सांकेतिक भाषाले बनाईदिएको सहजता

  •   
  •  

लिलाधर वली

दाङ, ३१ चैत । सुस्तश्रवण मनःस्थितिकी घोराही उपमहानगरपालिका–४ निवासी रिता चौधरीलाई सांकेतिक भाषाले सहज बनाइदिएको छ । बोल्न र सुन्न नसक्ने रिताले दश बर्षअघि सांकेतिक भाषा सिकेपछि अहिले उनलाई सहजता भएका छ ।

भाषा सिकेसँगै उनी सांकेतिक भाषाका माध्यमबाट आफ्ना समस्या राख्नेदेखि आफूजस्तै बोल्न र सुन्न नसक्नेलाई सांकेतिक भाषा समेत सिकाउने गरेकी छिन् ।
चौघेरा निवासी रिताले आफ्नो जीवनको तीन दशकको अवधिमा धेरै संघर्ष गर्नुप¥यो । आफूले बोल्न र सुन्न नसक्दा कतिपटक भोक–भोकै बस्नुप¥यो । मनका इच्छा र चाहना मनमै राखिन् ।

व्यक्त गर्न सकिनन् तर दश बर्षअघि राप्ती बहिरा संघको सहयोगमा सांकेतिक भाषा तालिम लिएकी रितालाई त्यसपछि भने जीवन सहज बन्दै गएको छ । समाजमा अहिले पनि अपांगता भएका व्यक्तिहरुलाई विभिन्न खाले समस्याहरु भए पनि उनले आफ्नो जीवनलाई सफल बनाउन अघि बढिरहरेकी छिन् । जीवनलाई सफल बनाउन उनी सांकेतिक भाषाका माध्यमबाट निरन्तर लागिरहेकी छिन् । ‘बोल्न र सुन्न नसक्दा हामी जस्ता अपांगता भएका व्यक्तिहरुलाई जिउन निकै कठिनाई रहेको छ’, दोभासे सहयोगीको भरमा उनले भनिन्–‘अहिले सांकेतिक भाषा सिकेपछि धेरै सहजता भएको छ ।’

उनले बोल्न र सुन्न नसक्नेहरुको सहजताका लागि राज्यका हरेक तहहरुमा सांकेतिक भाषा बुझ्न सक्ने व्यक्ति नहुँदा आफूहरुलाई अहिले पनि समस्या हुने गरेको बताइन् । ‘हामीहरुसांकेतिक भाषा सिकेर आफ्ना समस्याहरु राख्न सक्ने भएका छौँ तर राज्यका तहहरुमा हाम्रो भाषा बुझ्ने व्यक्तिहरु छैनन्’, उनले भनिन्– ‘जसले गर्दा अहिले पनि हामीहरुलाई राज्यबाट सेवा सुविधा लिन समस्या भइरहेको छ ।’ उनले आफूहरुजस्ता व्यक्तिहरुको सहजताका लागि राज्यले रहेक तहमा सांकेतिक भाषा बुझ्ने व्यक्तिहरुलाई राख्नुपर्ने बताउँछिन् ।

दश बर्षअघि सिकेको सांकेतिक भाषा जिउने आधार समेत बन्दै गएको छ । जसले गर्दा अहिले उनी विभिन्न ठाउँमा आफूजस्तै बोल्न र सुन्न नसक्नेहरुलाई सांकेतिक भाषा सिकाउने गर्दछिन् । त्यसबाट आएको पैसाले आफ्नो खर्च चलाउने गर्दछिन् । ‘सधै सांकेतिक भाषा सिकाउने तालिमहरु हुँदैनन्, कहिलेकाहीँ मात्र हुने गर्छन्’, उनले भनिन्– ‘तालिम भयो भने सिकाउँदा राम्रो लाग्छ, त्यसबाट केही आफूलाई पनि फाइदा हुन्छ ।’

उनले घोराहीमा बालबालिकाहरुका लागि मात्र नभएर ठूला बोल्न र सुन्न नसक्ने अपांगता भएका व्यक्तिहरुका लागि समेत नियमित भाषा सिक्ने व्यवस्था राज्यले मिलाउन आवश्यक रहेको बताउँछिन् । बी.एड्. अध्ययन गरिरहेकी रिताका भाई पनि सुस्त श्रवणका छन् । उनी पनि बोल्न र सुन्न सक्दैनन् । त्यसैमा भाइलाई पक्षघात समेत हरेको उनले बताइन् । सात जनाको परिवार रहेकोमा एक भाइ र आफू सुस्त श्रवणमा रहेको उनी बताउँछिन् ।