घोराहीमा दुई दिने विकास पत्रकारिता तालिम सुरु

नीता चौधरी

घोराही,३ बैशाख । थारु पत्रकार संघ दाङ शाखाले शुक्रवारदेखि घोराहीमा दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता अभिवृद्धि गरी पछाडी परेका वर्गहरुको उत्थान तथा विकासमा योगदान पु¥याउने उद्देश्यले विकास पत्रकारिता तालिम सञ्चालन गरिएको थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चौधरीले जानकारी दिएका छन् ।

थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चौधरीले पत्रकारिता पेशा अत्यन्तै राम्रो भएको बताए । पत्रकारिता क्षेत्रबाट हरेक क्षेत्रमा प्रवेश गर्न सहज हुनाले यो पेशा महत्वपुर्ण भएको उनको भनाइ छ ।

थारु भाषाको लिपी नभएका कारणले थारु भाषा लोप हुदै गएको उनले बताए । नयाँ पिढीले थारु भाषालाई बिर्सिदै गएको कारणले अभ्यास निरन्तर गर्नुपर्ने प्रमुख चौधरीले बताए । त्यस्तै कार्यक्रमको अतिथि रहनु भएका पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुवेदीले पत्रकारिता क्षेत्रमा अवसर र चुनौती उतिकै रहेको बताए ।

तालिम उद्घाटनको अवसरमा प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस सेन्टर दाङका संयोजक प्रकाश चौधरी, थारु कल्याणकारिणी दाङका अध्यक्ष भुवन चौधरी, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवी चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् तथा थारु पत्रकार संघ दाङका सल्लाहकार लक्ष्मीमान चौधरी, युवा नेता एवम् बृद्धिजीवि विकास चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी लगायतकाले कोलेका थिए ।

तालिमकोे प्रशिक्षकमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतम, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, लुम्बिनी प्रदेश परिषद् तथा थारु पत्रकार संघ दाङका सल्लाहकार लक्ष्मीमान चौधरी, प्रेस चौतारीका अध्यक्ष जेएन सागर, लौव अग्रासन साप्ताहिकका प्रधान सम्पादक केवी चौधरी, पत्रकार भुपेन्द्र वली, थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चौधरी रहेका छन् ।

३० जनाको सहभागिता रहेको तालिम भोलि सनिबारसम्म सञ्चालन हुने छ । थारु पत्रकार संघ दाङका सदस्य जयन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निता चौधरीले गरेकी थिइन् ।