लुम्बिनी प्रदेशका दुई ठाउँमा विद्युतीय बस चलाउने तयारी

  •   
  •  

लिलाधर वली

दाङ, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका दुई स्थानमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही, दाङ र बाँके जिल्लाका तीन स्थानमा विद्युतीय बस सञ्चालन गर्ने तयारी भए पनि दाङमा सडक विस्तारको काममा ढिलाईले गर्दा आगामी आर्थिक वर्ष विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो ।

लुम्बिनी प्रदेश सरकारले यस प्रदेशको तीन स्थानमा चलाउने तयारी गरे पनि दाङको घोराही–तुलसीपुर सडक विस्तारको काम पुरा नहुँदा दाङलाई छोडेर आगामी आर्थिक वर्ष बाँकेको नेपालगञ्ज–कोहलपुर सडक र रुपन्देहीको बुटवल–भैरहवा सडकखण्डमा विद्युतीय बस सञ्चालन गर्ने तयारी अघि बढाएको छ । विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययनसँगै जग्गा छनोटका लागि स्थानीय सरकारलाई आग्रह गर्ने काम गरिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मज्गैयाँले बताए ।

विद्युतीय बस सञ्चालनका लागि स्थानीय पालिकाहरुले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरु चार्ज गर्नका लागि चार्जिङ सेण्टर निर्माण गरिदिने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरुलाई नै बस सञ्चालनको जिम्मा दिने गरी काम अघि बढाउन थालिएको कार्यकारी प्रमुख मज्गैयाँले बताए । ‘प्रदेश सरकारले नै बस किनेर चलाउने होइन, सरकारले विद्युतीय बस सञ्चालनका लागि वातावरण बनाइदिने हो ।

बस चलाउनका लागि प्राइभेट कम्पनीलाई दिने गरी कामलाई अघि बढाउँदै छौँ’–प्रमुख कार्यकारी अधिकृत मज्गैँयाले भने–‘प्रदेश सरकारले व्यवसायीलाई विद्युतीय बस सञ्चालनका लागि ठाउँ निर्माण गरिदिने र बस खरिदका लागि सहुलित दिन्छ ।’ उनले विद्युतीय बस सञ्चालनका लागि पालिकाहरु समेत उत्साहित देखिएको उनले बताए । रुपन्देहीको बुटवल–भैहरवा र बाँकेको कोहलपुर–नेपालगँज सडकखण्डमा आगामी आर्थिक वर्ष विद्युतीय बस चलाउने गरी चार्जिङ स्टेशनहरु निर्माण हुने कार्यकारी अधिकृत मज्गैयाँले बताए । उनले बुटवल, भैरहवा र बाँकेको नेपालगञ्ज र कोहलपुरमा चार्जिङ स्टेशन निर्माण हुने बताए ।

प्रदेश सरकारले स्थानीय तहहरुसँगै प्राइभेट कम्पनीहरुसँग मिलेर काम गर्नसके खर्च समेत कम हुने उनले बताए । उनले कम्तिमा पनि दुई ठाउँहरुमा ७÷८ वटाका दरले बसहरु ल्याएर चलाउने तयारी रहेको कार्यकारी अधिकृत मज्गैयाँले बताए । ‘सम्भाव्यता अध्ययन गरेका दुवै रुटहरुमा सडकको राम्रो अवस्था रहेको र स्थानीय तहहरु उत्साहित देखिएकाले पाइलट प्रोजेक्टका रुपमा आगामी आर्थिक वर्ष बस सञ्चालन गर्ने गरी काम अघि बढ्नेछ’–उनले भने–‘पहिलो प्रोजेक्ट सफल भएपछि दाङको घोराही–तलसीपुर सडकखण्डमा विद्युतीय बस चलाउने छौँ ।’

लुम्बिनी प्रदेशको रुपन्देही, दाङ र बाँके गरी तीन जिल्लामा विद्युतीय बस चलाउनका लागि सम्भाव्यता अध्ययन गरेको भए पनि दाङको घोराही–तुलसीपुर सडकखण्ड विस्तारको काम नसकिएकाले अहिले चलाउन नसकिने बताए । ‘दाङमा विद्युतीय बस चलाउने भनेको सडक निर्माणका क्रममा रहेको छ, जसले गर्दा यो वर्ष विद्युतीय बस चलाउन सकिने अवस्था छैन’–उनले भने–‘तर रुपन्देही र बाँकेमा स्थानीय तहहरुले विद्युतीय बस सञ्चालनका लागि चार्जिङ सेण्टर निर्माणका लागि जग्गा छुट्याउने काम गरे प्रदेश सरकारले चार्जिङ सेण्टर निर्माण गरिदिने बताए ।’ विद्युतीय बस सञ्चालन भए भाडा दरमा सहुलियतसँगै अहिले भइइरहेको वायु प्रदूषण समेत कम हुने विश्वास गरिएको छ ।