्पन्न र तनावमुक्त जनशक्ति होस् भन्नेतर्फ उनीहरुले नै सोच्दछन् । अझ उदेकलाग्दो कुरा त के छ भने तिनै सामाजिक अगुवा मानिएका व्यक्तिहरुले नै समाजमा शिक्षकहरुलाई सबैभन्दा बढी अपहेलना, उपेक्षा र अपमान गरिरहेका हुन्छन् । जस्तै उदाहरणका लागि अहिलेको यही कोभिडको खोपलाई हेर्न सकिन्छ । सबैले लगाए कोभिडको खोप, नेता, पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी तर शिक्षकलाई खोई ?
शिक्षक जनमानसमा वा मानिसको भीडमा जाने व्यक्ति होइन ? शिक्षक के एक्लै बस्छ ? कुनै किसानले मिहिनेत गरी खेती किसानी गरेर सफलता पाएमा उसको ‘आकर्षण स्टोरी’ बनाइन्छ । कुनै उद्यमीले उद्योगमा सफलता पाएमा कुनै अधिकारकर्मीले अधिकारको लडाइँमा सफलता पाएमा, कुनै सामाजिक अगुवाले देखिने गरी समाजमा कार्य गरेमा, कुनै प्रशासकले दुई–चार राम्रा काम गरेमा, कुनै राजनीतिक नेताले थोरै राम्रो आचरण देखाएमा उनीहरुको आकर्षण स्टोरी बन्दछ । सञ्चार माध्यममा प्रकाशन र प्रशारण हुन्छन्, मानसम्मान, चर्चापरिचर्च हुन्छन् तर कुनै शिक्षकले जतिसुकै राम्रो मिहिनेत गरेर जतिसुकै राम्रो नतिजा देखाए पनि शिक्षकको बारेमा कहीँ केही देखिँदैन ।
जिल्ला र राष्ट्रिय स्तरका परीक्षाहरुमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयको बारेमा चर्चा चल्छ, समाचार बन्छन्, विज्ञापन बन्छन् तर नतिजा राम्रो ल्याउने, मिहिनेत गर्ने शिक्षकलाई कुनै मिडियाले चिन्दैन । कक्षा कोठामा विद्यार्थीसँग झमेला, प्रअको प्रशासनमा झमेला, अभिभावकसँग गुणस्तर र नतिजा बारेमा झमेला, घरपरिवारमा छाक टार्ने बारे झमेला, समाजमा आत्मसम्मानको झमेला, अभिभावकमा विद्यालयको नेतृत्वको झमेला साथै बेला मौकामा हुने विभिन्न किसिम दुष्प्रचार र प्रर्वाग्राही, व्यवस्था विश्लेषण प्रधानाध्यापकलाई आफ्नो पेशाप्रति नै वितृष्णा जमाइदिने गरेको छ ।
वर्तमान नेपाली समाजमा हरेक व्यवस्था विश्लेषण बडो अनौठो लाग्दछ । सासामयिक घटनाक्रमका लागि हरेक मानिस सचेत छन् । हरेक मानिस विद्वान् छन्, हरेक मान्छे विश्लेषक छन् । अझ रमाइलो कुरा के छ भने हाम्रो बौद्धिकता यति अदभूत छ कि राम्रो कसरी पढाउने भन्ने कुरा शिक्षक वाहेक अरु सबैलाई थाहा छ । सवारी कसरी राम्रोसँग चलाउने भन्ने कुरा ड्राइभरलाई वाहेक अरु सबैलाई थाहा छ । नक्सा डिजाइन राम्रो कसरी बनाउने भन्ने कुरा इन्जिनियर वाहेक अरु सबैलाई थाहा छ । उपचार राम्रो कसरी हुन्छ भन्ने कुरा डाक्टर वाहेक अरु सबैलाई थाहा छ । दुखद् कुरा के छ भने अन्य निकायहरुसँग खास शक्तिनिहित हुन्छ । जसको कारण आम जनमानसमा र आम सञ्चारमा उनीहरुको आलोचना कम हुन्छ, भए पनि त्यसको प्रभाव न्यून हुन्छ ।
शक्ति सीमा कमजोर भएकै कारण सबैभन्दा बढी आलोचना दुष्प्रचार र अपव्याख्या प्रअ र शिक्षकहरुकै भइरहेको छ । शिक्षकहरुले पढाउँदैनन्, राजनीति मात्रै गर्छन्, बालमनोविज्ञान बुझ्दैनन्, बालबालिकालाई आवश्यक दुःख, सजाय मात्रै दिन्छन् । बौद्धिक भनिएको वर्गमा यस्ता आलोचना बढी हुने गर्छ । सञ्चार र सामाजिक सञ्जालका यी दुष्प्रयासहरुले बालबालिकामा आ–आफ्ना शिक्षकहरुप्रति कस्तो धारणा सिर्जना होला ।
अहिले नै हाम्रो सामाजिक संस्कार र सभ्यता त्यो अवस्थामा पुगिसकेको छैन । जहाँ कसैलाई रत्तिभर सजाय नगरी सुव्यवस्था निर्माण गर्न सकियोस्, राजनीति संयन्त्र, कर्मचारीतन्त्र, चिकित्सा, उद्योग, व्यापार, सुरक्षा संयन्त्र, यातायात, प्रविधि, कृषि, मजदुररी चाहे जुनसुकै क्षेत्रमा होस्, सजायको व्यवस्था बिना कामकाज व्यवस्थित रुपमा अघि बढ्न संस्कार निर्माण कतै भएको छैन । यही संस्कार सम्बन्धित क्षेत्रमा अभिभावक बालबालिका हुँदै विद्यालय भित्र पनि जाने हो । विविध संस्कार पारिवारिक पृष्ठभूमि र विविध शैक्षिक धरातलबाट आएका विद्यार्थीहरु कक्षामा हुन्छन् ।
साधारण परिस्थितिमा उनीहरुलाई सजाय नगर्नु उत्तम मानिन्छ तर कहिलेकाहीँ गर्नेपर्ने परिस्थितिले सिर्जना गराउँछ । तर त्यो सीमित र स्वाभाविक यात्रामा हुनु पर्दछ । अन्य कुरामा सुधार सँगै सजायमा पनि न्यूनीकरण हुँदै जानु पर्छ । तर अन्य कुरामा सुधार गरी आजको आजै सजाय व्यवस्था पूर्ण रुपमा बन्द गर्नु पर्छ भन्ने तर्कले सुव्यवस्था होइन झन नयाँ समस्याहरु निम्त्याउँछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय, गैरसरकारी संस्थाहरु नेपालमा धेरै छन् । बालअधिकार सचेतनाका नाममा तिनका प्रतिनिधिहरु विद्यालयमा छिर्छन् ।
तिनीहरुले विद्यार्थीहरु प्रअ र शिक्षकको हरेक गतिविधिमा निगरानी राख्न सिकाउँछन् । शिक्षकहरुका व्यवहारका बारेमा सके जति नकारात्मक धारणा जगाउँछन् । शिक्षक प्रअबाट थोरै पनि चित्त नबुझ्ने व्यवहार भए प्रतिकार गर्न उजुरी जगर्न सल्लाह दिन्छन् । तर त्यही विद्यार्थीलाई मिहिनेत गरेर पढ्न शिक्षकलाई आदर, सत्कार गर्न सल्लाह कसैले पनि दिँदैनन् । आदि, इत्यादि कारणले विद्यालयको जिम्मेवारी सम्पूर्ण विद्यालयको प्रअमाथि थोपरिएको हुन्छ । विद्यालय व्यवस्थापन समिति विद्यालयको ठूलो र अभिन्न अङ्ग हो भनिन्छ । तर विद्यालयमा व्यवस्थापन समितिहरुले विद्यालयको सर्वोपरी प्रअ नै हुन भन्ने ठानिन्छ ।
कुनै पनि विद्यालयमा व्यवस्थापन समितिले विद्यालयको बैठक बसाउने काम प्रअले नै गर्नु पर्छ । मावितर्फ त कतै–कतै सल्लाह गरेर विद्यालयको बारेमा सोच विचार गर्ने नत्र मैले हालसम्म तल्लो तहमा समिति आएर बैठक बसौ आज यसबारेमा छलफल गर्नु छ भन्ने सुनेको छैन । विद्यालयमा शिक्षाको बारेमा शिक्षकको बारेमा वा भौतिक, आर्थिक, सामाजिक, शैक्षिक, प्रशासनिक सबै पक्षमा प्रअले नै गर्नु पर्छ । झन प्रावितर्फ त सबै प्रअको नै जिम्मेवारी भएको देखिन्छ ।
विद्यालयको सामाजिक परीक्षण गर्ने र गराउने कार्य शिक्षक अभिभावक संघको हो । तर कहिल्यै पनि प्रावितर्फ कसैको विद्यालयमा सामाजिक परीक्षण समितिले गरेको मैले पाएको छैन । सबै प्रअले गरेर समितिलाई साक्षी राखी प्रअले सुनाइदिने कार्य गरेको मैले पाएको छु । त्यसैले विद्यालयको सानो कुरादेखि ठूलो कुरा सबै प्रअले नै जिम्मा लिनु पर्छ । यतिसम्म मैले भोग्ने गरेको छु कि व्यक्तिगत चन्दा माग्न आउँदा आज प्रअ सर हुनुहुन्न प्रअ आउँदा आउनु भन्नुहुन्छ व्यक्तिगत चन्दा आफै दिए बन्दैन ? प्रअलाई जिम्मा दिनु पर्छ ? यस्तो सोचनीय विषय छ ।
आदि इत्यादि कारणले प्रअको त्यो दुई सयले कतिको विद्यालयको प्रगति, गुणस्तरीय शिक्षा प्रदान गरेर देशलाई अग्रगति उन्नत र एउटा गतिशील विद्यार्थी उत्पादन गर्ला, विद्यालयमा जे गर्दा पनि त्यही दुई सय मै अघि सर्नुपर्ने वाध्यता छ । के प्रअ दुई सयको मात्र हो त ? किन प्राविमा प्रअमा प्रतिस्पर्धा हुनुपर्छ भन्ने छ तर खोई त प्रतिष्पर्धा गरेको ? किनभने प्रअ र अरु शिक्षकमा के फरक छ त ? त्यसैले प्रअको पद सम्हालन कसैले मान्नु हुँदैन । किनभने प्रअको पद सम्हाल्नु भनेको ब्लड प्रेसर बढाउनु हो ।
प्रअलाई जोश र जाँगर लगाउने, अघि बढाउने केले हो त ? नियम कानुनमा प्रअ प्रतिष्पर्धाबाट हुनु पर्छ भन्ने छ तर खोई त प्रतिस्पर्धा भएको किन हुँदैन ? यो आफै मनन् गर्नुपर्ने कुरा छ । प्रअको पद दिएर मात्र विद्यालयको प्रगति हुने हो त कमसे कम प्रअ भनेको हामीभन्दा केही माथि छ है भन्ने कुराको बोध हुनु जरुरी छ । एउटा माजिको प्रअलाई समाजले खरिदार सरहको हैसियत दिँदैन । यस राज्य र समाजबाट विभेद भएका शिक्षकहरुबाट तपार्इं कसरी कक्षा कोठामा उच्च तहको प्रदर्शनको अपेक्षा राख्नुहुन्छ ।
जुन देशमा शिक्षकको सम्मान गरिँदैन त्यो देशको शैक्षिक उन्नति हुन सक्दैन । इज्जत र सम्मानको कुरा गरौँ भने पनि माविको शिक्षकको त खरिदार सरह इज्जत छैन भने प्राविको त कुरै नगारैँ । इज्जत र सम्मान कहाँ छ थाहा छैन । हेर्नुहोस्, धेरै देशले शिक्षकहरुलाई ठूलो मान, सम्मान दिएका छन् । जस्तै अमेरिकामा स्वर्गका नागरिकलाई भिआइपी मानिन्छ, ती हुन् शिक्षक र वैज्ञानिक त्यस्तै फ्रान्समा सम्मानित अदालतभित्र शिक्षकलाई मात्र कुर्सीमा बस्ने अनुमति छ । त्यस्तै जापानमा शिक्षकलाइृ पक्रन प्रहरीले सरकारबाट विशेष अनुमति लिनु पर्छ ।
कोरियामा शिक्षकले ती सुविधा पाउँछन्, जुन सुविधा भारतमा मन्त्रीहरुले आफ्नो परिचय पत्र देखाएर मात्र उपभोग गर्न पाइन्छ । संघीयताले विद्यालयलाई स्थानीय तहको जिम्मा दिएको छ । स्थापित तहहरुले पनि धेरै ठाउँमा शिक्षक, कर्मचारी, सहयोगी कार्यकर्ता सबैलाई थोरै भए पनि सहयोग गरिरहेका छन् । तर हाम्रो घोराही उपमहानगरपालिकाले विद्यालय राम्रो बनाउन प्रअहरुलाई भत्तामा बृद्धि गरिदिए अवश्य राम्रो हुने थियो होला । आजभन्दा १५÷१६ वर्ष पहिला पनि त्यही दुई सय अहिले पनि त्यही दुई सय त्यो दुई सय नदिए पनि विद्यालय त चल्ला । ती त त्यसैले हाम्रो समाजमा एउटा उखान छ – ‘जात हाल्नु गहतको झोलमा’ भनेझै भएको छ, प्रअको पद ।
विद्यालय जुनसुकै भए पनि हाम्रो शिक्षकका हकहितका लागि गठन भएका संस्थाहरुले पनि प्रअसम्बन्धी कुरा कहिल्यै उठाएनन् झन संघीयताले त पेशागत संघ संगठन त कता पु¥याइदियो, थाहा छैन । आखिर प्रअलाई भत्ता बढाइदिई सहयोग गर्ने काम अब पालिकाहरुको भएकोले चाहि नेपाल सरकार, प्रदेश सरकार, पालिका सरकार जसले भए पनि समय अनुसार यो दुई सयलाई परिवर्तन गरी नयाँ प्रकारको भत्ता व्यवस्था गरी प्रअको सम्मान र इज्जत बढाइदिएपछि विद्यालयहरुमा केही न केही नयाँपन जोस जाँगर लगाएर गर्नेले अवशय गर्ने छ भन्ने मेरो सबै सरोकारवाला, पत्रकार, सामाजिक अगुवा, अधिकारकर्मी, कर्मचारीवर्ग र नेतागणहरु र नेपाल सरकार समक्ष सहयोगको अपेक्षा राखेको छु ।