एक महिनामै ३१० हेक्टर वन क्षेत्रमा डढेलो

  •   
  •  

लिलाधर वली
दाङ, २२ चैत । चैत ८ गते घोराही उपमहानगरपालिका–२ चाक्लीघाट स्थित जंगलमा लागेको डढेलो बस्तीमा पुग्दा तीन परिवारका ६ घर–गोठमा आगलागी भयो । आगलागीबाट स्थानीय रत्नबहादुर वली, कली वली र सुन्दर वलीका घर र गोठसँगै लत्ता, कपडालगायत जलेर नष्ट हुँदा ठूलो क्षति भएको थियो । आगोले जंगलसँगै घरमा पालेका पशुचौपायाको समेत क्षति गरेको थियो ।

यसैगरी चैत १२ गते सरजु सामुदायिक वनमा पनि आगलागी भयो । आगलागीका कारण २५ हेक्टर वन क्षेत्रमा आगो लाग्यो । आगोलाई वन समूहका पदाधिकारीसँगै डिभिजन वन कार्यालयबाट खटिएका कर्मचारीहरुले नियन्त्रणमा लिए । आगोका कारण वनमा भएका विरूवा, चिरान भएका काठ र लाथ्रामा क्षति भयो । गत फागुन महिना घोराही उपमहानगरपालिका–४ मा रहेको कालिका सामुदायिक वनमा पनि आगलागी भयो । आगलागीका कारण १३ हेक्टर वन क्षेत्र प्रभावित भयो । फागुन २ गते जंगलमा भएको आगोलाई स्थानीयवासीले मुस्किलले नियन्त्रणमा लिएका थिए । आगलागीबाट ठूलो क्षति नभए पनि जंगलमा रहेको काठ, विरूवा र जडिबुटीहरु जलेर नष्ट भए ।

यी प्रतिनिधिमुलक घटना मात्र हुन् । गर्मी मौसम सुरु भएसँगै जिल्लामा सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगो लगाउने कार्य बढेको छ । जसका कारण दिनहु जंगलहरुमा आगलागीका घटना बढेका छन् । डिभिजन वन कार्यालय घोराहीका अनुसार फागुन २५ गतेदेखि हालसम्म जिल्लामा २६ वटा सामुदायिक वन र राष्ट्रिय वनको एक ठाउँमा आगलागी घटनाहरु भएका छन् । जसमा आगलागीबाट सामुदायिक वनमा दुई सय ८३ हेक्टर र राष्ट्रिय वनमा करिव ३०–३५ प्रतिशत गरी करिब ३ सय १० हेक्टर बढी क्षेत्रफलमा आगलागीबाट क्षति भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीले जानकारी दिएका छन् ।
उनकाअनुसार आगलागीका कारण जंगलमा भएका काठ, विरूवा, घाँस, जडिवटीसँगै पशुपंक्षीको वासस्थानमा क्षति पुगेको छ । लकडाउनसँगै समय–समयमा हुने वर्षातका कारण गत वर्ष दाङलाई शून्य वन डढेलो जिल्ला घोषणा गरिए पनि यस वर्ष वन क्षेत्रमा आगलागीका घटनाहरु ह्वात्तै बढेका छन् । एक महिनामा जंगलामा लागेको आगोलाई हेर्दा यो वर्ष वनजंगल उच्च जोखिममा रहेको केसीले बताए ।

‘समय–समयमा हुने वर्षातका कारण गतवर्ष जंगलमा आगलागीका घटनाहरु हुन पाएनन्, त्यो भन्दा अघिल्लो वर्ष जिल्लामा वर्षभरि ६४ वटा घटनाहरु भएका थिए’–सहायक वन अधिकारी केसीले भने–‘तर यो वर्ष त एक महिनामै २७ स्थानमा आगलागी भइसकेको छ, यो अझै बढ्ने देखिन्छ ।’ उनले डढेलो नियन्त्रणका लागि पहिले वन सचेतनामुलक कार्यक्रमहरु गरे पनि नियन्त्रण हुन नसकेको बताए ।

सहायक जिल्ला वन अधिकृत केसीले ६४ प्रतिशत जंगलमा आगलागीका घटनाहरु नियतबस हुने गरेको समेत बताए । उनले जंगलमा आगलागी गराउनु हुन्न भने पनि अधिकांश घटना नियतबस नै हुने गरेको बताए । विरूवा राम्रो सप्रने अवैज्ञानिक जनविश्वास, जंगलमा झाडु सफाई गर्ने अभियान, जंगली जनावरको शिकार गर्ने, च्याउ उत्पादन हुने आशा, सर्पको टोकाईबाट बच्ने उद्देश्यले समेत जंगलमा आगो लगाउने गरेको पाइने गरेको बताए ।

यसैगरी ३० प्रतिशत आगजनी लापरवाहीका कारण भएको उनले बताए । आगलागी नियन्त्रणका लागि सचेतनासँगै समूह निर्माण, वन क्षेत्रमा अग्निरेखा बनाउनेलगायतका कामहरु गरे तापनि भौगोलिक वनावटका कारण समस्या हुने सहायक वन अधिकृत केसीले बताए । यद्यपि अघिल्लो वर्षका तुलनामा यो वर्ष उपभोक्तासम्मै डढेलो सचेतना अभियान अर्थपूर्ण रुपमा पुग्न नसकेको तुलसीपुर उपमहानगरपालिका—१८ र १९ स्थित कात्तिके सामुदायिक रानीवनका एक उपभोक्ताले बताएका छन् । सञ्चार माध्यमहरुमा पनि डढेलो नियन्त्रण अभियानका सचेतनामुलक प्रचार–प्रसार समेत पर्याप्त रुपमा हुन नसकेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

यसैगरी वन डढेलो लाग्नुको मुख्य कारणहरुमा समयमै खर, घाँसको संकलन हुन नसक्नु, जंगलमै गोल पोल्नु, गाँजा, चुरोट, खाएर ननिभाई ठुटा फाल्ने, जंगलमा रहेका टेलिकमलगायत टावर सुरक्षाका लागि लगाएको आगोले पनि वनक्षेत्रमा क्षति पु¥याइरहेको बताए । कार्यालयका अनुसार दाङमा विगत सात वर्षमा ४२ हजार ६ सय १९ दशमलव पाँच हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।

जसमा आगो नियन्त्रणका क्रममा एक जना मानिसको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७० सालमा तीन हजार ५० हेक्टर क्षेत्रफल, २०७१ मा ६ हजार ६ सय ११ दशमलव पाँच हेक्टर क्षेत्रफल, २०७२ मा ६ सय हेक्टर, २०७३ मा २४ हजार ९ सय ६१ हेक्टर वन क्षेत्रमा आगजनी भएको थियो ।

यसैगरी वि.सं २०७४ मा चार हजार दुई सय २० हेक्टर, २०७५ मा एक सय २१ हेक्टर, २०७६ मा तीन हजार ५६ हेक्टर वन क्षेत्र आगलागी हुँदा वनजंगलमा स–सना विरूवासँगै वन्यजन्तुको नाश, रूख विरूवा जलेर नष्ट, वहुमूल्य जडिबुटी, वनस्पती तथा वन्यजन्तुको वासस्थान प्रभावित भई जैविक विविधतामा लोप, वनजंगलको प्राकृतिक पर्यावरणीय सौन्दर्यतामा ह्रास, कार्बनडाइअक्साइडको मात्रमा बृद्धि जलवायु परिवर्तनको नकारात्मक असर तथा जैविक विविधतामा विचलन आउनेलगायतका समस्याहरु देखिने गरेको सहायक वन अधिकृत केसीले बताएका छन् ।