हरियो बजारद्वारा दूध व्यवसायीलाई क्यान वितरण

गोरक्ष समाचारदाता

दाङ, ६ बैशाख । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा प्रबद्र्धन एवं समुदायिक महिला सेवा केन्द्रको सञ्चालनमा रहेको ‘हरियो बजार’ ले आफ्ना सदस्यहरु घोराहीका दुग्ध व्यवसायीहरुलाई क्यान वितरण गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी ९ जना दुग्ध व्यवसायी सदस्यहरुलाई प्रतिसदस्य दुई वटाको दरले १८ वटा क्यान वितरण गरिएको हो ।

कार्यक्रममा डेरी व्यवसायी समिति घोराहीका अध्यक्ष इश्वरी घिमिरे, जाल्पा सामुदायिक लघुविक्त वित्तीय संस्थाका प्रदेश प्रमुख पवन योगी, घोराही शाखा प्रमुख माधवा रेग्मीलगायतले क्यान वितरण गरेका थिए । कार्यक्रममा जाल्पाका प्रदेश प्रमुख योगीले प्लास्टिकका क्यान विथापित गर्दै उपभोक्तासम्म गुणस्तर र शुद्ध दूध पु¥याउने उद्देश्यले सदस्यहरुलाई आल्मोनियमका क्यान वितरण गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि डेरी व्यवसायी समितिका अध्यक्ष इश्वरी घिमिरेले हरेक डेरी व्यवसायीले दूध तथा दुग्धजन्य वस्तुको गुणस्तरमा ध्यान दिनुपर्ने धारणा राखेका थिए । हरियो बजारका इञ्चार्ज धनश्याम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था घोराही शाखा प्रमुख माधवा रेग्मीले संस्था र हरियो बजारले दिँदै आएको सेवा सुविधाहरुको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रमको सहजीकरण कमलकान्त दाहालले गरेका थिए । जाल्पा सामुदायिक लघुवित्त संस्थाद्वारा प्रबद्र्धन एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रको सञ्चालनमा केही समयदेखि घोराही–१५ काठेकोहलमा हरियो बजार सञ्चालन गरेको छ । किसानहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थ एवं अन्य वस्तुहरु खरिद गरी उपभोक्तासम्म पु¥याउँदै आएको छ ।