रेशम चौधरीमै सीमित राजनीति

  •   
  •  

मियो भाँचियो कि राजनीतिको गुरी ढल्न गयो ।
अपराधै अपराधको शृंखला यो देशमा बढ्न गयो ।
कहिले भन्छन् दोषी छन् रेशम यो देशका शासक ।
भन्छन् फिर्ता गर्न सकिन्छ मुद्दा अपराध उपासक ।

रेशम चौधरीको तुरुप फालेर जनता सामाजवादी पार्टीले सत्ता नेतृत्व र सत्ता साझेदारीको लागि वार्गेनिङ गरिरहेको छ । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र उनका दूतहरु जसपालाई सके फकाएर नसके फुटाएर भए पनि वहुमतले आफ्नो पक्षमा तान्ने उनै रेशम चौधरीको अर्को तुरुप फालिरहेका छन् । दुवै पक्ष रेशम चौधरीको प्लेकार्ड बोकेर एकअर्कालाई प्रलोभनमा पार्न घ्यू बेचुवा र तरबार बेचुवाको शैलीमा अगाडि बढिरहेका छन् ।

सर्वोच्चको फैसलाबाट पुनःस्थापना भएको संसदको एक महिना बितिसक्दा पनि एजेण्डा अर्थात् विज्नेस सहितको बैठक बस्न सकेको छैन । सत्ता पक्ष अर्थात् अहिले त ओली एमाले र नेपाली कांग्रेसले ठाकुर र महतो तथा उपेन्द्र बाबुराम खुशी पार्न पूजासामा तयार पारिरहेको जस्तो देखिन्छ । वर्तमान गठित संसदको संरचना अनुसार जसलाई जसरी जोड्ने या फोड्ने जे गरे पनि ओली एमाले नै पहिलो संसदीय दल बन्ने समीकरणले देखाउँदै आएको छ । उता सांसदहरु सदनलाई विज्नेस दिन नसक्ने सरकारका प्रधानमन्त्रीले तत्काल सरकारबाट राजिनामा गर्नु पर्छ । तर सत्ताधारी दल नेकपा ओली पक्षले ती कुराहरुका सुनाइमा कानमा तेल हालिरहेको छ ।

दुनियालाई सांसद खारेजी र वहालीसँग कुनै अर्थ छैन । तर मुलुक किमकर्तव्य विमुढ भइरहेको छ । सरकार नागरिक उत्तरदायीबाट विमुख भइरहेको छ । स्मरण रहोस्, ओली सरकारले नवलपरासीमा निर्माणाधीन अवस्थामा रहेको थारु संग्रहालय निर्माणमा निकुञ्ज र आरक्षको वहानामा निर्माणमा रोक लगाएर दशनामी समाजको समापिष्ट स्थल बनाउन लगाएको देखियो । निकुञ्जको सेना ल्याएर थारुहरुमाथि आक्रमण गर्न लगाउने सरकार अहिले रेशम चौधरीको मुद्दामा सहज बन्दै गइरहेको छ रे, ओलीको कुर्सी जोगाउनलाई । मुलुक दिनदिनै अराजकतातर्फ अगाडि बढिरहेको छ । यहाँ खेल कुर्सी जोगाउको चलिरहेको छ । राजनीतिको नाममा रथ तानेर थाकेका घोडाहरुजस्तै भएका छन् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल । उनीहरु कुनै पनि हालतमा एकअर्कालाई छोड्ने र स्वीकार्ने पक्षमा छैनन् ।

आफू जतिसुकै थाके पनि एकदम अगाडि सर्न नसक्ने अवस्थामा भए पनि आफ्नो कुम्लो अर्काको हातमा पर्न दिने पक्षमा छैनन् । यो शैलीले मुलुक पार लाग्न सक्तैन भन्ने कुरा पनि दुवै पक्षले बुझेका छन् तर छोड्नलाई तयार छैनन् । उता सत्ताको बागडोर सम्हाल्न तयार प्रतिपक्षी सरकारको आलोचना र विरोध गरेर ठिङ्ग अगाडि उभिन सकिरहेको छैन । उसको सत्ता राजनीतिमा त्यति प्रष्ट धारणा देखिएको छैन । रामचन्द्र मात्र बोलेर, लविङ गरेर मात्र के गर्ने ? पार्टीको आधिकारिकता त शेरबहादुरले पो पुष्टि गर्नुपर्छ ।

शेरबहादुरको धुलमुले अर्थात् मायावी नीतिले गर्दा पार्टीको धारणा दृढताका साथ अगाडि बढ्न नसकेको देखिन्छ । आधिकारिक रुपमा बोल्नुपर्ने शेरबहादुर नबोलेपछि रामचन्द्रले बाबुराम र उपेन्द्रलाई कन्याएर मात्र के गर्ने ? जब–जब रामचन्द्र उपेन्द्रसँग जनिक भएर सम्वाद गर्न थाल्छन् तब–तब प्रधानमन्त्री ओली महन्त र राजेन्द्रलाई अल्झाइ, बल्झाईको मस्का लागाउन थाल्छन् ।

त्यहाँ पनि ओलीजीले जसपाको नाममा महन्त ठाकुर र राजेन्द्र महतोलाई दाम्लो बलियो नभए पनि अल्झाएर राखेका मात्र हुन् । उनी सजिलै महन्त र ठाकुरलाई बल्झाउने जाल मात्र फालिरहेका छन् । ओली प्रवृत्ति सहमतिका लागि होस् या दम्क्याउनका लागि होस् ओली प्रवृत्ति सबै दलमा हाबी हुँदै गइरहेको छ । महन्तको प्रधानमन्त्रीको नाममा महन्त र महतो ओलीकै पछि लागेर दौराको फेर समाइरहेका छन् । बाबुराम र उपेन्द्र आफ्नै ताल र सुरमा रामचन्द्रसँगको सहकार्य र लविङमा लम्पट छन् । जसपाका दुवै खेमामा सत्ताकै मोह छ ।

रेशम चौधरी र अन्य व्यक्तिहरु जो काराबार जीवन बिताइरहेका छन्, उनीहरुको रिहाईको पहिलो एजेण्डा भए पनि त्यो त जसपाको देखाउने दाँत मात्र भएको सबैले बुझिरहेका छन् । नेपाली राजनीति जसको बुइँ चढ्यो उसैको गर्दनमा हान्ने शैलीमा अगाडि बढिरहेको छ । जुन लेशनप्लानका निर्माता त कमरेड प्रचण्ड नै हुन् । उनले जसको पहिलो प्रयोग शान्ति प्रक्रियाका प्रवर्तक युगपुरुष गिरिजाप्रसाद कोइरालामाथि गरेका थिए । सोही पाठ पढेर आफू सत्तामा जाने भ¥याङको पहिलो खुड्किलो बनाएका प्रचण्डमाथि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जाइलागे ।

त्यति मात्र कहाँ हो र, महाभारतमा पाण्डवहरु बास बसेको भन्दै जसरी लाहा भवनमा आगो लगाउन लगाएर पाण्डवहरु आगोमा जलेर मरे भनेर खुशियाली मनाउने तयारी कौरवतर्फ भइरहेको बेला विदुरजीले धृतराष्ट्रसँग यस्तो अपराधी सोच पनि गर्नुहुन्छ, दाजु ? पाण्डवहरु मरेका छैनन्, उनीहरु मरेका छैनन्, दाजु । उनीहरु त द्रोपती सहित वनबासको बन विहार गरिरहेका छन् । यति भनेर विदुरजी त्यहाँबाट बाहिरिएपछि जसरी आफ्नो पुर्पुरो हान्दै आक्रोशित हुँदै छाँगाबाट खसेको जस्तो भए ।

त्यस्तै महाभारतकै अर्को घटना पाण्डवहरु बनबासमै रहेको अवस्थामा पाण्डवपुत्र सोही लाहा भवनमा बसेको आशंका गरी कौरव अर्थात् दुर्योधनलाई खुशी पार्न र पाण्डवहरुसँग आफ्ना पिताको मृत्युको बदला लिन द्रोणपुत्र द्रौणी अर्थात् कृपले उनीहरुमाथि सुतिरहेको बेला आक्रमण गरी पाण्डवपुत्रहरु पाँचै भाइको शिर छेदन गर्ने निधो गरेका थिए ।

त्यसपछि ती शिर धृतराष्ट्रलाई बुझाएर जसरी गुरु पुत्रले पिता शत्रुको पुत्रबध गरेर खुशीका साथ धृतराष्ट्रलाई टाउको बुझाएपछि धृतराष्ट्रले पनि खुशीसाथ उक्त टाउको सुमसुम्याउँदै भन्न थाले – यी त गुरुदेव पाण्डवपुत्रहरुका शिर होइनन् । पाण्डवपुत्रहरु त किशोर छन्, यति वयश्क छैनन् । उनीहरु दाह्री, कपाल त नरम छन्, छाला पनि नरम छ ।यति भनेपछि गुरुपत्र पनि झल्यास्स भए । उनलाई थाहा भयो उनले बध गरेका युवाहरु पाण्डवपुत्र रहेनछन् भन्ने निश्चित भयो ।

नेपाली राजनीति पनि त्यस्तै खालको प्रयाश्चितको राजनीति सुरु भएको छ । तर यहाँ कोही पनि आफ्नो गल्ती स्वीकार गर्न तयार छैनन् । हिजो नेकपाको वहुमतको सरकारको नेतृत्व गर्दा सांसद रेशम चौधरीलगायतलाई संकेत गर्दै मुलुकभित्र रहेका कुनै पनि व्यक्ति वा संस्थाहरु जो आपराधिक गतिविधिमा संलग्न छन्, उनीहरुलाई मुलुकको प्रचलित ऐन अनुसार क्षम्य हुने छैन । तर आज उनै केपी ओली तिनै रेशमलाई माफीको नाममा भँजाएर आफ्नो सत्ता लम्ब्याउने आपराधिक गतिविधिमा लागिरहेका छन् । रेशम यदि न्यायमा ठगिएका थिए भने दुई–दुई तहका अदालतले किन एउटै फैसाला गरे ?

यदि आफ्नो पहुँचको आधारमा कुनै पनि दल र सरकार आफ्नो नेतृत्वमा सरकार गठन गर्नु र सरकारको अवधि लम्ब्याउन गैर न्यायिक गतिविधिहरु उर्न उद्धत रहन्छन् भने नेपाली जनताले उनीहरुलाई क्षमा गर्ने छैनन् । दलीय राजनीतिलाई साम्प्रदायिक बनाउनु भनेकै राजनैतिक अपराध हो । यस विषय सरकारले आफ्नो दलको र नेतृत्व्को सत्ता टिकाउनका लागि मात्र बढी चर्चित बन्न पुगेको हो । सरकार पनि त्यही प्रवृत्तिको देखिएको छ ।

त्यति मात्र होयन प्रमुख प्रतिपक्षी दलको पनि त्यस विषयमा खास फरक भूमिका निर्वाह गर्न सकेको छैन । थरुहट, थारुवान राष्ट्रिय मोर्चाका नेताहरु भन्छन्– आन्दोलन हामीले गर्ने वार्ता नेतृत्व अरुले गर्ने ? राजेन्द्र महतो र महन्त र ठाकुरलाई हामीले न त आन्दोलनको नेतृत्व दिएका थियौँ न त वार्ताको लागि प्रतिनिधि खटाएका छौँ । रेशम चौधरीको नाममा अहिलेसम्म हामीले कुनै पनि राजनीतिक दललाई कुनै पनि जिम्मेवारी दिएका छैनौँ ।

रेशम चौधरी र टीकापुर घटनाको सम्बन्धमा थरुहट, थारुवान राष्ट्रिय मोर्चाले आयोजना गरेको कार्यक्रममा जसपाका नेताहरुलाई खबरदारी गर्ने कार्य पनि गरेका थिए । उनीहरु अहिलेसम्म कुनै पनि राजनीतिक दल वा सरकारलाई हाम्रो विष्यमा सम्वाद र सहमति गर्ने अधिकार दिएका छैनौँ । तर सत्ता पक्ष र प्रतिपक्ष आफ्नो अनुकुलको व्याख्या गरेर जसपाले थरुहटलाई गुम्राहमा पार्न खोज्दै छ ।

जस्तै संघ र प्रदेश सबै सरकारलाई तरंगित गरिरहेको छ । निर्वाचन प्रक्रिया अनुसार वहुमत हुँदाहुँदै पनि आफ्नो आफूभित्रको गलत प्रवृत्तिका कारण अहिले मुलुक त्रिशंकु संसदमा परिणत भएको छ । वहुमत क्याबिनेट अर्थात् सदनमा वहुमत हुँदाहुँदै पनि हंग पार्लियामेन्टको शैलीमा मुलुक चल्न थालेको अथवा चलेको छ । तर यो त्यति राम्रो संकेत भने होइन । आफ्नै कारण नेकपा भन्ने पार्टी गुमाउन पुग्यो सरकार । जसले गर्दा नेकपाको एउटा भाग मात्र बन्न पुगेको छ, एमाले ओली सरकार ।

यी सबै सरकारका विखण्डनकारी गतिविधिका कारण हुन् । वर्तमान सरकारले अंगालेको विखण्डनकारी गतिविधिका कारण आफू पनि घर न घाटको बन्न पुगेको छ, चाहे जति नै फुईँ लगाए पनि । हंग पार्लियामेन्छको कारण पनि सरकार नै हो । संसदमा विश्वासको मत टुट्ने अवस्थाको संकेत हुँदा साथ प्रधानमन्त्री पदबाट राजिनामा गर्न तयार हुने एउटा सन्त तथा नैतिकवान् नेता किसुनजीसँग तुलना गर्न किसुनजीले परिकल्पना गर्नुभएको मेलम्चीको पानी काठमाडौंको धारामा पानी खसाल्नलाई उद्घाटन गर्ने सरकार प्रमुख र राष्ट्रप्रमुखहरु किसुनजीको दाँजोमा दाँजिन सक्तैनन् ।

किनभने उनीहरुसँग किसुनजीको जस्तो नैतिक आचरण छैन । उनीहरु आफू भए सबै हुन्छ भन्छन् भने किसुनजी जनता भए आफू भइन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यस्ता किसुनजीले सपना देखेको गुरुयोजना सञ्चालनपश्चात उद्घाटन गर्नेहरु जसको नेतिक रुपमा र राजनैतिक रुपमा विश्वास र इमान गुमाइसकेको परे ।

यसको पनि एउटा दुर्भाग्यको संकेत हो । यस पंक्तिकारलाई लाग्छ कतै निरन्तर धाराबाट खस्ने उद्देश्यका साथ सम्पन्न मेलम्ची कतै राजनीति जस्तै अवरुद्ध हुने त होइन ? यदि यहाँका नेता भन्नेहरु चाहे सत्ताधारी होस् या विपक्षी होस् दुवै नैतिक धरातलमा छैनन् । नैतिकताको आधार या मापदण्डको कुरा गर्ने हो भने त ओली सरकार एकछिन् पनि रहनु हुँदैन । माओवादी केन्द्र टुक्रिएर गएपछि माओवादी छुट्टिएको कुराको त मतलव छैन भने नेपाल समूह कराएर उनको कानमा बतास चल्ने त कुरै भएन ।

आजको दिनमा नेपालका नेता तथा शासकहरु जसलाई इज्जत, मान, सम्मान्, अपमन केही कुरामो पनि हेक्का छैन । जसले जति हुँकार गरे पनि मुलुक बिना मियोको गोरुले दाइँ गरिरहेको छ । जुन दाइँको डोरीमा गुरी छैन । वर्तमान अवस्थामा मुलुकले नयाँ सरकार सञ्चालनको लागि कांग्रेस, माओवादी र मधेशवादी दललाई हेर्दै र पर्खंदै छ । यी सबैलाई एउटै डोरीमा बाँधे पनि गुरी को हो भन्ने थाहा छैन । यिनीहरुको अहिले राजनैतिक समीकरणको आधारमा बराबर हैसियत देखिन्छ । तर पनि नयाँ समीकरणका निमित्त मियो बन्न सबै तयार छन्, तर सबैलाई स्वीकार्न असम्भव छ ।

नयाँ शक्तिको नयाँ सरकार बनाउन र विधिको शासन चलाउन बोलेर मात्र हुँदैन । यसलाई विश्वासमा ल्याउन कमसेकम सामान्य मान्यताहरु त परिचालन गरेर सबै दलले देखाउन सक्नुपर्छ । तर उनीहरु जिभ्रो चपाएर र मुख लुकाएर कुरा गर्छन् । यस्तो अवस्थालाई सहकार्यका लागि तयार हुने दलले कति विश्वास गर्ने ?