डायरी : थुनुवाको जिन्दगीझैँ जीवन

विनोद पोख्रेल

२०७७ असार ३ गते

लकडाउनले अति सीमित भएको म हिजो बीरकेशरी गौतमको घरमा गएँ । धेरैसम्म कतै नभएकोले बानी त्यस्तै बनेको रहेछ । धेरै आनाकानी पनि गरेँ । नजाने पनि निहुँ चाहिने रैछ । त्यसैले मैले त्यस्तो, निहुँ केही बनाउन पाएन वा सकेन । अनि जाने मन बनाएँ ।

जान पनि विक्रम, विपुल, भाञ्ज कृष्ण दादासमेत भएको सबै गयौँ । अलि अलि गरेर बानी पनि बनाउनुपर्छ भन्ने मन बन्यो र यसलाई सकारात्मकरुपमा नै लिएँ । लिची खान बोलाएका थिए । गएर, समय त हेरिएन तर दुईघण्टा जति बसियो होला । बोल्न धेरै परेन तर रमाइलो महसुस गरेँ । मैले खोजेको यस्तै हो । एकजना साथीसँग भेट गर्न उनको घरमा पुग्दा मात्रै पनि हलुंगो भन्ने कि रमाइलो भन्ने लाग्छ भने अलि धेरै साथीहरुसँग एकैपल्ट केहीबेर बस्न पाए पक्कै पनि रमाइलो हुन्छ ।

परिवेश राम्रो बन्दै छ कि नराम्रो पत्तै छैन । दाङमा संक्रमण हुनेहरुको संख्या अलि धेरै नै बढ्दै छ । २ सयभन्दा अलि धेरै भैसके । अब सरकारको तर्फबाट यो स्थिति रोक्न केही निर्णय आउन पनि सक्छ । स्वयं व्यक्तिले आफ्नो सुरक्षाको लागि आफूलाई अलग राख्न पनि सक्छन् । त्यसबाहेक मैले अहिले नै अनुभव गरेको मेरो समस्या भनेको मास्क लगाउनु हो । मैले अहिलेसम्म माक्स लगाएको छैन । अरुले लगाए भने उनीहरुको बोली प्रष्टसँग बुझ्दैन । कतिपल्ट त चिन्नसमेत गाह्रो हुन्छ ।

मास्क नलगाएर त हिँड्न नदिने मात्रै ग¥यो भने मात्र पनि मेरो लागि समस्या नै हो । तर अब अलिअलि यताउता हिँड्ने मन बनेको छ । अब तीन महिना पुग्न केही दिनमात्रै छन् । परिवार र गाउँघरकाबाहेक बाहिरका मानिसलाई सबैभन्दा थोरै भेट्नेमध्ये मै पर्छुजस्तो लाग्छ । हुन त अरु मभन्दा पनि कम निस्कने गाउँमै पनि छन् तर आफूलाई आफ्नै समस्या ठूलो लाग्ने गर्छ ।

हामीले सरकारले केही गर्न सकेन भन्छौं र म सरकारको पक्षमा भएर बोलेको हैन । तर यो प्रसंग उठाउँदा हामीले आफ्नो सुरक्षाको लागि के–कति गर्नुपर्ने र गरेका छौं कि छैनौं जस्ता कुरामा ध्यान दिँदैनौँ । सरकारका केही रणनीति गलत भए । केही अव्यावहारिक भए यो ठीक हैन तर हाम्रो सचेतनाले कति काम गरेको छ त्यसको मूल्यांकन पनि त हामी आफैले गर्नुपर्ने हो । सरकारले कतै ननिस्कन मेरो भाषामा एक प्रकारले थुनिएर बस्न भन्यो र थुनिएर बस्यौं । यो कति सम्भव छ भन्ने सोच हाम्रो मनमा आउँदै आएन ।

अझ भनौ सरकारले आफ्नो अवसथ र व्यवस्था समेत नबुझेर विना तयारी नै अरु देशका सरकारको नक्कल ग¥यो, हामीले मान्यौ । सरकार एकपल्ट फेरि त्यही गल्ती दोहो¥याउने गतिमा छ र हामीले विभिन्न कारणले मलाई लाग्छ मुख्यतथा थुनुवामुक्त हुन चाहेर त्यो नक्कलको परिणाम र व्यावहारिक पक्षबारे बुझ्दै नबुझेर हामी पनि त्यस्तै गर्दैछौं ।

सरकारका यस्तो परिवेशमा भएका संवेदनहीन निर्णयहरु र अभिव्यक्तिहरु अनि रोग प्रभावितहरुलाई संख्यात्मकरुपमा कम गराउन नसक्ने अवस्था देख्दा–देख्दै पनि हामी पनि त्यस्तै हुन खोजिरहेका छौं । त्यही चरित्रलाई गाली गर्ने अनि आफूले त्यही गर्ने हाम्रो बानीले पनि हामीलाई दुःख दिएको छ । सरकार त क्षमताको भरमा पनि, रणनीतिकरुपमा पनि केही गर्न नसक्ने प्रमाणित भएको छ । अब हामी आफैले आफूलाई बचाउनुपर्ने स्थिति छ ।

हामीले सरकारको नियममा समेत शंका गर्ने स्थिति बन्यो । तर आफूबाट गल्ती गर्नुभएन । त्यसका लागि आवश्यक सचेतना, सतर्कता त अपनाउनै पर्छ । यसको लागि कहिलेसम्म भन्ने प्रश्न गर्ने हुँदैन । कति रोगहरुको औषधि बाँच्दासम्म खाइरहनुपर्ने पनि त हुन्छन् । तर थुन्नु वा थुनिनु भने सम्भव कुरो भनौ वा व्यावहारिक कुरो होइन भन्ने त समयले प्रमाणित गरिसकेको छ । यस्तोमा सबै व्यक्ति संवेदनशील, सचेत, सतर्क र जिम्मेवार हुन जरुरी छ ।

२०७७ असार ४ गते

मैले राम्रो वा नराम्रो भनेर मूल्यांकन गर्दैन । समयअनुसार प्रकृतिजस्तो रुपमा प्रस्तुत हुनुपर्ने हो त्यसलाई नराम्रो भन्न मिल्दैन होला । तर पनि कतिकति बेला अलि अचम्म पार्ने परिवर्तन पनि हुन्छ । त्यो परिवर्तन पनि चाँडो भयो भने ध्यान दिइन्छ अन्यथा सामान्य मानेर नै स्वीकार गरिन्छ । आज बिहान मैले बिछ्यौना छोड्दासम्म सूर्य देखिने क्षेत्र केही समय थियो ।

एउटा झ्यालबाट त्यो दृश्य देखिन्थ्यो भने अर्कोतर्फको झ्यालबाट भने बाक्लो बादल देखिएको थियो । मैले दैनिक क्रियामा आघा घण्टा पनि नबिताउँदै कोठै अँध्यरो हुने गरी बादलले सबै आकाश ढाक्यो । अब अहिलेको स्थितिको आधारमा भन्दा सूर्य देखिने जस्तो छैन । बरु पानी पर्न सक्छ ।

यति चाँडै परिवर्तन हुनसक्ने क्षमता सायद प्रकृतिमा मात्रै छ कि ? साहित्यमा सामान्य र खुला आकाशलाई प्रकृति हाँसेको, बादलले आकाश ढाकेपछि प्रकृति रिसाएको वा ठुस्स परेको अनि पानी परेपछि प्रकृति रिसाएको चित्रण गरेको पढेको छु । तर म यो चित्रणमा त्यति सहमत हुन भने सक्दैन । समयअनुसारको प्रकृतिको स्वभाव भनौ या चरित्रलाई आफूले हाँसेको, रोएको वा रिसाएको भनेर साहित्यकारहरुले आफूअनुकूलको चित्रण गरेको हो ।

प्रकृतिका सबै रुप उसका आफ्नै क्षमता हुन् । अनि जीवन र जगतको आवश्यकता पूरा गर्ने प्रकृतिका कला हुन् । अझ भनौं प्रकृतिले आवश्यकताअनुसार देखाएको आफ्नो क्षमता हो । यस्तो कल्पना वा बुझाई जेहो आयो भने मैले प्रकृतिलाई सर्वशक्तिमान, स्वच्छन्द तर आत्मानुशासनमा आफूलाई राख्न सक्ने चरित्रको रुपमा बुझ्ने गर्छु । अनि सोच्ने मनलाई यस्तो सर्वशक्तिमान र स्वच्छन्द प्रकृति पनि आत्मानुशासनको सीमाभित्रै हुन्छ तर मानिसजस्तो न त सर्वशक्तिमान बन्न सक्ने न त स्वच्छन्द बन्न सक्नेले किन आत्मानुशासनको सीमाको ख्याल गर्दैन ?

किन उत्ताउलोपन देखाएर जगत हसाउने काम गर्छ ? अलिकति पनि सफलता पायो भने किन नैतिकता, जिम्मेवारीजस्ता कुरा मात्रै होइन धरातलसम्म बिर्सन्छ र उन्मादमा पौडी खेल्छ ? प्रश्न मनभित्रै उठ्छ र मनभित्रै बस्छ । म आफैले पनि यो प्रश्नको उत्तर खोज्न समय खर्चेको जस्तो लाग्दैन । यो पनि धेरै थोरै गैरजिम्मेवारी अथवा उन्मादकै असर हो कि ? म पनि त अपवाद हैन । मैले धेरैपल्ट स्वीकारेको छु मानवीय कमजोरी सामान्यतया जति गनाउन सकिन्छ ती सबै ममा छन् । एक–दुई अरु थप पनि हुनसक्छन् ।

त्यसकारण उत्तर खोज्ने हिम्मत नगरेको पनि हुनसक्छ । अथवा मैले पनि आफ्नो जिम्मेवारी निभाउन नसकेको पनि हुनसक्छ । म अलि बढी भावनामा बगेँ । आकाशको चित्र डायरीमा शब्दको रुपमा राख्न चाहेको हो तर भावनासँग म अलमलिएँ अथवा मैले एकपल्ट फेरि भावनासँग हारेँ । मलाई प्रकृतिका सबै रुप मन पर्छन् । एउटा शर्त भने छ । तिनको प्रभाव मैले धाम्न सक्ने जति हुनुपर्छ ।

आफूले धान्नै नसके त प्रकृतिसँग गुनासो हुन्छन नै । मलाई थाह छ प्रकृतिलाई न त मेरो शर्तसँग मतलब छ न त गुनासोसँग वास्ता छ । मेरो र प्रकृतिको सम्बन्ध यसैगरी चलिरहेको छ, बितिरहेको छ । मैले प्रकृतिलाई कति प्रभाव पार्न सक्ने छैन र म आफू प्रकृतिको कुनै प्रभावबाट बच्नसक्ने हैन । भनौ सधैँ प्रकृतिले जित्ने हो । मैले हार्ने हो तर पनि मीठो सम्बन्ध छ जो अटुट पनि छ ।

यस्तो सम्बन्ध सबैसँग भए पनि त धेरै समसयाको समाधान हुनसक्थ्यो । यो पनि हुन सक्दैन वा गर्न सकिँदैन । मैले प्रकृतिलाई कहिल्यै रिसाएको, ठुस्सिएको वा रोएको अनुभव गरेन । बरु सधै मैले हारेको अनुभव गरेँ । अनि त्यही हारमै सन्तुष्टिको अनुभव पनि गरेँ । प्रकृतिका सबै रुप सुन्दर र सशक्त नै अनुभव गरेँ ।