घात र धोखाको आरोप दुःखद् : युनियन

गोरक्ष समाचारदाता

दाङ, ३१ चैत । नेपाल पत्रकार महसंघको भर्खरै सम्पन्न निर्वाचनमा प्रेस युनियन र प्रेस संगठनको गठबन्धनका केही उम्मेदवारको हारको कारण घात र धोखा भएको भन्दै प्रेस संगठनले जारी गरेको विज्ञप्तिमा लगाइएको आरोप दुःखद् भएको प्रेस युनियन दाङले जनाएको छ ।

यसमा युनियनले संयुक्त छानबिन समिति गठन गर्न पनि माग गरेको छ । प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले आइतवार एक प्रेस विज्ञप्ति निकाल्दै निर्वाचनमा परिणाम अपेक्षा गरेअनुसार आउन नसक्नु निराशाजनक विषय भएको भन्दै उनले सहकार्यलाई दिगो बनाउनका लागि नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको संयुक्त छानविन समिति गठन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा निर्वाचनमा प्रेस युनियन, प्रेस संगठनलगायतका संगठनहरुको तर्फबाट अध्यक्ष, सह–सचिव दुबै जनालगायतका अन्य पदहरुमा प्रेस युनियनको पूर्व अध्यक्षले समेत पराजय भोग्नु आफूहरुका लागि अत्यन्त दुःखद् विषय भएको उल्लेख छ । ‘निर्वाचन परिणामलाई लिएर विनाकुनै छलफल र समीक्षा प्रेस संगठन नेपालले निर्वाचनमा पराजयको सम्पूर्ण दोष केवल नेपाल प्रेस युनियनमाथि लक्षित गर्नु अत्यन्त दुःखद् हो’, अध्यक्ष सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

साथै विज्ञप्तिमा तथ्यहीन आरोप तत्काल फिर्ता लिन पनि आग्रह गरिएको छ । दुबै विषयको गम्भीरतालाई ख्याल गर्दै प्रेस युनियनका तर्फबाट भएका कमजोरीहरुको मूल्यांकन गरी आवश्यक कारबाहीका लागि अधिकार सम्पन्न निर्वाचन छानविन समिति गठन गरिएको उल्लेख गरिएको छ । साथै प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रमा नेपाल प्रेस युनियन दाङ शाखाका सँस्थापक सचिव विपुल पोख्रेल केन्द्रीय अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै देशभरका सम्पूर्ण मतदातामा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । साथै केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित सम्पूर्ण मित्रहरुमा हार्दिक बधाई ज्ञापन गरेको छ ।

तीन सदस्यीय छानविन समिति

यसैबीच नेपाल पत्रकार महासघको निर्वाचनका क्रममा युनियन र प्रेस संगठन गठबन्धनका उम्मेदवारहरु विजयी हुन नसक्नुको कारण छानविन गरी यथार्थ अबस्था पत्ता लगाउन नेपाल प्रेस युनियनले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष नाराण खड्काको संयोजकत्वमा युनियनका सदस्यद्वय गोपाल शर्मा भट्टराई र किरण विक्रम शाह सदस्य रहको अधिकार सम्पन्न छानविन समिति गठन गरिएको छ ।

समितिले छानबिन गरी १५ दिनभित्र आफ्नो प्रतिवेदन जिल्ला कार्यसमिति समक्ष पेश प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिएकालाई कारवाही गरिने भएको छ ।

साथै हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनका नेतासहितका केही साथीहरुलाई विजयी गराउन नसक्नुमा संगठनको नेतृत्वकर्ताको हैिसयतले नैतिक जिम्मेवारी लिँदै प्रेस युनियन दाङका अध्यक्ष सुवेदीले अध्यक्ष पदबाट राजीनामा दिएको जनाएका छ । सोमवारदेखि लागू हुने गरी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनका अनुसार अब युनियनको कार्यवाहक अध्यक्ष प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्काले सम्हाल्नेछन् ।