स्वास्थ्य डायरी : खोइ त यसपालि ‘सर्च एण्ड एडमिट’ ?

  •   
  •  

खेमराज रिजाल

दाङ, ९ वैशाख । पोहरसाल देउखुरीको नर्तीमा आफन्त बितेका बेला मानो मिसाउन जाँदा सिडिओ कार्यालयबाट पास लिनुपरेको थियो । पासमात्र होइन, कुइरेपानीमा हामी गाडीबाट ओर्लेर ज्वरो नपाएका थियौं, गन थर्मामिटरले ।

तुलसीपुर उपमहानगरपालिकाले केही दिन त आफ्नो सीमा मज्गैमा समेत हेल्थडेस्क राखेर ज्वरो नाप्ने गरेको थियो । तेस्रो मुलुकबाट आएका यहाँका नागरिकलाई बबई गाउँपालिकामा प्रहरी पुगेरै बेलझुण्डीको अस्थायी कोरोना विशेष अस्पतालको बहनी गरिएको थियो । सायद लक्ष्मी वली हो उनको नाम, यद्यपि उनलाई कोरोना पोजेटिभ भने थिएन । मेरो आफ्नै भाषामा ‘सर्च एण्ड एडमिट’ थियो त्यो ।

गाउँघरमा भारतबाट आएकाहरुलाई टोल विकास संस्था र वडाका जनप्रतिनिधिहरुले खोजी खोजी क्वारेन्टाइनमा लैजान्थे । नेगेटिभ÷पोजेटिभको पहिचान हुन्थ्यो, निःशुल्क पिसिआर परीक्षणले । भारतबाट आउनेहरुले कम्तीमा दुई साता स्कुल क्वारेन्टाइनमा बसेपछि मात्र घरको भान्सो कुच्न पाउँथे । दाङमा व्यापक संक्रमण थिएन, तैपनि लकडाउन भयो ।

कोरोनाको संक्रमणकै व्यवस्थापन भन्दै स्कुलहरुमा भारतबाट आएका नागरिकहरुलाई राखियो । बेलझुण्डीको आयुर्वेद क्याम्पसमा अस्थायी कोरोना विशेष अस्पताल राखियो । तुलसीपुर प्रादेशिक अस्पताल र बिजौरी आयुर्वेद प्रादेशिक चिकित्सालयका आइसियु मेसीन, भेण्टिलेटर मात्र नभएर वेडसमेत ल्याएर अस्पताल सञ्चालन गरियो । अधिकांश त्यहीकै जनशक्ति काजमा भर्ना गरियो ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले भाषण गर्दै हिँडे, बेलझुण्डीमा कोरोना विशेष अस्थायी अस्पताल निर्माण ग¥यो प्रदेश सरकारले भनेर । सेना समेत शव व्यवस्थापनको तयारीमा थिए, त्यतिबेला । हेलिप्याड बेलझुण्डीकै कोरोना विशेष अस्पतालमा बनाइएको थियो, अति सारो भएका सिकिस्त बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजाने भनेर । जुन बेलासम्म अस्पतालमा भर्ना भएका बिरामीहरुमा कोरोनाको लक्षण समेत देखिएको थिएन ।

लक्षणविनै भर्ना भएका सयौं बिरामीहरु निको भएर डिस्चार्ज भएका थिए, पोहरसाल । समुदायस्तरसम्म फैलन पाएको थिएन कोरोना भाइरसको संक्रमण । देख्दैछु, पोहरसाल कोरोनाका बिरामीलाई आइसोलेट गरेर उपचार गरिएको नारायणपुरको फनपार्कमा यसै साता सत्तारुढ दलकै संस्थापन पक्षको विशाल भेला भइरहेको थियो, जुनवेला मेरा मित्र दामोदर अधिकारीलाई यहाँ कोरोनाको उपचार सम्भव नभएर हेलिकोप्टर चार्टर गरेर राजधानीको करुणा अस्पताल पु¥याइयो ।

उपचारका क्रममा तीन दिनमै उहाँको निधन भयो, अस्पतालको भेण्टिलेटरमा । सायद पोहरसालजस्तै समयमै आइसोलेट गरेर आइसियुसहितको उपचार पाएको भए, दामोदर सायद…। छिमेकी भारतमा संक्रमणको अवस्था विकराल भइरहेको सिएनएनमा सुनिरहँदा मैले दाङको स्मरण गरिरहन्छु । त्यतिधेरै सुविधा भएको भारतमा त दिनदिनै हजारौं संक्रमणका कारण लगालग भइरहेका छन् भने बेलझुण्डीको २५ बेडको कोरोना विशेष अस्पतालले कति दिनसम्म बिरामीलाई थेग्ने हो ।

म कल्पना गर्दैछु, कुनै दिन बेलझुण्डीको कोरोना विशेष अस्पतालमा अक्सिजन सहितको बेड नपाएर मैले चिनजान गरेकैको निधन हुन सक्ने छ । आफन्तहरुले सुक्क–सुक्क गरेर सरकारलाई सराप्नुको कुनै विकल्प हुने छैन । बिरामीलाई भर्ना गर्न नसक्दा अस्पतालका व्यवस्थापकले अस्पतालको झ्यालबाट यो विवशता नियालिरहने छन् ।

उधारोमा उपचार

अझै दुर्भाग्यको कुरा पनि मैले पाठकहरुलाई स्मरण गराउन बाँकी नै छ । त्यो हो उधारोमा उपचार । कति लाजमर्दो कुरा ? मुख्यमन्त्रीले चाहे भने एक घण्टाकै बीचमा दुई मन्त्री हटाएर चार मन्त्री नियुक्त गरेर सत्ता टिकाउन चतुर कार्य गर्न सक्छन् । तर प्रदेश सरकारको मातहतको बेलझुण्डी अस्थायी कोरोना विशेष अस्पतालले गएको असोज महिनादेखि प्रदेश सरकार तथा स्थानीय कुनै पनि सरकारबाट एक पैसो पनि पाएको छैन रे ।

अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बुधवार दिउँसोको फोन सम्पर्कमा भनेका थिए, दाइ अस्पतालमा प्रदेश सरकारबाट असोजदेखि एक पैसो आएको छैन । उधारोमा अस्पताल चलाइरहेका छौं । अहिलेसम्मको अक्सिजन र खानाको उधारो तिर्न बाँकी कम्तीमा पनि १ करोड रुपैयाँ छ । माग फारम भरेर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पठाइसके पनि पैसा आएको छैन । उनी अझै बहकिँदै थिए, बल्ल बल्ल पच्चीस बेडलाई विस्तार गरेर ३५ पु¥याएका छौं । अहिले नै २७ वेड भरिइसकेका छन्… ।

उनी बोलिरहेका थिए समस्यै समस्या…। हो, लकडाउन मात्र कोरोना संक्रमण रोक्ने अचुक विकल्प होइन, किनकि पोहोरसालको तीन महिनाको लकडाउन निरर्थकजस्तै भएको चर्चा व्यवसायीदीर्घामा पनि छ । तर लकडाउनबाहेकका उपाय पनि छ छन् नि ! तर ती विकल्पलाई कसले कार्यान्वयनको चरणमा ल्याउने ? स्थानीय सरकार बेखवर छ । त्यसैले त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुसहितको विशेषज्ञ उपचार सेवा नपाएर दामोदरहरुले हेलिकोप्टर चार्टर गरेर राजधानी ताक्नुको विकल्प रहेन ।

के गर्दैछन् पालिकाहरु ?

थाहा छैन, सायद स्थानीय पालिकाहरुमा पनि सत्ता समीकरणकै प्रभाव छ, तालमेल मिलाउने झमेलामा । आइसोलेसन निर्माणमा एउटा पनि पालिकाको कुनै तयारी देखिएको छैन । सामुदायिक क्वारेन्टाइनको परिकल्पना पनि स्थानीय पालिकाहरुसँग छैन । लकडाउन गर्न भने केही लचिलो देखिन्छन्, तर लकडाउनको अवधिभर के गर्ने भन्ने कुनै योजना कुनै पनि पालिकाले अझै पनि सार्वजनिक गरेका छैनन् ।

निजी अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न मान्दैनन्, नियमनकारी निकाय कहाँ छ ? प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले अस्ती साँझ भनेका थिए, ‘सबै स्थानीय पालिकाहरुलाई छ, तर उहाँहरुले इन्निसियसन लिन खोजिरहनुभएको छैन ।’ हो, स्थानीय प्रशासनले भोलिदेखि मास्क बाँड्दै छ रे । मास्क सचेतना अभियान सञ्चालन गर्दैछ रे । तर सचेतनाले मात्रै कोरोना समुदायस्तरसम्म फैलन नसक्ला ।

खोई कहाँ गयो, सर्च एण्ड एडमिट ? अस्पतालमा सिट छैन भने आइसोलेसन त व्यवस्थापन गर्न सकिन्छ नि ! ठूला ठूला होटलहरु खालि गराउन सकिन्छ, सामुदायिक भवनहरु खालि गराउन सकिन्छ । स्वास्थ्यकर्मीहरुलाई इन्सेन्टीन उपलब्ध गराएर ओभरटाइम जवका रुपमा प्रयोग गर्न सकिन्छ । तर यी सबै समस्यामा बेखवर छ, सरकार ।