निर्माण डायरी : शिलान्यास प्राइमिनिष्टरमा निर्माण फेबिया

  •   
  •  

खेमराज रिजाल

दाङ, २३ चैत । शनिवार पनि प्रधानमन्त्री केपी ओली विदा बसेनन् । जुममा शिलान्यास गरे, मुलुकभरका सबै निर्वाचनमा एउटा रणनीतिक सडक । समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउँदै आएका प्रधानमन्त्री अचेल शिलान्यासमा व्यस्त छन् । सम्भव हेलिप्याड भएका सुगम क्षेत्रमा आफै पुग्ने गरेका प्रधानमन्त्री ओलीले यस्ता रणनीतिक सडकको भने जुमबाटै शिलान्यास गरे । समृद्ध नेपालको अभियानमा यी सडक निर्माणले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने छ, शिलान्यास गर्दै ओलीले भनेका थिए ।

शिलान्यास मिनिष्टरले रणनीतिक सडक शिलान्यास गरिरहँदा ती सडकहरु कहाँका हुन् भन्ने जानकारी आम नागरिकहरुलाई छैन । सडक निर्माणअघिका विभिन्न प्राविधिक प्रक्रियाहरु पनि रहन्छन् । यी सबै प्रक्रियाका विषयमा विषयगत कार्यालयहरु अनभिज्ञ छन् । सडक निर्माण सुरु हुनुअघि त्यस्ता सडकहरु कति वन क्षेत्रबाट क्रस हुने हुन् भन्ने सन्दर्भमा वन मन्त्रालयको अनुमति आवश्यक हुन्छ । सडक निर्माणअघि प्रिफिजिविलिटी अध्ययन हुन्छ, यसपछि वातावरणीय प्रभाव मूल्यांकनका प्रक्रियाहरु हुन्छन् । त्यसपछि मात्र सडकको शिलान्यास भएर निर्माण प्रक्रिया सुरु हुन्छ ।

अझै थप हाँस्यास्पद कुरा त के भने सरकारको वार्षिक बजेटमै उल्लेख नभएका र राष्ट्रिय योजना आयोगको रातो कितावमा नै उल्लेख नभएका यस्ता योजनाहरुमा कसरी बजेट विनियोजन गर्ने वा कुन दातृ निकायको हात थाप्ने भन्ने पनि स्पष्ट छैन । यस्तो स्पष्ट कुरामा पनि जनतालाइ झुक्याउने गरी रणनीतिक सडकको शिलान्यास गरेर चर्चा कमाउने प्रयास गरिनु प्रधानमन्त्रीका लागि सुखद् हुनेछन् वा उखान टुक्काजस्तै हाँस्यास्पद हुनेछन् । जिल्लामै रहेका सरकार निकट पार्टीका नेता कार्यकर्तासँग पनि यो विषयमा मैले जिज्ञासा नराखेको होइन ।

पत्रकार महासंघमा भेटिएका नेकपा दाङका सचिव बनेका मनोहर बुढाथोकीसँग सोधिहालेँ । ‘हरेक निर्वाचन क्षेत्रमा एक÷एक रणनीतिक सडकहरु हुन्, त्यसमा सबै सडकका विषयमा विस्तृत विवरण केही दिनभित्रै तयार हुँदैछ ।’ तर योजना आयोगमा यो खाका अझै कोरिएको छैन । सायद अर्को आर्थिक बर्षमा हुन सक्ने अधिकारीहरुले बताए ।

हरेक निर्वाचन क्षेत्रमा एउटा बाटो सुन्ने वित्तिकै संघीय सांसद मेटमणि चौधरीलाई फोन डायल गरेँ, उठेन । केही पछि कलव्याक गरे । मैले प्रधानमन्त्रीले शिलान्यास गरेको रणनीतिक सडकको प्रसंग उठाउन नपाउँदै उनले भने– केपी ओली त भैहाले, उनका लागि यो काम अनौठो होइन । निर्वाचन क्षेत्र नं. १ मा रणनीतिक सडक निर्माणका लागि २ करोड रुपैयाँ बजेट यसअघि नै आइसकेको थियो ।

राप्ती गाउँपालिकाको श्रीनारायण चोकदेखि स्वर्गद्वारीसम्मको सडक जोड्ने यो सडकको ट्रयाक खोल्ने काम समेत धेरै सम्पन्न भइसकेको छ । यस्ता सडकको शिलान्यास गरिरहनुको कुनै औचित्य छैन, सस्तो पपुलारिटीका लागि मात्र हो । ‘हो शिलान्यास मात्र होइन, उद्घाटनमा पनि निकै अभ्यस्त छन् प्रधानमन्त्री, देख्नुभएन, प्रचण्डले शिलान्यास गरेको सिसहनियाँको पुल उद्घाटनको तामझाम !’

दुधरासको भतिज चिया पसलमा नेकपाकै एक कार्यकर्ताले भनेका थिए, जुन बेला नेकपा विधिवतरुपमा विभाजन भएको थिएन । शिलान्यास प्राइमिनिष्टरको सिको मुख्यमन्त्रीहरुले पनि त गरिरहेका छन् । आधा निर्माण सम्पन्न भइसकेको एउटा यसै पश्चिम क्षेत्रको पुल मुख्यमन्त्रीले गरिरहँदा कति भाइरल भएको थियो समाचार ? तस्वीरले छर्लङ देखाउँथ्यो, शिलान्यासमै रमाउँछन् प्रधानमन्त्री…।

शिलान्यासमा रमाउने प्रधानमन्त्रीको सिको प्रदेश सरकार र स्थानीय पालिकाहरुले पनि धमाधम गर्दै आएका छन् । मुलुकलाई कोरोना भाइरसले संकटग्रस्त बनाएर संक्रमितहरुलाई उपचारमा समस्या भइरहेको थियो । अस्पतालहरुमा संक्रमितहरुलाई भर्ना पाउन सकस भएपछि नागरिकहरुले होम आइसोलेसनमै बसेर उपचारमा सरकारलाई सहयोग गरे ।

पहिलो चरणको संक्रमण जवर्जस्तरुपमा सरकार स्वघोषित मत्थर भएको प्रचारबाजी गर्नुअघि सरकारले मुलुकभरका स्थानीय पालिकामा कम्तीमा १५ बेडको अस्पताल शिलान्यास ग¥यो । मुख्यमन्त्रीलाई पनि शिलान्यास फेविया देखियो । जिल्लाका दशवटै पालिकामा कोरोनाका बिरामीलाइ पनि सम्बन्धित पालिकामै उपचार गर्नेगरी अस्पताल निर्माणको नीति सरकारले ल्यायो ।

कति खुसी बनाइए ? अस्पतालको शिलान्यास गरेर नागरिकहरु ? खोइ शिलान्यास भएको चार महिनासम्म पनि जगमा एउटा इटा थपिएको ? कन पालिकामा शिलान्यास भएअनुसार अस्पताल भवन निर्माण हुँदैछन् ? प्रधानमन्त्रीको शिलान्यास मोह प्रधानमन्त्री हुँदै मुख्यमन्त्री र स्थानीय पालिका प्रमुखमा पनि सरेको छ । अर्थात तीनै तहका सरकार प्रमुखमा शिलान्यास मोह…। जवर्जस्तरुपमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाल संस्कृत विश्वविद्यालयका बिएएमएसका विद्यार्थीको अध्ययनलाई रोकेर प्रदेश सरकारले बेलझुण्डीमा अस्थायी कोरोना विशेष अस्पताल निर्माण ग¥यो ।

आयुर्वेद चिकित्सा अध्ययन संस्थानको बिएएमएसको शिक्षण अस्पताल बनाइने भनिएको भवनलाई तुलसीपुर र प्रादेशिक अस्पतालका आइसियु सामान र भेन्टिलेटर मात्र होइन, बिरामीलाइ सुताउने बेडसमेत लगेर अस्थायी कोरोना अस्पताल बनाइयो । तर एक बर्षसम्म पनि यो जिल्लामा कोरोना विशेष अस्पताल निर्माण गर्न सकिएन । मुख्यमन्त्री शंकर पोख्रेलले त्यतिबेलै भनेका थिए– हाललाई कोरोना विशेष अस्पताल बनाइए पनि प्रदेश सरकारले यसलाई सरुवा रोग विशेष ट्रपिकल अस्पताल बनाउन प्रदेश सरकार आतुर छ । तर अहिले ट्रपिकलको ट पनि उच्चारण हुन छाडेको छ ।

विकसित मुलुक ब्राजिललाई नयाँ रुपको कोरोनाले तहसनहस बनाएको छ । दैनिक लाखौं संक्रमित भेटिइरहेका छन्, हजारौंले कोरोना संक्रमणकै कारण ज्यान गुमाइरहेका छन् । त्यहाँको स्वास्थ्य प्रणालीले बिरामीको उपचारलाई थेग्न नसक्दा राष्ट्रप्रमुखको कटु आलोचना भइरहेको छ । एसियाली मुलुक बंगलादेशले कोरोनाका संक्रमितहरु अत्यधिक बढ्न थालेपछि लकडाउन गरिसकेको छ । छिमेकी सीमा जोडिएको भारतको महाराष्ट्रमा लकडाउनको अन्तिम तयारी भइरहेको छ । भारतमा कोरोना संक्रमितहरु बढेसँगै नयाँ स्वरुपको कोरोना भाइरसका संक्रमितहरु खुला सीमाबाट नेपाल आउने क्रमसमेत बढिरहेको छ । तर नेपालमा खोई पूर्व सावधानी र अस्पताल निर्माण ?

शिलान्यास मिनिष्टरको फ्लोअप

हो, शिलान्यासले मात्रै यहाँका नागरिकहरुको आत्मबल बढेको छ भने पिल्लर विनाका पुल पनि शिलान्यास गर । घामविनाको सौर्य उर्जाको शिलान्यास गर । यदि होइन भने शिलान्यास गरेका योजनाहरुलाई मूर्तरुप दिने होइन र ? दाङ जिल्लाको कुनचाहिँ पालिकासँग हामीले शिलान्यास गरेबमोजिम १५ वेडको अस्पताल सञ्चालनको अन्तिम चरणमा छौं ? अब कोरोनाका बिरामीले अक्सिजन नपाएर घरमै देहत्याग गर्नुपर्ने छैन भनेर…!

तुलसीपुरको टरिगाउँमा क्षेत्रीयस्तरको हवाइ इन्धन डिपो निर्माणको शिलान्यास भएको आधा बर्ष नाघिसकेको छ । तर निर्माणका लागि न ठेक्कापट्टा भएको छ, नत निर्माणका लागि बजेट विनियोजनलगायतका अन्य प्रक्रियाहरु । शिलान्यासमै चित्त बुझाउन बाध्य छन् यहाँका नागरिकहरु । इन्धनकै अभावमा ठूला जहाजहरु यहाँ आउन सकेका छैनन् । १८ सिटे जहाजले यहाँको हवाइसेवालाई सम्बोधन गर्न सकिरहेको छैन । यी त शिलान्यासका केही नमुना मात्रै हुन् । जनतालाई झुक्याउने आधार मात्रै हुन् ।

त्यसो त शिलान्यासमै रमाउँदै गरेका प्रधानमन्त्री ओलीले सुन्दरीजलमा मेलम्चीको पानी उद्घाटन गर्दै माधव नेपाल र प्रचण्डलाई व्यङ्ग्ग गरेका थिए– लड्डु खाने त यो बेला हो, संसद व्युँतियो भनेर होइन नि ? करिव दुई दशकअघि तात्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा निर्माणको खाका बनेको मेलम्ची करिब २० बर्षमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लाग्छ, आगामी आर्थिक बर्षको बजेट नआउँदै सोही बर्षका लागि फेरी पनि केही योजनाहरु शिलान्यास गरिनेछन् । अर्थात सरकारका सबै तहमा शिलान्यास मोह…!