डा.कृष्णराज डी.सी.
कवि स्वयम् ब्रह्मा हो । यो चराचर सृष्टिकर्ता ब्रह्माजीजस्तै कवि पनि सरस्वतीको वरद्पुत्र ब्रह्मा नै हो । हाम्रो समाजमा दुई प्रकारका चिन्तन भएका मानिसहरु छन् । एकथरिको चिन्तन यो संसार वा चराचर जगत झुठ्ठा हो र परमात्मा परमेश्वर अर्थात् परंब्रह्मा नै सत्य हो भन्ने मान्यताप्रति विश्वास गर्ने समूह छ, जसले ‘ब्रह्म सत्यं जगन्मिथ्या’को आदर्शलाई आत्मसात गर्दछन् ।
तिनीहरुको विचारमा मानिस एउटा नाटकीय पात्र मात्रै हो । उसलाई नाटक गराउने अर्कै तत्व छ । त्यो हो परमात्मा वा परमेश्वर वा परंब्रह्मा जेसुकै नामले पुकारे पनि भयो । उनीहरुको यहाँ जेजस्तो राम्रो नराम्रो काम हुन्छ त्यो सबै ईश्वरको इच्छा हो । ईश्वरको इच्छा वाहेक यहाँ मनुष्यको इच्छाअनुसार कुनै काम हुनै सक्तैन भन्ने मान्यता बोकेका मान्छेहरु छन् । जसले भाग्यवादमा विश्वास राख्दछन्, सुख, शान्ति, ऐश्वर्य, समाजिक पद, प्रतिष्ठा आदि सबै ईश्वरका वरदान हुन् । मानिसले सोचेर केही हुँदैन ।
मानिसको आयू, भाग्य, सुख, दुःख आदि सबै ईश्वरको चाहनाअनुसार हुन्छ भन्ने मान्यतामा विश्वास राख्ने कविहरु हाम्रो समाजमा थोरै संख्यामा मात्र भेटिन्छन् । तर, दोस्रो प्रकारको चिन्तन बोकेका मानिस वा कवि, लेखकहरु भाग्यवादभन्दा कर्मवादमा बढी विश्वास राख्दछन् । उनीहरु ‘जगत् सत्यं ब्रह्म मिथ्या’ भन्ने चिन्तनमा बढी विश्वास राख्ने गर्दछन् । महाकवि देवकोटाजस्ता कर्मवादमा विश्वास राख्ने कविले त उनको प्रसिद्ध ‘मुना–मदन’ खण्डकाव्यमा भनेका छन्– ‘तनको बली मनको बत्ती स्वर्ग छ प्रसाद, कर्ममै पुज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद’ । हिन्दू धर्मावलम्बीहरुको मूलग्रन्थ मानिने गीता दर्शनले पनि कर्मवादलाई नै बढी मान्यता प्रदान गरेको छ ।
जसमा भनिएको छ –‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्म गर्दै जाऊ फलको आशा नगर भन्नुको अभिप्रयः हो ‘यदि मनुष्य स्वयम्ले सत्कर्म गरेको छ भने उसले नराम्रो फल पाउने कुरै हुँदैन ।’ अर्थात् उसले मैले राम्रो कर्म गरेको छु, राम्रो फल पाउँला कि नपाउँला ? भनी सन्देह गर्नै पर्दैन । नेपाली साहित्यको इतिहासलाई नियाल्दा कवि शिरोमणि लेखनाथ पौड्यालमा अन्य कविहरुभन्दा तुलनात्मक रुपमा बढी अध्यात्मवादी दर्शन प्रेरित रहेको देखियो । उनले मानव सेवा नै धर्म हो भन्ने भावलाई त छोडेका छैनन् ।
पौडेलको साहित्यिक जीवनको महत्वपूर्ण उपलब्धि मानिने तरुण तपसी नव्य काव्यले पनि प्राणीको सेवालाई नै बढी जोड दिएको छ र आजको मानवताविहीन मानव जगतप्रति तीखो व्यङ्ग्य प्रहार गरेको छ । उनी बाहेक नेपाली साहित्यका उत्तरवर्ती केही कविहरुले ईश्वर भक्तिको चेतना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ग्रहण गरेको भए तापनि आजको भौतिकवादी दर्शन बोकेका मान्छेहरुमा मुलरुपमा मानवतावाद नै बढी हाबी हुने गरेको देखिन्छ । हुन त हाम्रो सनातन हिन्दू धर्मले ‘सर्वे भवन्तु सुखेना सर्वे सन्तु निरामया …’को आदर्श बोकेको हजारौँ वर्ष भयो । तर त्यसले मानव समाजमा खासै कुनै सकारात्मक गति प्रदान गरेको देखिँदैन । सोही प्रवृत्तिका अनुयायीहरु समेत ‘मै खाउँ मै लाउँ मै बाँचू मै नाँचूँ’को मनोविज्ञानले ग्रसित रहेका देखिन्छन् ।
तर, १९औँ शताब्दीका भौतिकवादी चिन्तक कार्ल हेनरिच माक्र्सको द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो गायत्रीमन्त्र ठान्नेहरुले चौबीसै घण्टा सो वादको मन्त्र जपे पनि उनीहरुको व्यवहारमा कुनै परिवर्तन भएको देखिँदैन । कुरा मात्र गरेर वा आदर्श विचार मात्र बोकेर समाज परिवर्तन गर्ने कुरा पनि खालि दुनियाँका छोराछोरीहरुमाथि भ्रमको खेती गर्नु मात्र हो । यो कुरा कार्ल माक्र्सका अनुयायीहरुको क्रियाकलापबाट अहिले नेपाली राजनीतिको प्रयोगशालामा पुष्टि भइसकेको छ ।
तसर्थ, चाहे अध्यात्मवादी चिन्तकले बोकेको ‘सर्वे भवन्तु सुखेन’को मूलमन्त्र होस् चाहे द्वन्द्वात्मक भौतिकवादका अनुयायीहरुले भजन गर्ने गरेको जनताको शासनको कुरा होस् । यी सबै मिथ्याका खेती हुन् भन्नेमा अब कुनै मानिसलाई सन्देह छ जस्तो मलाई लाग्दैन । हाम्रो समाज यति स्वार्थी छ कि स्वयम् बाबुले कमाएको पैतृक सम्पत्तिप्रति ¥याल चुहाउने तर आफूले ढलेको सिन्को पनि नउठाउने आजका परमस्वार्थी छोराहरुप्रति कवि बमबहादुर डीसीले ‘छोरा मसँग लालपूर्जा छैन’ शीर्षकको कविता सङ्ग्रहमा तीखो व्यङ्ग्य प्रहार गरेका छन् ।
‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी’ भनेझैँ आजका सन्तानहरुले पनि आफ्ना बाउले कमाएको सम्पत्तिको आधारमा उनीहरुप्रति गर्ने फरक–फरक व्यवहार देखिन्छ । त्यत्ति मात्र होइन ‘बाबुआमाको माया छोराछोरीमाथि छोराछोरीको माया ढुङ्गाकाँडामाथि’ भन्ने नेपाली लोकोक्ति अहिले नेपाली समाजमा सार्थक बनिसकेको छ । जतिसुकै आफ्ना सन्तानप्रति बाबुआमाले माया, मोह राखे पनि आजका टाठाबाठा भनाउँदा सन्तानहरुले आफ्ना बृद्ध बाआमाहरुलाई बृद्धाश्रमको जिम्मा लगाएका ज्वलन्त दृष्टान्तहरु हाम्रै सेरोफेरो वरिपरि प्रशस्त भेटिन्छन् ।
जे होस् कवि डीसीले वि.सं. २०७५ सालमा प्रकाशन गरेको प्रस्तुत कविता सङ्ग्रहमा जम्मा १ सय २६ वटा फुट्कर कविताहरु समेटिएका छन् । धेरैजसो समय समाजसेवा र राजनीतिमा खर्च गर्ने बमबहादुर डीसी साहित्यमा पनि बढी रुचि राख्दछन् । उनको यस कविता सङ्ग्रहमा संकलित सबै कविताहरु गद्य भाषाशैलीमा रचना गरिएका छन् ।
तर, समग्र कविताहरको सन्देश समाजप्रेम, देशप्रेम, शहीदप्रतिको सम्मान, मानव समाजका आदर्श, पुरुषप्रतिको सम्मान, नेपाली ग्रामीण जनताहरुप्रतिको सम्मान, वर्तमान समयको सामाजिक यथार्थको चित्र, समाज रुपान्तरणको चाहना, लाहुरे छोराप्रतिको विमोह, सहरिया प्रवृत्तिप्रति व्यङ्ग्य, विद्रोह, नेपालको माया, अशान्ति युद्ध, गोलाबारुदप्रति असन्तुष्टि आदि विषयवस्तुमा कवि डीसीका कविताहरु केन्द्रित छन् । खास गरी १ सय ४ वर्षे राणाकाल, ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थालाई चिरेर २०४६ सालको संयुक्त जनआन्दोलनमार्फत् प्राप्त नेपालको वहुदलीय प्रजातन्त्रले नेपाली जनतालाई आशातीत सन्तुष्टि प्रदान गरेको देखिँदैन ।
तसर्थ, जनताका प्रतिनिधि, नेपाली जनता सबैलाई अहिले एकप्रकारको निराशाको अनुभूति भइरहेको छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने प्रवृत्ति अँगालेका आजका राजनीतिक दल र त्यसका अगुवाहरु एकप्रकारले नेपाली जनतासमक्ष नाङ्गिइसकेका छन् भन्नुमा कुनै अतियुक्ति हुँदैन । किनभने उनीहरुले आफ्ना चुनावी घोषणापत्रहरुमा जुन कुरा लेखेर नेपाली जनतामाथि भ्रम फैलाएका थिए त्यो सबै भ्रम अहिले मिथ्या सावित भइसकेको छ ।
तसर्थ, नेपाली जनताको मन कुराले वा भाषणले होइन, बरु व्यवहारले जित्नु पर्दछ भन्ने मान्यता आजका सबै कवि, लेखकहरुले साहित्यका विभिन्न विधाहरुमार्फत् पाठक समक्ष प्रस्तुत गरिसकेका छन् । महाकवि देवकोटा, गोपालप्रसाद रिमाल, भूपि शेरचन, वैरागी काइँला, ईश्वर बल्लभ, मोहन कोइराला, मोदनाथ प्रश्रित, पारिजात आदिजस्ता गद्य भाषाशैलीमा कविता रच्ने कविहरुले नेपाली समाजमा आफू स्थापित स्रष्टा भइसकेका देखिन्छन् । उनीहरु समग्र रुपमा साहित्यमा नै समर्पित छन् ।
तर, नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला, प्रदीप नेपाल, लोकेन्द्रबहादुर चन्द, चाँदनी शाह, भूपि शेरचन, मविवि शाह, मोदनाथ प्रश्रित, लक्ष्मीप्रसाद देवकोटा, आनन्ददेव भट्ट, कृष्णसेन इच्छुक, मोहन वैद्य आदिजस्ता साहित्यकारहरुले राजनीति र साहित्य दुवैलाई एकैसाथ अगाडि लिएको पाइन्छ । तर, त्यसको सिद्धि साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचनजस्ता केही सीमित कविहरुले मात्र प्राप्त गर्न सकेको देखिन्छ । हुन त समकालीन साहित्यमा केही युवा साहित्यकारहरुले पनि यी दुवै प्रकारका प्रवृत्तिहरुलाई अँगालेका छन् । तर, तिनीहरुले आशातीत सिद्धि प्राप्त गर्न सकेको देखिँदैन । कवि बमबहादुर डीसी मृदुभाषी स्रष्टा हुन् । उनी आफूजस्तै सरल र मीठा कविताहरु लेख्दछन् । तर, यतिखेर नेपाली जनताको इच्छाविपरित नेताहरुको चरित्रमा आएको विचलनप्रति उनी पनि सन्तुष्ट छैनन् ।
कविता वा काव्यमा कला पक्षलाई यदि विचारले थिच्यो भने अर्थात् कला मरेर गयो भने त्यो सिर्जनाको कुनै महत्व हुँदैन । साहित्य र कलालाई एकै ठान्ने कवि लैनसिं वाङ्देल नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसम्म समेत बनेका हुन् । उनको प्रशिद्ध उपन्यास ‘माइती घर र लङगडाको साथी’मा जुन कला छ त्यसले प्रत्येक पाठकलाई नरुवाई छोड्दैन । कुनै कृतिले यदि पाठकको अन्तरहृदयलाई पगाल्न सकेन खालि पाण्डित्य प्रदर्शन र उपदेशप्रधान मात्र भयो भने त्यसले मानव समाजमा खासै महत्व राख्दैन ।
विचार पक्षले बलियो भएको साहित्य जस्तो मात्र हुन्छ त खासै साहित्य बन्न सक्तैन । आज नेपाली साहित्यमा कतिपय कविताहरु वा काव्यहरुजस्ता मात्र बनेका देखिन्छन् । वास्तविक कविता वा काव्य बन्न सकेका हुँदैनन् । तर, कवि बमबहादुर डीसीमा वैचारिक पक्षभन्दा कला पक्ष र भाव पक्ष गहन रुपमा प्रष्फुटित भएको देखिन्छ । यो उनको ठूलो सफलता हो । खास गरी साहित्यका जुनसुकै विधामा ज–जसले साहित्यको सिर्जना गरे पनि साहित्यको विषयवस्तु एउटै हुन्छ । त्यो हो देश, जनता, गाउँ, सहर, समय, मानिस, सामाजिक विकृति, विसंगति, शोषण, दमन, अन्याय, अत्याचार, स्वार्थ आदि ।
तर यिनै विषयवस्तुलाई कवि वा साहित्यकारको कला वा शैलीकै कारणले फरक–फरक देखिन्छन् । कवि डीसीले आफ्नो सम्पूर्ण कविताको केन्द्रीय शीर्षकको रुपमा ‘छोरा मसँग लालपूर्जा छैन’ शीर्षकको कवितालाई चयन गरेका छन् । छोरा र बाबुको सम्वादका रुपमा रचिएको यस कवितामा बाबु अदृश्य र छोरा दृश्य रुपमा पाठक समक्ष प्रस्तुत भएका छन् । प्रथमपुरुष प्रधान वा आन्तरिक दृष्टिविन्दुमा रचिएको यो कवितामा नेपाली समाजको चरम गरिबीको वास्तविकतालाई यस कविताले प्रस्तुत गरेको छ ।
मर्नेबेलामा आफ्ना सन्तानप्रति बाबुले देखाएको आफ्नो पारिवारिक यथार्थलाई यस कविताले यसरी प्रस्तुत गरेको छ । जस्तै ः–
बेघरवार भएँछु
मसँग अंश नखोजे छोरा
मेले त लालपूर्जा पाइन ।
रातो कागज दिन सकिन त के भो ?
मैले शरीरको रगत बाँडेको छु
मैले जमिन नापेर दिन सकिन त के भयो ?
मैले संसार नाप्न सक्ने हातहरु दिएको छु
मैले नगद गनेर दिन सकिन त के भयो ?
मैले जीवन जिउन सक्ने आँट र चेतना दिएको छु
भजाऊ
यै समाजमा भजिन्छ
सक्यौ भने
तिमीलाई सिञ्चित गर्ने छ
स्याहार गर्ने छ
तर म त
हातका रेखाको चिह्न छुट्याउँदा छुट्याउँदै
बेघरबार भएँछु
मसँग अंश नखोज छोरा
मसँग लालपुर्जा छैन ।
प्रस्तुत कवितात्मक पंक्तिहरुले कवि डीसीभित्रको समग्र पक्षलाई उद्घाटन गरेको छ । आफ्ना सन्तानलाई सम्पत्ति होइन कर्म गरेर खानुपर्छ अरुको भरमा बाँच्नु हुँदैन । अर्थात् परजीवी होइन स्वजीवी भएर बाँच्नु पर्छ । हस्तरेखाले भाग्य बन्दैन बरु कर्मरेखाले नै मानिसको सुन्दर भविष्य निर्माण हुन्छ । तसर्थ, ‘मेरा बाउले घ्यू खाए मेरा जुँगा चिल्ला’ भनेझैँ आफ्ना बाबुले घ्यू खाएको भरमा उसका छोराले आफ्नो जुँगा चिल्लो छ कि ? भनेर छाम्नु यथार्थ होइन त्यो खालि भ्रम मात्र हो । त्यसरी हामी भ्रमको जिन्दगी बाँच्ने होइन यथार्थको जिन्दगी बाँच्न सिक्नु पर्छ ।
बाबुको लालपूर्जामा लेखिएको उनको नामलाई मेटाएर आफ्नो नाममा नामसारी गराउने आजका सन्तानहरु वास्तवमा परजीवी नै हुन् । आफ्नो बलबुँतामा आफ्नो लालपूर्जा आफैले बनाउन सक्ने सामथ्र्य आजका प्रत्येक सन्तानले राख्न सक्नु पर्छ भन्ने मूल सन्देश प्रदान गर्नु नै कवि डीसीको प्रस्तुत कविताको मूल अभीष्ट हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । म प्रतिभावान् कवि डीसीको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।